Logo

यू–१६ इस्ट जोन क्रिकेटमा नेपालको लगातार दोस्रो जीत

यू–१६ इस्ट जोन क्रिकेटमा नेपालको लगातार दोस्रो जीत



काठमाडौँ । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले लगातार दोस्रो खेल जितेको छ । आज (मंगलबार) भएको खेलमा नेपालले जापानलाई नौं विकेटले हराएको हो । जापानले दिएको ८१ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर बलमा एक विकेट गुमाएर भेटायो ।

नेपालका लागि सिवान्स बजगाईले अविजित ३८ र प्रसिद्ध जोशीले अविजित ३३ रन बनाए । जापानका केइसीइ कोबायशी डोगेटले एक विकेट लिए । त्यसअघि मलेशियाको कोजल टुन्कु जाफर ओभरल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जापान ३४ ओभर तीन बलमा अलआउट भयो । जापानका लागि कप्तान चार्ली ह्यारिसले ३६ रन बनाए । नेपालका शुभम खनालले पाँच विकेट लिए । यस्तै अभय यादवले दुई, सुशीलबहादुर रावल र विपिनप्रसाद शर्माले एक विकेट लिए ।

अस्ती आइतबारको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो । १६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् । यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This