Logo

हेटौंडामा नमूना सडक बनाइँदै, आगामी १८ महिनामा सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता

हेटौंडामा नमूना सडक बनाइँदै, आगामी १८ महिनामा सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता



काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ । हेटौंडा–४ स्थित रजतजयन्ती र हेटौंडा ७ र ८ को सिमानामा रहेको सडकलाई नमूना सडक बनाउन लागिएको हो ।

सहरी विकास मन्त्रालयअन्तर्गत एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम मार्फत ती दुवै सडकलाई नमूना सडकको रुपमा निर्माण गर्न लागिएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् । सहरी विकास मन्त्रालयअन्तर्गतको एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रममार्फत हेटौँडा– ४ स्थित रजत जयन्ती मार्गको करिब एक किलोमिटर सडक तथा हेटौँडा ७ र ८ जोड्ने कर्नाबत्ती मार्गलाई स्मार्ट लाइट, फुटपाथ, नालासहित नमूना सडकको रुपमा निर्माण गरिने उनले बताइन् ।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले ती दुवै सडकलाई फराकिलो बनाई नमूना सडकको रुपमा स्तरोन्नति गर्ने काम अघि बढाएको उनले बताइन् । रजत जयन्ती मार्गलाई चार लेनको सडकको रुपमा विकास गर्दै दुवैतर्फ फुटपाथ, बेरियर, सडक बत्तीसहित अक्सपाल्ट पिच गरिने र क्याक्पाडाँडा पुलदेखि हेटौँडा–१५ तिनकुने चौकसम्मको कर्णबत्ती मार्गको डेढ किलोमिटर सडकलाई दाँयाबाँया साढे सात मिटर चौडा गरिने योजना रहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख झपटबहादुर थापाले बताए ।

सङ्घीय सरकारको विनियोजित रकमबाट यी दुई सडक तथा हेटौँडा–६ को वडा कार्यालय भवन समेत निर्माण गरिने उनले जानकारी दिए । तीनवटै योजना आगामी १८ महिनामा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको आयोजना प्रमुख थापाको भनाइ छ । नमूना सडक निर्माणले हेटौँडाको पहिचान बढाउन मद्दत पुग्नुका साथै पर्यटन पर्यावरणमा सहयोग पुग्ने हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले बताए । यी दुई सडक स्तरोन्नति हुँदा जनताले अपेक्षा गरेको विकास काम प्रत्यक्षरुपमा अनुभूति गर्ने र आगामी दिनमा नगरक्षेत्रका अन्य सडकलाई पनि स्मार्ट बनाउन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्