Logo

विश्वभर हरेक दिन सुनको मूल्य कसरी तय हुन्छ ? के छ नेपालमा सुनको मूल्य निर्धारणको व्यवस्था ?

विश्वभर हरेक दिन सुनको मूल्य कसरी तय हुन्छ ? के छ नेपालमा सुनको मूल्य निर्धारणको व्यवस्था ?



काठमाडौं । पहेलो धातुका रुपमा रहेको सुन मूल्यवान वस्तुको रुपमा विश्वभर नै कारोबार हुने गर्छ । पछिल्लो केही महिनायता विश्वबजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । नेपालमा पनि सुनको मूल्य प्रतितोला करीब डेढ लाखको हाराहारीमा पुगेको छ ।

आममानिसका लागि सबैभन्दा सुरक्षित सम्पत्तिका रुपमा रहेको सुन जोकोहीले संग्रह गर्न चाहन्छन् । तर, सुनको भाउ कसरी निर्धारण हुन्छ भनेर के तपाईहरु मध्ये कसैले सोच्नुभएको छ ? त्यसैले आज बिजखबर डटकमले विश्व बजार तथा नेपालमामा सुनको भाउ कसरी तय हुन्छ भन्ने कुरा विस्तृतमा प्रकाश पार्ने प्रयास गरेको छ ।

विश्व बजारमा सुनको मूल्य मुख्यत दुई तरिकाले निर्धारण गरिन्छ

माग र आपूर्ति

सुनको मूल्य हरेक दिन परिवर्तन भइरहन्छ, यो परिवर्तन धेरै हदसम्म बजारमा यस बहुमूल्य धातुको माग र आपूर्तिको अनुपातमा निर्भर गर्दछ । माग र आपूर्तिले सुन बजारलाई मूल्य निर्धारण गर्न सहज बनाउँछ । धेरै मानिसहरूलाई थाहा छ कि सुनको मूल्य निर्धारण गर्न माग र आपूर्ति एक महत्वपूर्ण कारक हो । अर्थात्, जब माग बढी हुन्छ र आपूर्ति कम हुन्छ तब यसको मूल्य बढ्छ ।

प्रशासनिक इकाई

यस्तै अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरमा काम गर्ने सुनको मूल्य निर्धारण गर्ने परिचालन र प्रशासनिक इकाई पनि छ । सन २०१५ अघि लन्डन गोल्ड फिक्स सुनको लागि नियामक निकाय थियो । तर, सन् २०१५ पछि नयाँ इकाई गठन भएको थियो । यो नयाँ संस्थाको नाम लन्डन बुलियन मार्केट एसोसिएसन (एलीएमए) हो र यो आइसिई बैंक प्रशासनद्वारा सञ्चालित छ । यो संस्थाले विश्वका सबै देशका सरकारसँग सम्बद्ध राष्ट्रियस्तरका संघसंस्थाहरूसँग मिलेर सुनको मूल्य कस्तो हुनुपर्छ भन्ने निर्णय गर्छ ।

नेपालमा यस्तो छ व्यवस्था

नेपालमा सुनको मूल्य निर्धारण गर्न नेपाल सुनचाँदी व्यवसायी महासंघभित्र मूल्य निर्धारण समिति छ । उक्त समितिले प्रत्येक दिन विश्व बजारमा निर्धारित सुनको मूल्य, सोही दिन डलरको सटही दर र नेपालमा सुनमा लगाइने भन्सार मूल्यलाई आधार मानेर सुनको मूल्य निर्धारण गर्ने गरिन्छ ।

महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यका अनुसार महासंघभित्र रहेको समितिले भारतीय बजारमा रहेको सुनको मूल्यलाई पनि नेपाली बजारमा सुनको मूल्य निर्धारण गर्ने बेलामा आधार मान्ने गरेको छ । यसरी विश्वबजार, छिमेकी देश भारतमा सुनको मूल्य र डलर सटहीको स्थिति हेरेर प्रत्येक दिन बिहान १० बजेसम्म सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सुनको मूल्य निर्धारणमा भारतसँगको सम्बन्ध

भारतीय बजारमा निर्धारित सुनको मूल्यलाई पनि नेपाली बजारमा सुनको मूल्य निर्धारण गर्ने आधार मान्ने गरिएकाले भारतीय बजारसँग नेपालको सम्बन्ध रहेको छ । भारतमा, सुनको मूल्य एमसिएक्स (मल्टी कमोडिटी एक्सचेन्ज) नियामक द्वारा निर्धारण गरिन्छ । यो संस्थाले भारतीय बजार, अन्तर्राष्ट्रिय बजार र बजार अवस्था (मुद्रास्फीति वा अपस्फीति) मा माग–आपूर्तिलाई ध्यानमा राखेर मूलय निर्धारण गर्छ ।

भारतमा सुनको मूल्य दुई तरिकाले निर्धारण गरिन्छ

भारतमा सुनको मूल्य दुई तरिकाले निर्धारण गरिन्छ । फ्यूचर मार्केट र स्पट प्राइसका रुपमा दुई तरिकाले मूल्य निर्धारण हुन्छ र दुवैको मूल्य फरक हुन्छ । नेपालमा भने फ्यूचर मार्केट सञ्चालनमा नभएकाले एउटै मात्र मूल्य तय हुने गरेको छ । यसरी भारतले हरेक दिन गर्ने निर्धारण सुनको मूल्यले नेपालको गहना बजार पनि प्रभावित हुन्छ ।

किन बढ्छ सुनको मूल्य ?

संसारको सबैभन्दा बहुमूल्य धातुहरू मध्ये एक सुनको मूल्यमा विश्वबजारमा उतारचढाव आइरहन्छ । यद्यपि सुनको मूल्य प्रवृत्ति भने उकालो बाटो नै धेरैजसो रहेको पाइन्छ । यसरी विश्वबजारमा सुनको मूल्य बढनमा भने विभिन्न कारकहरु रहेका हुन्छन । जसमा सुनको माग, विभिन्न देशका केन्द्रीय बैंकमा सुनको भण्डारको मात्रा, अमेरिकी डलरको मूल्य, मुद्रास्फीति र मुद्रा अवमूल्यनविरुद्ध हेजको रूपमा सुन राख्ने चाहना प्रमुख रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL