काठमाडौं । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट ल्याएको छ । महानगरपालिकाको नगरसभाको १७ औं अधिवेशनमा ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट पेश गरिएको हो ।
नगरसभामा त्यसको कार्यान्वयनका लागि आवश्यक पर्ने अनुमानित बजेट उपमेयर चित्रसेन अधिकारीले प्रस्ताव गरेका हुन् । यसपटक भरतपुरको बजेट गत वर्षभन्दा कम भएको छ ।
बजेटमा अधुरा तथा क्रमागत र बहुवर्षिय आयोजनाहरुतर्फ ६० करोड र साढे २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका योजनाहरु समयमै सम्पन्न गर्नको लागि ६० करोड र विगत आर्थिक वर्षमा भएका योजनाहरुको दायित्व तथा आर्थिक वर्ष २०८२/०८२ मा बहुवर्षिय ठेक्का प्रणालीबाट भएका योनजाहरुको भुक्तानीको लागि एकमुष्ट २४ करोड ५० लाख बजेट व्यवस्थापन गरिएको छ ।
महानगरले कृषि तथा पशुविकासतर्फ ९ करोड बजेट विनियोजन गरेको छ । यस्तै, शिक्षामा भने झण्डै ११ करोड विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ भने ३ करोड २५ लाख छुट्याईएको छ ।