Logo

जलवायु परिवर्तनको असर : भारतीय किसानहरूको आत्महत्यादर लगातार बढ्दै

जलवायु परिवर्तनको असर : भारतीय किसानहरूको आत्महत्यादर लगातार बढ्दै



काठमाडौं । भारतको महाराष्ट्र राज्यको एउटा सानो खेतमा कुरा गर्दै मीराबाई खिन्डकरले खडेरीमा बाली खस्किएपछि र उनका पतिले आत्महत्या गरेपछि उनको जमिनले ऋण मात्रै उब्जाएको बताए ।

भारतमा किसान आत्महत्याको लामो इतिहास छ । भारतमा धेरैजसो किसान एक बाली फसल नष्ट भएपछि विपत्तिको नजिक पुग्छन् तर जलवायु परिवर्तनले ल्याएको चरम मौसमले नयाँ दबाब थपेको छ ।

पानीको अभाव, बाढी, बढ्दो तापक्रम र अनियमित वर्षाका कारण घट्दो उत्पादन, अशक्त ऋणले भारतको एक अर्ब ४० करोड जनसङ्ख्याको ४५ प्रतिशतलाई रोजगारी दिने क्षेत्रमा ठूलो असर पारेको छ ।

तीन एकड (एक हेक्टर) सोयाबिन, कोदो र कपासको जग्गा चर्को गर्मीमा सुकेपछि मीराबाईका पति अमोललाई साहुकारहरूको ऋण लाग्यो । यो उनीहरुको खेतको वार्षिक आम्दानीको सयौँ गुणा थियो ।

उनले गत वर्ष विष खाए ।

‘जब उहाँ अस्पतालमा हुनुहुन्थ्यो, मैले सबै देवताहरूसँग उहाँलाई बचाउन प्रार्थना गरेँ’, ३० वर्षीया मीराबाईले गला अवरुद्ध पार्दै भनिन् ।

एक हप्तापछि अमोलको मृत्यु भयो । उनले मीराबाई र तीन सन्तान छोडे । उनीसँग मीराबाईको अन्तिम कुराकानी ऋणका बारेमा नै थियो ।

कुनै समय उर्वर खेतीयोग्य जमिनका लागि परिचित महाराष्ट्रको एक करोड ८० लाख जनसङ्ख्या भएको मराठवाडाभरि तिनीहरूको व्यक्तिगत त्रासदी दैनिक रूपमा दोहोरिरहेको छ ।

नयाँदिल्लीस्थित सेन्टर फर साइन्स एन्ड इनभायरोन्मेन्ट अनुसन्धान समूहका अनुसार गत वर्ष भारतभर चरम मौसमी घटनाहरूले ३२ लाख हेक्टर (७९ लाख एकड) बालीको भूमिलाई असर गर्‍यो । यो भनेको बेल्जियमभन्दा ठूलो क्षेत्र हो ।

त्यसको ६० प्रतिशतभन्दा बढी महाराष्ट्रमा थियो ।

‘गर्मी चरम हुन्छ र हामीले आवश्यक गरे पनि उत्पादन पर्याप्त हुँदैन’, अमोलका भाइ र सहकर्मी किसान बालाजी खिन्डकरले भने, ‘खेतमा सिँचाइ गर्न पर्याप्त पानी छैन । ठिकसँग वर्षा हुँदैन ।’

जोखिम वृद्धि

भारतका कृषिमन्त्री शिवराज सिंह चौहानका अनुसार सन् २०२२ र २०२४ को बीचमा मराठवाडामा तीन हजार ९० किसानले आत्महत्या गरे । यो दैनिक औसत तीन जनाको हाराहारी हो ।

सरकारी तथ्याङ्कले किसानहरूलाई आत्महत्या गर्न उत्प्रेरित गरेको कुरा निर्दिष्ट गर्दैन, तर विश्लेषकहरूले धेरै सम्भावित कारकहरूलाई औँल्याएका छन् ।

