Logo

कोरियाबाट फर्केर माछा पालनमा रमाउँदै लक्ष्मण, तीन लाखको भुराबाट १२-१५ लाख आम्दानी

कोरियाबाट फर्केर माछा पालनमा रमाउँदै लक्ष्मण, तीन लाखको भुराबाट १२-१५ लाख आम्दानी



काठमाडौं । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भई बागलुङ बजार बस्दै आएका पुनले विगत छ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आएका छन् ।

laxmi

उनले १४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन शुरू गरेका हुन् । तीन वर्षअघिदेखि माछा खान आउने ग्राहकलाई मध्यनजर गरी उनले रिसोर्ट पनि खोलेका छन् । ‘’श्रमिकका रूपमा कोरिया पुगेको थिएँ । कोरियामा कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा पाएँ, कोरियामा कमाएको पैसाले १४ रोपनी जग्गा भाडामा लिएर माछापालन, तरकारी खेती र रिसोर्ट खोलेको हुँ’, उनले भने, ‘कोभिड–१९ शुरू हुनुअघि एकै पटकमा माछाबाट छ लाखसम्म आम्दानी भयो । त्यसपछि दानाको मूल्य बढ्यो र माछा उत्पादन घटेको छ ।’

पुनका अनुसार माछाको उत्पादन राम्रो भएमा लगानीको दोब्बर नाफा हुन्छ । कोरियामा जस्तै नेपालमै काम गर्नसके कमाउन सकिन्छ भन्ने लागेर लगानी गरेको उनको भनाइ छ । रु ५० लाख लगानी गरेकाले आम्दानी भए पनि अहिलेसम्म लगानी उठाउन बाँकी रहेको पुनले बताए । उनले छोरा अमृतलाई समेत माछापालनमा लगाएका छन् । माछापालन सिकाउँदै रिसोर्टको जिम्मेवारी छोरालाई दिएका छन् । ’कोरियामा मेसिनको गतिमा काम हुने, कामप्रतिको लगाव, मेहनत र श्रमप्रतिको सम्मानबारे गतिलो भोगाइ र सिकाइले नेपालमा फर्केर आराम गर्न सकिँन, ६२ वर्षको उमेरमा माछापालनमा उत्तिकै सक्रिय छु’, उनले भने ।

चार वर्ष निकै फस्टाएको माछापालन अहिले घटेको उनको भनाइ छ । १४ रोपनी जग्गाको वार्षिक रु एक लाख ५० हजार भाडा तिर्नुपर्छ । उनले रिसोर्ट, तीन वटा माछापोखरी, रेष्टुराँ, तीन वटा प्लास्टिक टनेल र तरकारी खेती लगाएका छन् । पोखरीमा उत्पादित माछा बागलुङ बजारमै खपत हुने भएकाले बजारको चिन्ता नभएको उनले बताए । उत्पादन बढाउन यस वर्ष भुरामा लगानी थप गरेको पुनले जानकारी दिए । तीन लाखको भुरा पोखरीमा हालेपछि राम्रोसँग हुर्केमा १२-१५ लाख आम्दानी हुने तर राम्रो उत्पादन नभएमा रु पाँच छ लाखमै सीमित हुने उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL