काठमाडौँ । बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुँदैछन् ।
कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । बहादुरसिंह लामाको राजीनामा स्वीकृत भए लगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज (मंगलबार) दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।
बानियाँले कांग्रेसको ३७ सांसद र सत्ता साझेदार दल नेकपा एमालेको २७ गरी ६४ जनाको समर्थनसहित सोमबार नै दाबी पेस गरिसकेका छन् । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्दछ ।
प्रदेश प्रमुख देवकोटाले सरकार गठनका लागि दिएको दिउँसो २ बजेको समयपछि बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । प्रदेश प्रमुख कार्यालयले दिउँसो ४ बजे बानियाँको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम तय गरेको छ।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
यस्तै बानियाँले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेको कांग्रेसका एक सांसदले जानकारी दिएका छन् । बानियाँले मुख्यमन्त्रीको शपथ लिए लगत्तै कांग्रेस र एमालेबाट केही मन्त्री नियुक्तिको तयारी गरेका हुन् ।
११० सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।
बागमतीमा एक वर्ष अगाडिबाट अर्थात ९ साउन ०८१ देखि कांग्रेस र एमालेको संयुक्त सरकार छ । कांग्रेसबाट बागमतीमा पहिलो पटक मुख्यमन्त्री बनेका नुवाकोटका बहादुर सिंह लामाले आइतबार राजीनामा घोषणा गरेर सोमबार प्रमुख स्वकीय सचिव छत्र लामामार्फत प्रदेश प्रमुख कार्यालयमा राजीनामा दर्ता गराएका थिए।
९ साउनमा आफ्नै सांसदले हालेको अविश्वासको प्रस्तावको १३ साउनमा मतविभाजन हुँदा अल्पमतमा पर्दै लामाले दल नेताको हैसियत गुमाएका थिए । १४ साउनमा भएको संसदीय दलको निर्वाचनमा लामालाई हराएर बानियाँ दलको नेता चयन भएका थिए।
बागमतीमा एक वर्षअघि सरकार गठन हुँदा एमाले र कांग्रेसबीच २०–२० महिना सरकारको नेतृत्व गर्ने सहमति थियो। जसअनुसार बानियाँले ८ महिना सरकारको नेतृत्व गरी आगामी फागुनमा एमालेलाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ।