Logo

नेप्से र अक्षय गोल्यानको मिलेमतोमा पियोर इनर्जीमा लगानीकर्ताको सम्पति बन्धक, ठगी गर्ने बाटो बन्द हुँदा सूचीकरण गर्न आनाकानी

नेप्से र अक्षय गोल्यानको मिलेमतोमा पियोर इनर्जीमा लगानीकर्ताको सम्पति बन्धक, ठगी गर्ने बाटो बन्द हुँदा सूचीकरण गर्न आनाकानी



काठमाडौं । नेपालको सेयर बजारमा चलखेलको विषय नौलो होइन । यस्तै चलखेलकै एउटा नयाँ श्रृखंलाका रुपमा सेयर सूचीकृत गर्ने निकाय र सेयर जारी गर्ने कम्पनीबीचको आपसी मिलेमतोका कारण लगानीकर्ताको करोडौको सम्पति बन्धक बन्न पुगेको छ । पछिल्लो समय सर्वसाधारणमा सेयर जारी गरेको पियोर इनर्जीका अध्यक्ष अक्षय गोल्यान र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को मिलेमतोमा सर्वसाधारण लगानीकर्तालाई ठगी गर्ने उद्देश्यले एउटा मात्रै इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) दिन लविङ गरेपछि सेयर सूचीकृत हुन नसकेको हो । त्यसरी सेयर सूचीकृत नहुँदा १ लाख ६० हजार लगानकर्ताको १६ करोड रुपैयाँ बन्धक बनेको छ ।

नेप्से र सीडीएस एण्ड क्लियरिङका कर्मचारीले यस अघि हाइड्रोलगायतका कम्पनीलाई एउटा मात्रै आइजीन दिएर कमाउधन्दा गर्दै आएका थिए । तर, सीडीएससीमा प्रविण पन्दाक सीईओ भएर आएसँगै उनले सेयर बजारमा मौलाएको विकृति रोक्नका सो विषयमा स्पष्ट मापदण्ड हुनुपर्ने भन्दै आएकी छिन् । हाल आईपीओ जारी गरेर संस्थापक र सर्वसाधारण सेयरको एउटै आईजीन लिने अनि लकइन अबधि नसकि गैरकानूनी रुपमा किस्ता किस्तामा संस्थापकहरुले आफ्नो सेयर दोस्रो बजारमा भिडाएर बाहिरिनका लागि अहिले आईपीओ जारी गरेको गोल्यान ग्रूपअन्तरगतको पियोर इनर्जी एउटै लकइन पाउनुपर्ने भन्दै शक्तिकेन्द्र धाउँदै आएको छ । अहिले गोल्यानको उक्त लगानीकर्ता ठगी गर्ने धन्दामा नेप्सले दह्रो साथ दिएको बुझिएको छ । अर्थात सीडीएससीले संस्थापक र सर्वसाधारण सेयरलाई एउटै आइजीन दिएर तत्काल नेप्सेको टीएमएसमा नदेखाइदिएसम्म सेयर सूचीकृत नै नगरिदिने भन्दै आएको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

यसैगरी पियोर इनर्जीका अध्यक्ष अक्षय गोल्यान भने आफ्नो कारणले भन्दापनि नेप्से र सीडीएसीबीचको विवादका कारण पियोर इनर्जीको सेयर सूचीकृत हुन नसकेको बताउँछन् । ‘सीडीएससीले दुईओटा आईजीन दिने बताउँदै आएको छ भने नेप्सेले एउटा मात्रै आईजिन नभई सेयर सूचीकृत नगरिदिने बताउँदै आएका छ,’ अध्यक्ष गोल्यानले भने, ‘सोही कारण सेयर सूचीकृत हुन सकेको छैन ।’ पियोर इनर्जीले पब्लिक कम्पनी भएर सर्वसाधारमा सेयर जारी भएपनि त्यसमा बहुमत सेयर अक्षय गोल्यानको नाममा रहेको छ । आईपीओ सहित कुल ८० लाख कित्ता सेयर रहेको सो कम्पनीमा अक्षय गोल्यानको नाममा ४० लाख ९५ हजार कित्ता सेयर रहेको छ । बाँकी सेयर मध्ये २० लाख कित्ता कुनै भारतीय अमुक कम्पनीको नाममा रहेको छ भने अन्य सेयर पनि गोल्यान परिवारकै नाममा रहेका छ । साथै सो कम्पनीको संचालकमा समेत अध्क्षय गोल्यानका बुबा पवन गोल्यानसहित सबै गोल्यान परिवारकै सदस्य रहेका छन् ।

