Logo

सेयर बजारमा आकर्षण : एकै वर्षमा सेयर धितो कर्जा साढे ४१ अर्ब बढ्यो, कुन बैंकको कति ?

सेयर बजारमा आकर्षण : एकै वर्षमा सेयर धितो कर्जा साढे ४१ अर्ब बढ्यो, कुन बैंकको कति ?

वाणिज्य बैंकले मात्रै १ खर्बभन्दा धेरै कर्जा प्रवाह गरे, नबिलको सबैभन्दा धेरै



काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानी आकर्षण बढ्दै गएको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने सेयर धितो कर्जामा क्रमिक रुपमा सुधार देखिएको छ । पछिल्लो १ वर्षमा मात्रै सेयर धितो कर्जा साढे ४१ अर्ब रुपैयाँले बढेको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको जेठ महिनासम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको सेयर धितो कर्जा प्रवाह ४१ अर्ब १४ करोड रुपैयाँले बढेर १ खर्ब २८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । २०८१ को जेठ मसान्तसम्म बैंकहरुले ८७ अर्ब ११ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए ।

यसअवधिमा वाणिज्य बैंकहरुको मात्रै सेयर धितो कर्जा ५४.७४ प्रतिशतले बढेर १ खर्ब ६ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । विकास बैंकहरुको सेयर धितो कर्जा २५.५१ प्रतिशतले बढेर १८ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, फाइनान्स कम्पनीहरुको सेयर धितो कर्जा ६.३८ प्रतिशतले बढेर ४ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

अहिले बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । ब्याजदर घट्दो छ । अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन् । प्रणालीमा तरलता कम हुँदा ५ प्रतिशतसम्म प्रिमियम थप्दै आएका बैंकहरुले अहिले एक–डेढ प्रतिशतमात्रै प्रिमियम थपेर कर्जा दिएकाले गर्दा पनि ब्याजदर सस्तिएको छ । यसैगरी, बैंकहरुले निक्षेपको ब्याजदर पनि भारी मात्रामा घटाएकाले पनि लागत कम हुँदै गएको छ ।

यसले पनि कर्जाको ब्याजदर थप तल झार्न सहयोग गरेको देखिन्छ । तथापि, अर्थतन्त्रमा आएको शिथिलताको कारण बैंक–वित्तीय संस्थाबाट अपेक्षित रुपमा कर्जा प्रवाह हुन सकेको छैन । पछिल्लो सयम सेयर बजारमा सुस्तता छाउँदा सेयर धितो कर्जा पनि अपेक्षित रुपमा बढ्न नसकेको बैंकरहरु बताउँछन् । यता, चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले व्यक्तिगत सेयर कर्जाको सीमा बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ । यो व्यवस्थासँगै सेयर धितो कर्जा अझै बढ्ने जानकारहरुको भनाइ छ ।

वाणिज्य बैंकले मात्रै १ खर्बभन्दा धेरै कर्जा प्रवाह गरे, नबिलको सबैभन्दा धेरै

गत आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले मात्रै १ खर्ब ६ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । पछिल्लो १ वर्षमा वाणिज्य बैंकहरुको मात्रै सेयर धितो कर्जा ५४.७४ प्रतिशतले बढेको छ ।

२०८१ को जेठसम्ममा वाणिज्य बैंकहरुले ६८ अर्ब ६२ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गर्नेमा नबिल बैंक रहेको छ । यस बैंकको सेयर धितो कर्जा ३१.९५ प्रतिशतले बढेर १५ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । ग्लोबल आइएमई बैंकको सेयर धितो कर्जा ३१.९५ प्रतिशतले बढेर १५ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । यसअवधिमा एनआइसी एसिया बैंकबाहेकका अरु सबै बैंकको सेयर धितो कर्जा बढेको छ । यता, स्टान्डर्ड चार्टर्ड बैंकले भने हालसम्म सेयर धितो कर्जा प्रवाह गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This