‘भारतमा किसान आत्महत्याहरू कृषिमा आम्दानी, लगानी र उत्पादकताको सङ्कटको परिणाम हो’, टाटा इन्स्टिच्युट अफ सोशल साइन्सेसका विकास अध्ययनका प्राध्यापक आर रामकुमारले भने ।

धेरै भारतीय साना खेतहरूमा खेती धेरै हदसम्म शताब्दीयौँदेखि हुँदै आएको छ र सही समयमा सही मौसममा अत्यधिक निर्भर छ ।

‘जलवायु परिवर्तन र यसको कमजोरी तथा परिवर्तनशीलताले गर्दा खेतीमा जोखिम बढाएको छ’, रामकुमारले भने, ‘यसले बाली फसल नष्ट, अनिश्चितता निम्त्याइरहेको छ । जसले साना र सीमान्त किसानहरूको खेतीको अर्थशास्त्रलाई अझ कमजोर बनाएको छ ।’

चरम मौसमी घटनाहरूसँग सामना गर्न राम्रो बीमा योजनाहरू र कृषि अनुसन्धानमा लगानीका साथ सरकारले किसानहरूलाई सहयोग गर्नसक्ने उनले बताए ।

‘कृषि मनसुनसँग जुवा खेल्ने काम हुनु हुँदैन’, उनले भने ।

अनिश्चित मौसमको सामना गर्दै किसानहरू प्रायः मल वा सिँचाइ प्रणालीहरूमा लगानी गरेर घट्दो उत्पादनलाई रोक्न खोज्छन् ।

तर बैंकहरू यस्ता अनिश्चित ऋणीहरूलाई कर्जा दिन अनिच्छुक हुन सक्छन् ।

केहीले तुरुन्त नगद दिने तर अत्यधिक ब्याजदर लिने साहुकारहरूकहाँ फर्कन्छन् र बाली फसल नष्ट भए विपत्तिको जोखिम मोल्छन् ।

‘केवल खेतीले मात्र गुजारा चलाउन गार्‍हो छ’, मीराबाईले आफ्नो घर बाहिर उभिएर प्याच–कपडाको पर्खाल भएको टिनको छत भएको झुपडीमा भनीन् ।

उनका पतिको ऋण आठ हजार डलरभन्दा बढी पुगेको थियो । कृषि गृहस्थीको औसत मासिक आम्दानी लगभग एक सय २० डलर मात्र रहेको भारतमा यो ठूलो रकम हो ।

मीराबाईले अन्य खेतहरूमा मजदुरको काम गर्छीन् तर ऋण तिर्न सकिनन् ।

‘ऋणको किस्ताहरू थुप्रिँदै गए’, उनले भनिन्, ‘खेतबाट केही आउँदैन ।’

उनी आफ्ना बच्चाहरूले ठूला भएपछि खेती बाहिर काम खोजून् भन्ने चाहन्छीन् ।

कृषि उद्योग दशकौँदेखि निरन्तर सङ्कटमा परेको छ । महाराष्ट्रमा आत्महत्याको दर सबैभन्दा बढी भए पनि यो समस्या देशव्यापी छ ।

राष्ट्रिय अपराध रेकर्ड ब्युरोको तथ्याङ्कअनुसार सन् २०२२ मा कृषि क्षेत्रका ३० जनाले हरेक दिन आत्महत्या गरेका थिए ।

मराठवाडाको अर्को खेतमा ३२ वर्षीय किसान शेख इमरानले गत वर्ष आफ्नो भाइले आत्महत्या गरेपछि परिवारको सानो जोतको सञ्चालन सम्हालेका थिए ।

सोयाबिन रोप्न ऋण लिएपछि उनीमाथि पहिले नै एक हजार एक सय डलरभन्दा बढी ऋण छ ।

फसल असफल भयो ।

यसैबीच किसानहरूले पानी भेट्ने आशामा इनार विस्फोट गराउँदा विस्फोटकको आवाज वरिपरि गुञ्जिरहेको छ ।

‘पिउने पानी छैन’, पारिवारिक मुखिया खतिजाबीले भने, ‘खेत सिँचाइ गर्न पानी कहाँबाट ल्याउने ?’रासस

प्रतिक्रिया दिनुहोस्