काठमाडौं । विश्वभर मानिसहरू आफ्नो दैनिक कामको कारण धेरै तनावको सामना गरिरहेका हुन्छन् । यस्तो लाग्छ कि काम र जीवन सन्तुलन शब्द मात्र बनिरहेको छ । यसका पछाडि कामबाहेक अन्य धेरै कारण भएपनि पछिल्लो समय वर्किङ आवर वा डेज (काम गर्ने घण्टा वा दिन) बारे विश्वव्यापी बहस चलिरहेको छ ।
पछिल्लो समय विश्वमा चार दिनमात्र काम गर्ने चर्चा भइरहँदा हामी नेपाली भने हप्तामा ६ दिन काम गरिरहेका छौं । नेपालमा अहिले वर्किङ आवरको कुरा गर्दा सापताहिक ४८ घण्टा हुन आउँछ । तर, विश्वका केही देशमा भने नेपालमा भन्दापनि बढी काम गराइन्छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओे) का अनुसार हरेक हप्ता सबैभन्दा बढी काम गर्ने समय भएका देशहरूमा भुटान शीर्ष स्थानमा छ । भुटानका मानिसहरू हप्तामा अधिकतम ५४.४ घण्टा काम गर्छन् । यसपछि दोस्रो स्थानमा यूएई रहेको छ जहाँ साप्ताहिक कार्य घण्टा ५०.९ घण्टा छ । तेस्रो स्थानमा कंगोका मानिसहरू हप्तामा ४८.६ घण्टा काम गर्छन् भने कतारका मानिसहरूले हप्तामा ४८ घण्टा काम गर्छन् । त्यसपछि लाइबेरिया, लेबनान, मंगोलिया, नेपाल आदि आउँछन् ।
भारतको कुरा गर्ने हो भने हप्तामा काम गर्ने घण्टाको हिसाबले भारत पनि अगाडि छ । यहाँ औसत भारतीय कर्मचारीले हप्तामा ४६.७ घण्टा काम गर्छन् । तर, हरेक दिन १२ घण्टासम्म अफिसमा बिताउनेको संख्या पनि ठूलो छ । यसको मतलब भारत हप्तामा धेरै काम गर्ने घण्टाको हिसाबले विश्वको शीर्ष १५ को सूची मा आउँछ ।
यही समयमा, विश्वका विकसित र धनी देशहरूमा काम गर्ने घण्टा धेरै कम छ । योसँगै धेरै देशले हप्तामा ४ दिन मात्र काम गर्नुपर्ने र ३ दिन साप्ताहिक बिदा दिनुपर्ने वकालत गरिरहेका छन् । धेरै देशमा हप्ताको ४ दिन काम गर्ने प्रणाली सुरु भइसकेको छ । यति मात्र होइन, कर्मचारीलाई तोकिएको समयभन्दा बढी काम गराएमा ओभरटाइम रिवार्ड पनि दिइन्छ ।