Logo

संघीय संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथि छलफललगायतका प्रस्ताव पेश गर्ने कार्यसूची

संघीय संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथि छलफललगायतका प्रस्ताव पेश गर्ने कार्यसूची



काठमाडौं । आज (मंगलबार) संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ।

प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै ‘प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव समेत सभामा प्रस्तुत हुनेछ।

यता संसदको अवरोध खुलाउने विषयमा हिजो प्रधानमन्त्री केपी शर्मा ओली सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका थिए।

प्रधानमन्त्रीले प्रतिगामीको सक्रियता बढेको बताउँदै संसद चल्न दिन प्रचण्डलाई आग्रह गरेका थिए। तर माओवादी केन्द्रले भने भिभिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले मार्गप्रशस्त गर्नुपर्ने अडान राखेको थियो। यस्तै अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय वैठकले पनि गृहमन्त्री लेखकले मार्गप्रशस्त नगरेसम्म सदन चल्न नसक्ने अडान लिएको छ।

प्रतिक्रिया दिनुहोस्