Logo

भारतमा विद्युत निर्यात हल्लामात्रै : नेपालमै विद्युतको चरम संकट, आन्तरिक खपत धान्नै समस्या

भारतमा विद्युत निर्यात हल्लामात्रै : नेपालमै विद्युतको चरम संकट, आन्तरिक खपत धान्नै समस्या



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जेठ १७ गते यो बर्ष नेपालबाट बिजुली निर्यात सुरु भएको भन्दै एउटा सूचना जारी गर्याे । तर, त्यो सूचना जारी गरेको केहिदिनमै नेपालमा विद्युतको चरम संकट सुरु भएको पाइएको छ ।

laxmi

प्राधिकरणले सूचना जारी गरेको केहि समयमै नेपाल उद्योग परिसंघ (सिएनआई)ले विज्ञप्ति जारी गर्दै नेपालका उद्योगीलाई लोडसेडिङमा राखेर प्राधिकरणले भारततर्फ विजुली पठाएको आरोप लगाएको थियो । त्यसको केहिदिनमै पुनः प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ वीरगंज नै पुगेर उद्योगीहरुलाई सान्त्वना दिएका थिए ।

नेपालमा बिजुलीको अभाव हुँदाहुँदै पनि प्राधिकरणले हतारमै सूचना जारी गरेर विद्युत निर्यात सुरु भएको भनिएपनि वास्तविकता भने अर्कै रहेको पाइएको हो । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत१४ जेठ रातिबाट नै भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको बताएको थियो ।

खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरु र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन बृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत् निर्यात सुरु गरिएको प्राधिकरणले दाबी गरेको थियो । प्राधिकरणले सूचनामार्फत दैनिक रुपमा ४ सय मेगावाट हाराहारीमा बिजुली निर्यात भइरहेको बताएको थियो । तर, त्यहिबेलामा पनि वीरगंज, महोत्तरी, सर्लाही, भैरहवालगायतका क्षेत्रका उद्योगीहरुले आफुलाई चाहिनेजति बिजुली नपाइरहेको अवस्था थियो ।

खासगरी त्यही एकदिन हावाहुरी चलेका कारण नेपालभित्रका ट्रान्समिसन लाइनहरुमा क्षति पुगि आन्तरिक खपत नभएको र केहि बढी भएको बिजुली खेर जानुभन्दा बेच्न उचित हुन्छ भनेर एक दिनमात्रै बेचिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष बताउँछन् । उनका अनुसार आन्तरिक खपत नै नभएपछि उक्त बिजुली एक दिनका लागि मात्रै बेचिएपनि त्यसपछि पुनः प्रणालीमा बिद्युत संकट हुन थालेको छ । ‘एक दिन अपुताली परेर केहि बिजुली निर्यात भएको हो,’ उनले भने, ‘अहिले पनि आन्तरिक माग उच्च हुँदा विद्युतको ठूलो संकट कायमै छ ।’

नेपालका धेरैजसो जलविद्युत परियोजनाहरु जलप्रवाही (रन अफ रिभर)मा आधारित रहेकाले नदीहरुको जलसतह बढेको खण्डमा मात्रै विद्युत उत्पादन बढ्छ । तर, निजी क्षेत्रका धेरैजसो परियोजनाहरु ठूलो महत्वकांक्षा राखेर अर्थात नदीको क्षमताभन्दा पनि बढी क्षमतामा प्लान्ट संचालन गराइरहेकाले जडित क्षमताभन्दा पनि न्यून मात्रै बिजुली उत्पादन हुने गरेको उनले बताए । हालपनि प्राधिकरणसम्म पुगेर धेरैजसो उद्योगीहरुले बिजुली नपाएको गुनासो गरिरहेका छन् ।

केन्द्रीय विद्युत प्राधिकरणले हालसम्म नेपालका १५ वटा जलविद्युत आयोजनाहरुबाट उत्पादित ६५६ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ । ६५६ मेगावाटबाटै मध्यकालीन विद्युत सम्झौताबमोजिम हरेक वर्ष जुन–अक्टोबरसम्म पाँच वर्षका लागि ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनभिभिएनलाई बिक्री गर्न स्वीकृति दिइएको छ । एनभिभिएनले उक्त विद्युत हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ । नेपालले रियल टाइम मार्केटमा बिद्युत खरिद बिक्रीको पनि अनुमति पाएको छ ।

यद्यपि अझैपनि विद्युतबाट माग नधान्ने र राति भारततर्फबाट आयात गर्न नपाउने हुँदा वीरगञ्ज करिडोरका उद्योगहरुमा विद्युत् आपूर्तिको समस्या कायमै छ । तर, प्राधिकरणले भने बिजुली निर्यात सुरु गरिएको भन्दै हल्लामात्रै फैलाएको प्राधिकरणकै कर्मचारीहरु बताउँछन् । प्राधिकरणको तथ्यांकलाई आधार मान्दा हाल प्रणालीमा भारतबाट आयात गरेरपनि २ हजार ६ सय ५० मेगावाट आवर बिजुली अपुग छ ।

प्राधिकरणले भारतबाट हाल प्रतिदिन करिव ५ हजार ६ सय ५४ मेगावाट आवर बिजुली आयात गर्ने गरेको छ । हाल प्रणालीमा ४५ हजार बढी मेगावाट आवर विजुलीको माग छ भने विजुलीको उच्च माग २ हजार १ सय मेगावाट आसपास पुगिसकेको छ । यहिबेला बढेको गर्मीले झन बिजुलीको माग उच्च बढेसँगै बिद्युत प्राधिकरण पनि तनावमा छ । खासगरी एकपटक ठूलो र लामो समयसम्म वर्षा नभइकन हालको अवस्थामा आन्तरिक माग नै धान्न धौ–धौ हुने प्राधिकरणका अधिकारीहरु बताउँछन् । नेपालकोे आन्तरिक खपत बढेको र सोही अनुसार उत्पादन नभएकै कारण चालु आर्थिक बर्षको हिउँदमा भारतबाट १५ अर्ब रुपैयाँ बढीको बिजुली आयात गरेको थियो । हाल यो प्रक्रिया अझै जारी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL