काठमाडौं । पछिल्लो केही सातायता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा राति सडक बत्तीहरू बल्दैनन् । दिनभर पटक–पटक बिजुली जान्छ । अझ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट कुलमान घिसिङ हटेर नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आएपछि यो समस्या बढेको भन्दै उपभोक्तले गुनासो गरिरहेका छन् । कहिले बिहानैदेखि त कहिले बेलुकीपख लगातार बिजुली जाने क्रम बढ्दो छ । विद्युत सेवामा बढ्दो अवरोधले घर, कार्यालय, पसल र उद्योगसम्म प्रभावित भएका छन् ।
सर्वसाधारणमा पनि पछिल्लो समय यो अवस्था किन आएको हो भन्ने जिज्ञासा चुलिएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक हेर्दा यसमा दुई प्रमुख कारण देखिन्छ–गर्मीका कारण विद्युतको माग अत्यधिक बढ्नु र प्रणालीमा उत्पादन अपुग हुनु । विद्युत प्राधिकरणका अनुसार हाल कुल विद्युत माग ४६ हजार ९१८ मेगावाट आवरसम्म पुगेको छ । यही सोही अवधिमा राष्ट्रिय माग ४३ हजार ८ सय ६६ मेगावाट आवर रहेको छ । तर, यति धेरै माग हुँदाहुँदै पनि प्रणालीमा उत्पादन कम भएको देखिन्छ । प्राधिकरणकाअनुसार हाल २ हजार ४० मेगावाट आवर बराबरको विद्युत प्रणालीमा अपुग छ । यही कारणले नै अहिले झ्यापझ्याप बत्ती जानुको मुख्य कारण रहेको मान्न सकिन्छ ।
यसबाहेक, हाल गर्मीयाम भएकाले तापक्रम उच्च छ । त्यसमाथि पानी नपरेकाले नदी र खोलामा बहाव घटेको छ । नेपालका अधिकांश जलविद्युत आयोजनाहरु नदीको प्रवाहमा आधारित ‘रन अफ रिभर’ प्रणालीका आधारित भएका कारण बहाव घटेसँगै उत्पादन घटेको छ । उत्पादनमा आएको यही गिरावटले प्रणालीमा मागअनुसार आपूर्ति गर्न नसक्ने अवस्था निम्त्याएको देखिन्छ । हाल प्रणालीमा प्राधिकरणका सहायक कम्पनीहरूले उत्पादन गरेको ८ हजार ८१२ मेगावाट आवर र निजी क्षेत्रका उत्पादनकर्ताले उत्पादन गरेको २२ हजार ३९७ मेगावाट आवर विद्युत आपुर्ति हुँदै आएको छ । त्यस्तै, नेपाल विद्युत् प्राधिकरण आफैंले ९ हजार ८८९ मेगावाट आवर बराबरको उत्पादन गरिरहेको छ । यति विद्युत उत्पादनले हालको माग धान्न नसकेको स्थिति छ ।
विदेशबाट आयात गरेर विद्युत आपूर्ति व्यवस्थापन गर्ने प्रयास गरिएपनि आयातित विजुलीलेसमेत नधान्ने अवस्था आएको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ । हाल ३ हजार ७८० मेगावाट आवर बराबरको विद्युत आयात भइरहेको छ भने ३ हजार ५२ मेगावाट घण्टा बराबरको विद्युत निर्यात पनि गरिँदै आएको छ । तर, आयातको तुलनामा माग अत्यधिक भएका कारण समस्या समाधान हुन सकेको छैन । तर, प्रणालीमा विद्युत अपुग नभएको दावी प्राधिकरणका प्रवक्ता राजन ढकाल गर्छन् ।
यस्तो अवस्थामा विद्युत् प्रणालीमा असन्तुलन आउनु स्वाभाविक हुन्छ । यद्यपि प्राधिकरणले बत्ती नियमित दिन नसक्नुका कारण प्राविधिक समस्या पनि प्रमुख कारणमा पर्दछ । अहिले हावाहुरी चल्ने समय भएका कारण धेरैजसो स्थानमा प्रशारण लाइनमा क्षति पुग्ने, पोल ढल्ने तथा जंगलमा भएको प्रशारण लाइनमा हावा लागेपछि रुख ढलेर या अन्य कारणले तारमा छोईँदा सर्ट सर्किट भई फ्युज जाने गरेको उनी बताउँछन् । ‘हामीकहाँ विद्युत अपुग भने भएको छैन,’ उनले भने, ‘तर, कुनै कारणले प्रणालीमा विजुली पुर्याउन सकिएन भने त्यसलाई इन्टरप्सन अर्थात अवरोधमा राख्ने गरिएको छ ।’
लामो समयसम्म पानी नपर्दा नेपालका धेरैजसो स्थानमा गर्मी अत्याधिक बढेको छ । काठमाडौंकै कुरा गर्दा पनि हाल यहाँको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसम्म पुग्ने गरेको छ । जसका कारण सर्वसाधारण नागरिकहरू एसी, पंखा, कुलरलगायतका उपकरण अत्यधिक रूपमा प्रयोग गर्न थालेका छन् ।
विशेषगरी मधेस, तराई र उपत्यकामा दिनको समयमा घर–घरमा पंखा तथा शीतल बनाउने उपकरणको प्रयोग अत्यधिक बढेको छ । यही कारणले गर्दा विद्युतको अधिकतम माग अर्थात ‘पिक डिमान्ड’ २ हजार २ सय १२ मेगावाट पुगेको छ । यसैबीच, बत्ती झ्यापझ्याप जान थालेपछि उपभोक्ताहरूले सामाजिक सञ्जालमा आक्रोश पोख्न थालेका छन् । विशेष गरी साना व्यापार व्यवसाय, सेवा क्षेत्र र सूचना प्रविधिमा आधारित कामहरू गर्नेहरू यो अवस्थाबाट बढी प्रभावित भएका छन् ।