अक्षय गोल्यानले बाहिरीरुपमा त्यसो भने पनि एउटै आईजीन बनाउनका लागि उनले सीडीएसीलाई विभिन्न क्षेत्र र तहबाट दबाब दिएको बुझिएको छ । सीडीएससीले हाल बजारमा देखिएको विकृति जसरी पनि सुधार गर्ने अडान राखेपछि अक्षय गोल्यान अध्यक्ष रहेको पियोर इनर्जीले एउटै आईजीन पाउनुपर्ने भन्दै नेपाल नेपाल धितोपत्र बोर्डमा समेत उजुरी गरेको थियो । तर, यस विषयमा बोर्डले सीडीएसीलाई कानुनी मान्यता र असल अभ्यास अनुसार आईजीन दिनुभनेर पत्र काटेको थियो । सेबोनले भनेको असल अभ्यास र कानुन अनुसार कुनै पनि कम्पनीले आईपीओ जारी गर्दा दुईथरी सेयर हुने र त्यसका लागि दुई फरक फरक आईजीन र फरक फरक कोड हुनुपर्ने सम्बद्ध कानूनविद्हरु बताउँछन् । ‘कुनै पनि कम्पनीले आईपीओ ल्याउन उसको प्रबन्धपत्र, नियमावली, कम्पनी रजिष्ट्रारमा दर्ता गरिएको कागजात, धितोपत्र बोर्ड, नेप्से र सीडीएससीमा समेत संस्थापक र सर्वसाधारण गरी दुई थरी सेयर दर्ता गराएका हुन्छन्,’ ती कानूनविद्ले भने, ‘अर्कोतर्फ संस्थापक सेयरको लकइन अबधि तीन वर्ष हुन्छ भने त्यसलाई कसरी एउटै आईजीन र नेप्से कोड दिन मिल्छ ?’ साथै अहिले जसरी जलविद्युतलगायत केही कम्पनीलाई नेप्से र सीडीएसीले एउटै कोड र आइजीन दिँदै आएको छ त्यसले कानून उल्लंघन गरेको र त्यसरी आईजीन र कोड दिने निकाय तथा कर्मचारीलाई कानूनी दायरामा ल्याउनुपर्ने समेत ती कानूनविद्ले जानकारी दिए ।

यसैगरी सेयर लगानीकर्ता केशव कोइराला पनि कुनै कम्पनीले सेयर जारी गरेर सूचीकृत गराउँदा संस्थापक र सर्वसाधारणका लागि फरक फरक कोड र आईजीन दिनुपर्ने बताउँछन् । ‘अहिले सीमित पहुँचवालाले सर्वसाधारण लगानीकर्तामाथि ठगी गर्न नेप्से र सीडीएसीसँगको मिलेमतोमा कानूनविपरित एउटै कोड र आईजीन लिँदै आएका छन्,’ उनले भने, ‘हेर्दा सामान्य विषय लागेपनि यो एकदमै ठूलो अपराध हो ।’ अहिले कतिपय जलविद्युत कम्पनीले एकैपटक आईपीओ आएको कम्पनीको नियामक र सेयर रजिष्टारसँगको मिलेमतोमा फरक–फरक मितिमा लकइन समय राखेर भित्रीरुपमा बिक्री गर्दै आएको उनको भनाई छ । अहिले अनुसन्धान गर्ने हो भने धेरैजसो हाइड्रो प्रवद्र्धकले लकइन समयावधि नखुल्दै दोस्रो बजारमा सेयर बिक्री गरेरे बाहिरिसकेको भन्दै अबका दिनमा त्यस्ता विकृति रोक्नका लागि समेत आईपीओ सूचीकृत गर्न फरक–फरक कोड र आईजीन हुनुपर्ने उनको भनाई छ ।

