काठमाडौं । इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अबका चार महिना डेङ्गु संक्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकोले सतर्क रहन आग्रह गरेको छ । यस वर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट संक्रमित हुनसक्ने अनुमान महाशाखाको छ । महाशाखाद्वारा आयोजित अन्तक्रिर्यामा विज्ञहरुले डेङ्गुबाट हुने मानवीय क्षति रोक्न लामुखुट्टेको प्रजनन प्रणाली नष्ट गर्ने सर्वाधिक सरल र प्रभावकारी उपाय भएको बताए ।
कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेङ्गु सार्ने प्रजातिको लामखुट्टे नष्ट गर्नका लागि चार महिना भन्दा बढी समय लामखुट्टेको लार्भा र फूल समेतलाई नष्ट गर्ने अभियान चलाउनुपर्ने जानकारी दिए । ‘झुल, धुप वा लामखुट्टे भगाउने अन्य औषधिले घरभित्र काम गरे पनि घर बाहिर निस्किेको बेला भाइरसयुक्त लामुखेट्टले टोकेर सारिदिन सक्छ । त्यसैले स्थानीय पालिकाहरुको समयन्वयमा त्यस्ता लामखुट्टेको फुलसहित सबै चक्र नष्ट गरिदिनुपर्छ’, उनको भनाइ थियो ।
यद्यपि नगर पालिकाको स्वास्थ्यसम्बन्धी कर्मचारीको धेरै थरी काम हुने हुँदा लगातार चार महिनासम्म नष्ट गर्ने काममा लागि रहन उनीहरुलाई अप्ठ्यारो भएको पनि उनले बताए । महाशाखाले १७ जिल्लाका एक सय ४७ पालिकासँग डङ्गु रोगबारे सहकार्य गरिएको जानकारी पनि कार्यक्रममा दिइयो । ‘डेङ्गुरोगलाई स्वास्थ्य क्षेत्रको प्रयास मात्रै ले नियन्त्रण गर्न सकिदैन त्यसका लागि सबै निकायले हातेमालो गर्नु पर्छ’, महाशाखा निर्देशक डा. चन्द्रभाल झाले भने । कतिपय देशमा लामखुटे नियन्त्रण वातावरण मन्त्रालयले जिम्मा लिएर गरेको पनि देखिएको समेत उनले बताए । शहरमा वर्षायाम सँगै जता ततै खाडल, ससाना भाँडा र जथाभावि फालिएका टायर पानी जम्ने भएकोले डेंगुको जोखिम अनुमान गरे भन्दा बढने पनि निर्देशक झाले बताए । उनले भने, ‘त्यस बाहेक घर घरमा फ्रिज र एसिको पानीले पनि लामखुटेलाई फुल पार्न र बच्चा हुर्कन सजिलो भएको छ ।’
यस वर्ष सरकारले लामखुटे खोजी र नष्ट गर्ने कार्यका लागि आगामी आर्थिक वर्षका लागि रु १० करोड छुट्याएको जानकारी पनि कार्यक्रममा दिइयो । एडिस जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने यो रोग, सामान्यतया शितोष्ण र समशितोष्ण क्षेत्रमा फैलिने गरेको छ । यद्यपि जलवायु परिवर्तनको प्रभावस्वरुप गएको दशकयता मुलुकका पहाडी भूभागमा समेत विस्तार भएको छ । डङ्गुका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे सङ्क्रमित भई स्वस्थ व्यक्तिमा सार्न सक्छ । यो लामखुट्टेको आयु १ देखि ३ महिनासम्म हुन्छ । डेङ्गु रोग लाग्दा उच्च ज्वरो, कडा खालको टाउको दुखाइ हुने, आँखाको गेडी पछाडि दुख्ने र मांसपेसीको समेत दुखाइ अत्यन्त पीडादायी हुन्छ । साथै केहीलाई वाकवाक लाग्ने र वान्ता हुने समेत हुन्छ । सरकारले डेङ्गुसँगै कोभिड र हैजाको जोखिम नफैलियोस भनेर विशेष तयारी गरेको जानकारी पनि उनले दिए ।