Logo

सस्तो बन्दै कर्जाको ब्याजदर, एक वर्षमा दुई प्रतिशत बिन्दुले घट्यो आधारदर (सूचीसहित)

सस्तो बन्दै कर्जाको ब्याजदर, एक वर्षमा दुई प्रतिशत बिन्दुले घट्यो आधारदर (सूचीसहित)



काठमाडौं । एक वर्षअघिसम्म सर्वाधिक उचाईमा रहेको बैंकहरुको कर्जाको ब्याजदर सस्तो बन्दै गएको छ । एक वर्षको अवधिमा बाणिज्य बैंकले ऋणीहरुसँग लिने कर्जाको ब्याजदर औसतमा लगभग २ प्रतिशत बिन्दुले कम भएको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) सिंगल अंकमा झरेको छ ।

laxmi

चालु आर्थिक वर्षको चैत मसान्तसम्म २० वाणिज्य बैंकको औसत आधारदर ८.५६८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकको औसत आधारदर १०.४८८५ प्रतिशतको हाराहारीमा रहेको थियो । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंकहरुले कर्जाको ब्याजदरलाई आधार दरसँग आवद्ध गराएर ऋण लगानी गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकको व्यवस्थाअनुुसार बैंकहरुले हरेक त्रैमासमा औसत आधार दरको निर्धारण गर्नुपर्ने हुन्छ । आधारमा निर्धारण गरेर बैंकले उक्त आधारदरमा प्रिमियम जोडेर ऋण लगानी गर्न पाउँछन । बैंकहरुको आधार दर बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्छ भने घट्दा घट्ने गर्छ । हरेक त्रैमासको औसत आधार दरमा कर्जाको जोखिमअनुसार बैंकहरुले प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने गर्छ ।

गत आर्थिक वर्षमा बैंकिङ क्षेत्रको कर्जाको ब्याजदर बढी भएको भन्दै आधारदर घटाउनको लागि सरकारले राष्ट्र बैंक तथा बैंकहरुलाई दवाब दिएको थियो । निजी क्षेत्रसहित सरकारले पनि ब्याजदर घटाउन दवाब बढाएपछि बैंकर्स संघले गत भदौमा ब्याजदरबारे गरेको निर्णयबाट पछि हटेका थिए । त्यसपछि बैंकको निक्षेपको ब्याजदरसँगै कर्जाको ब्याजदर पनि निरन्तर ओरालो यात्रामा छ ।

गत आर्थिक वर्षको चैत मसान्तदेखि चालु आर्थिक वर्षको चैत मसान्तसम्म आउँदा ७ वाणिज्य बैंकको आधारदर २ प्रतिशतभन्दा धेरैले घटेको छ । चैत मसान्तसम्म आउँदा ८ प्रतिशतभन्दा कम आधारदरमा कर्जा लगानी गर्ने तीनवटा बैंक रहेका छन । यसमा पनि सबैभन्दा सस्तो आधारदरमा कर्जा लगानी गर्ने बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ । यस बैंकले आफ्ना ऋणीलाई ६.५३ प्रतिशत बेसरेटमा कर्जा दिने गरेको छ । यसैगरी, ८ प्रतिशतभन्दा कम आधारदरमा कर्जा लगानी गर्ने अन्य दुई बैंक नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।

चैत मसान्तसम्म १३ वाणिज्य बैंकको बेसरेट ८ प्रतिशतदेखि ९ प्रतिशतको हाराहारीमा रहेको छ । यस अवधिमा ९ प्रतिशतभन्दा धेरै ब्याजदर भएका वाणिज्य बैंक कुमारी बैंक, एनएमबि बैंक र प्राइम कमर्सियल बैंक, रहेका छन । यस अवधिमा सबैभन्दा धेरै आधारदर भएको बैंक कुमारी बैंक रहेको छ । यस बैंकको आधारदर यस अवधिमा ९.६३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL