Logo

सर्वसाधारणको क्रयशक्ति घट्दा बजार शून्य : औद्योगिक गतिविधि सुस्त, आयात-निर्यातमा पनि संकुचन

सर्वसाधारणको क्रयशक्ति घट्दा बजार शून्य : औद्योगिक गतिविधि सुस्त, आयात-निर्यातमा पनि संकुचन



काठमाडौं । पछिल्लो समय नेपालमा औद्योगिक गतिविधिमा सुस्तताको संकेत देखिएको छ । सर्वसाधारणको क्रयशक्ति कमजोर हुँदा बजारमा वस्तुको माग घटेसँगै औधोगिक गतिविधि सुसत बन्दै गएको व्यवसायी तथा उद्योगीहरुले बताउँदै आएका छन् । बजारमा वस्तुको माग नै घटेपछि यसको प्रत्यक्ष असर नेपाली उद्योग क्षेत्रमा मात्र नभएर आयात र निर्यातमा समेत देखिएको छ ।

बजारमा माग घट्दा नेपालमा उत्पादन घटेको छ भने विदेशबाट आयात भई नेपालमा प्रशोधन हुने वस्तुको निर्यात र खपतमा पनि ठुलै गिरावट आएको तथ्यांकहरुमा देख्न सकिन्छ । नेपालले विदेशबाट धेरै प्रकारका वस्तुहरु आयात गर्ने भएपनि निर्यात हुने मुख्य वस्तुको सूचीमा भने लामो समयदेखि गलैंचा, चिया, अलैंची, जस्तापाता, जुस, जुट र यसबाट बनेका सामग्रीलगायत रहँदै आएका छन् । तर, पछिल्लो सयम यिनै वस्तुको निर्यातमा पनि ठूलो गिरावट आउँदा समग्र नेपालको औद्योगिक क्षेत्र मन्दीतर्फ धकेलिएको आँकलन गर्न सकिन्छ ।

कुनै देशको उद्योग क्षेत्र चलायमान बनाइराख्न आयात, निर्यात र खपतको सन्तुलन बनाइराख्नुपर्छ । तर, उद्योग क्षेत्र चलायमान भए नभएको यकिन कुरा विदेशबाट आयात हुने औद्योगिक उपकरण तथा कच्चापदार्थको आयातले पनि देखाउँछ । पछिल्लो समय नेपालमा आयात हुने यस्ता वस्तुहरुको आयातमा संकुचन आउनाले नेपालको उद्योग क्षेत्र साँच्चै समस्यामा रहेको प्रमाणित हुने अर्थविद नरबहादुर थापा बताउँछन् । उनका अनुसार यसपटक एकातर्फ देशभित्रै खपत हुने वस्तुमा व्यापक गिरावट आएको छ भने निर्यात पनि संकुचनको बाटोमा छ । यसको सबैभन्दा ठूलो कारण भनेकै सर्वसाधारणमा पैसाको प्रवाह नै नहुनु रहेको उनको दाबी छ ।

तथ्यांकलाई आधार मान्दापनि चालु आर्थिक बर्षको १० महिनासम्म गत आवको सोही अवधिको तुलनामा स्पञ्ज आइरन, मल, सुन, कोइला, धान, धागो, जस्ता बनाउने हट रोल्ड कोइल, कच्चा तेललगायत वस्तुको आयातमा ठूलो गिरावट आएको छ । अर्थात नेपालमा जस्ता, फलामे बिलेट, प्रशोधित खाने तेललगायत उत्पादन गरिने कच्चा पदार्थको नै आयात न्यून भएको देखिन्छ । यस अवधिमा उद्योगहरुमा आवश्यक औद्योगिक पार्टपुर्जा तथा उपकरणहरुको आयात पनि गत आर्थिक बर्षको भन्दा केहि घटेको तथ्यांकमा देख्न सकिन्छ ।

यसको प्रत्यक्ष असार यता नेपालबाट हुने निर्यातको व्यापारमा देख्न सकिन्छ । भन्सार विभागकै तथ्यांकलाई आधार मान्दा नेपालबाट निकासी हुने प्रमुख वस्तुहरु गलैंचा, पाम तेल, अलैँची, जुटका सामान, चिया, पश्मिना, चाउचाउलगायतको निर्यातमा उच्च गिरावट आएको छ । चालु आवमा गत आवको तुलनामा चाउचाउको निर्यात मात्रै करिव १७ प्रतिशतले घट्दा रोजिनको निर्यात २५ प्रतिशतले घटेको छ । यस्तै चिया १३ प्रतिशतले पाम तेल ६५ प्रतिशतले र गलैंचा ६ प्रतिशतले घटेको छ ।

यसरी नेपालमा आयात हुने मुख्य औद्योगिक कच्चा पदार्थको आयात घट्दा चालु आवको बैशाखसम्म नेपालको कुल आयात नै २.३९ प्रतिशतले घटेको छ भने निर्यात पनि समग्रमा ३.६१ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको १० महिनामा ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको निर्यात भएको चिया यसपल्ट २ अर्ब ८९ करोड रुपैयाँमा सीमित भयो । गत बर्ष १ अर्ब ४६ करोडको निर्यात भएको रोजिन यसपल्घ १ अर्ब रुपैयाँमा मात्रै सीमित भयो । यस्तो अवस्था कार्पेटलगायतका वस्तुमा पनि छ ।

प्रतिक्रिया दिनुहोस्