यता नेप्सेले भने पियोर इनर्जीको सेयर सूचीकृतमा बाहिर आएको हल्ला जस्तो नभएको र केही दिनभित्रै सूचीकृत भएर कारोबारमा आउने जानकारी दिएको छ । हाल पियोर इनर्जीको सेयर सूचीकृत प्रक्रियामा रहेको र अब एक दुई दिनभित्र सेयर सूचीकृत भएर कारोबारमा आउने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । सेयर सूचीकृत गर्दा नेप्सेले जतिवटा कोड दियो सीडीएससीले सोहीअनुरुप आइजिन बनाइदिनुपर्ने भएकोले समस्या उत्पन्न भएको सीडीएससीका पूर्व सीईओ पूर्णप्रसाद आचार्यले बताए । ‘हुनुपर्ने चाहिँ संस्थापक र सर्वसाधारको दुईथरी कोड र दुई थरी आइजिन हो,’ उनले भने, ‘यस विषयमा नेप्सेबाट शुद्धीकरण हुनु जरुरी छ किनकि नेप्सेको कोड नभई सीडीएससीले आइजिन दिँदा सेयर सूचीकरणमा समस्या हुन्छ ।’ तसर्थ आइजिनको समस्या सीडीएससीमा नभई नेप्सेको भएको र नेप्सेले कुनैलाई एउटै र कुनैलाई दुईवटा कोड किन दियो यस विषयमा नेप्से स्वयं जवाफदेही हुनुपर्ने उनको तर्क छ ।

सेयर सूचीकृत गर्दा नेप्सेले कोड मात्रै उपलब्ध गराउने र आईजीनको विषय विशुद्ध सीडीएससीको भएकाले अबका दिनमा नेप्सेले एउटा कोड दिएर आनाकानी गरेपनि नियमअनुसार सीडीएससीले दुईओटै आइजीन दिनुपर्ने अर्का एक कानूनविद्ले जानकारी दिए । ‘अहिले जलविद्युतलगायत कतिपय कम्पनीमा एउटै मात्रै आईजीन दिँदा संस्थापक लगानीकर्ताले कसरी लकइन नखुल्दै सेयर बिक्री गरेर बाहिरिएका छन् भन्ने अध्ययन गर्ने हो भने यसमा ठूलो ठगी भेटिन्छ,’ ती कानूनविद्ले भने, ‘यदि सेयर बजारलाई शुद्धीकरण गरी सर्वसाधारण लगानीकर्ताको हित हेर्ने हो भने यसअघि क–कसले सेयर सूचीकृत गर्दा एउटा मात्रै आइजीन दिएका छन् उनीहरुलाई कानूनी दायरामा ल्याउनुपर्छ ।’ साथै संस्थापक सेयरको लकइन तीन वर्षसम्म हुने भएकाले सो अवधिसम्मका लागि सर्वसाधारणमा जारी गरिएको सेयरलाई मात्रै कोड र आइजिन दिएर उक्त समयावधिसम्म संस्थापक सेयरलाई त्यतिकै राखिदिएपनि हुने ती कानूनविद् बताउँछन् । साथै नेप्से र सीडीएससीले सेयर जारी गर्दा एउटै कोड र आइजीन दिएर सर्वसाधारण सेयर लगानीकर्ता माथि खेलवाड र ठगी गरेको भन्दै सोसम्बन्धमा छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । हाल सो विषयमा छानविन प्रक्रिया अघि बढाएको समेत सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

हाल सेबोनले नयाँ सेयर सूचीकृतसम्बन्धमा प्रचलिन कानूनबमोजिम र असल अभ्यासअनुसार अघि बढ्नु भनेकाले सो विषयमा सीडीएसीले अध्ययन गरिहेको सीडीएसीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । ‘आइपीओ ल्याउने कम्पनीले आफ्नो प्रबन्धपत्र र नियमावलीमा स्पष्ट रुपमा संस्थापक र सर्वसाधार गरी फरक फरक क्लस्टरमा सेयर राखेको भएकाले यस विषयमा सोही अनुरुप आईजीन र कोड दिनुपर्छ भन्ने हो,’ उनले भने, ‘प्रचलित कानून र असल अभ्यासलाई हेर्दापनि यसअघि बैंक वित्तीय संस्था र कतिपय रियल सेक्टरका कम्पनीलाई दुई फरक फरक कोड र आइजीन दिइएको छ ।’ साथै सीडीएससीले यसअघि आईपीओ जारी गरेको ओम मेगाश्री र पियोर इनर्जीको विषयमा एउटै मापदण्ड अपनाएको तर ओम मेगाश्री सूचीकृत भयो अनि पियोर किन रोकियो भन्ने प्रश्न खडा भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्