Logo

विश्वकै कमजोर राहदानीको सूचीमा पुनः नेपाल, सिंगापुर शीर्ष स्थानमा, नेपाल ९५ औँमा

विश्वकै कमजोर राहदानीको सूचीमा पुनः नेपाल, सिंगापुर शीर्ष स्थानमा, नेपाल ९५ औँमा



काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) पुनः विश्वकै कमजोर राहदानीमध्ये एकमा परेको छ। द हेन्ली पासपोर्ट इन्डेक्सले सन् २०२५ का लागि सार्वजनिक गरेको नयाँ रिपोर्टअनुसार नेपाल ९५औँ स्थानमा रहेको छ।

९९ वटा देश तथा क्षेत्रलाई समेटिएको सूचीमा नेपाल लिवियासँग संयुक्त रूपमा ९५औँ स्थानमा परेको हो। नेपालभन्दा तल क्रमशः यमन, सोमालिया, पाकिस्तान, इराक, सिरिया र अन्त्यमा अफगानिस्तान रहेका छन्।

कमजोर राहदानी सूचीकृत अन्य देशहरूमध्ये बंगलादेश, इरिट्रिया, प्यालेस्टाइन क्षेत्र, उत्तर कोरिया, सुडान र श्रीलंका पनि परेका छन्।

दक्षिण एसियामा माल्दिभ्स सबैभन्दा अगाडि

दक्षिण एसियाली राष्ट्रहरूमध्ये नेपालभन्दा अघि भुटान ८४औँ, भारत ७७औँ र माल्दिभ्स सबैभन्दा अगाडि ५३औँ स्थानमा छन्।

विश्वकै शक्तिशाली राहदानी सिंगापुरको

रिपोर्टअनुसार, सन् २०२५ मा सबैभन्दा शक्तिशाली राहदानी सिंगापुरको रहेको छ। जापान र दक्षिण कोरिया दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, आयरल्यान्ड, इटाली र स्पेन संयुक्त रूपमा परेका छन्।

चौथो स्थानमा अष्ट्रिया, बेल्जियम, लक्जेमबर्ग, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल र स्विडेन छन्। यस्तै, पाँचौँ स्थानमा ग्रिस, न्युजील्यान्ड, स्वीट्जरल्यान्ड, छैटौँमा बेलायत र सातौँ स्थानमा अष्ट्रेलिया, चेकिया, हंगेरी, माल्टा र पोल्यान्ड परेका छन्।

त्यसैगरी आठौँ स्थानमा क्यानडा, इस्टोनिया र संयुक्त अरब इमिरेट्स, नवौँमा क्रोएसिया, लेट्भिया, स्लोभाकिया र स्लोभेनिया तथा दशौँ स्थानमा आइसल्यान्ड, लिथुनिया र अमेरिका रहेका छन्।

नेपाली राहदानीको र्‍यांकमा लगातार गिरावट

गत वर्षहरूमा पनि नेपाली राहदानी कमजोर सूचीमै परिरहँदा यो वर्ष पनि सुधार हुन सकेको छैन। द हेन्ली पासपोर्ट इन्डेक्सले प्रत्येक वर्ष राहदानीको विश्वव्यापी पहुँचका आधारमा यो सूची प्रकाशन गर्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्