Logo

इजरायल-इरान युद्धको त्रास : वैदेशिक व्यापारसँगै वैदेशिक रोजगारी पनि प्रभावित हुने, मूल्यवृद्धि मुख्य चिन्ता

इजरायल-इरान युद्धको त्रास : वैदेशिक व्यापारसँगै वैदेशिक रोजगारी पनि प्रभावित हुने, मूल्यवृद्धि मुख्य चिन्ता



काठमाडौं । विश्व बजारमा गएको शुक्रबार कच्चा पेट्रोलियमको मूल्य पछिल्लो ६ महिनाकै उच्च हुन पुग्यो । एकातर्फ बढिरहेको डलरको मूल्य र अर्कातर्फ इरानले इजरायलमाथि गरेको आक्रमणका कारण कच्चा तेलको मूल्यले एकाएक उकालो बाटो समात्यो । खासगरी इरानले इजरायलमाथी सिरियामा रहेको आफ्नो महावाणिज्यदूतावासमा आक्रमण गरेको भन्दै एकाएक आक्रमण गरेको थियो । भलै इजरायलले हालसम्म यसको कुनै प्रतिक्रिया नदिएपनि पश्चिम एशियाका धेरैजसो मुलुक दुई धारमा विभाजित भएका छन् ।

laxmi

पश्चिम एशिया नै अशान्त बनेसँगै यसले विश्व अर्थतन्त्रमै हलचल उत्पन्न भएको छ । जसको परिणामस्वरुप नै हाल कच्चा तेलको मूल्य बढेको र यसले नेपाली बजारलाई पनि असर गरिसकेको छ । अन्तरराष्ट्रिय कच्चा तेलको मूल्य बढेसँगै नेपाल आयल निमगले गत सोमबारबाट नेपाली बजारमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य साविको तुलनामा ३ रुपैयाँले बढाइसकेको छ ।

खासगरी हमास र इजरायलबीच यसअघिकै युद्धका कारण विश्व बजारमा सुनलगायतको मूल्यमा असर परिरहेकै छ । त्यसैमाथि इरान नै युद्धमा उत्रँदा विश्वबजारमा कच्चा तेलको आपुर्तिमै भयावह अवस्था निम्तिने बताइन्छ । सन २०२३ को एक अध्ययन प्रतिवेदन अनुसार खाडी मुलुक इरान र इराकसँग मात्रै विश्वबजारमा भएको तेल भण्डारको ४८ प्रतिशत र तेल उत्पादनको ३३ प्रतिशत हिस्सा छ ।

कोरोना महामारी, रुस युक्रेन युद्धलगायत झेलिसकेको विश्व अर्थतन्त्रमा तत्काल इरान–इजरायल युद्धले ठुलो असर नगरेपछि आगामी दिनमा यसैले ठुलो रुप लिए भन्न नसकिने अन्तरराष्ट्रिय मुद्रा कोषका अधिकारीहरु बताउँछन् । यता नेपालमा भने आयात निर्यात व्यापार र वैदेशिक रोजगारीमा असर पर्ने विज्ञहरु बताउँछन् ।

नेपालले इरान र इजरायलसँग वैदेशिक व्यापारसँग वैदेशिक रोजगारीको पनि उत्तिकै सम्बन्ध राखेको छ । चालु आर्थिक बर्षको ८ महिनाको तथ्यांक मात्रै केलाउँदा नेपालबाट इजरायलमा २ करोड १७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यस्तै इजरायलबाट भने नेपालले यसै अवधिमा ७९ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको देखिन्छ । यस अवधिसम्म नेपालको इजरायलसँग ७७ करोड ३८ लाख रुपैयाँको व्यापार घाटा छ ।

यता इरानसँग पनि नेपालले यस अवधिमा १ करोड ८४ लाख रुपैयाँ बराबरको वस्तु आयात गरी ४० लाख ८८ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यसरी इरानसँग नेपालले चालु आवको ८ महिनामा १ करोड ४३ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । यसरी नेपालले इजरायलबाट सफ्ट ड्रिंक्स, विभिन्न उपकरणहरु, तयारी पोशाक, विद्युतीय उपकरणहरु, क्यामरा, घडी, रेडियो, अप्टिकल फाइबर नेटवर्कलगायतका सामग्रीहरु आयात गर्ने गरेको छ । यस्तै नेपालबाट भने इजरायलमा पास्ता, कुरकुरे, संगीतका सामग्रीहरु, हस्तकलाका सामग्रीलगायत निर्यात हुने गरेको छ ।

यता इरानबाट भने नेपालले पछिल्लो ८ महिनाको अवधिमा सबैभन्दा बढी मुटुमा राखिने इम्प्लान्टेड भल्प, ह्विस्की, विभिन्न उपकरणहरु, ज्युँदा जनावरलगायत आयात भएका छन् । यसै अवधिमा यहाँ नेपालबाट भने पश्मिना, धागो, उनी, फेल्ट, खानेतेललगायत निर्यात भएको देखिएको छ । यससँगै इजरायलमा यसअघि भएका आक्रमणमा परी सयौंको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली कामदारहरुको कुरा पनि उत्तिकै उठेको थियो ।

इजरायलसँग नेपालको रोजगारी नाता जोडिएकै कारण इजरायलमा हालसम्म करिव १५ हजार नेपाली कामदारहरु रहेको अनौपचारिक तथ्यांकहरुले देखाउँछन् । इजरायले युद्धमा होमिएसँगै नेपाली कामदारहरु समस्यामा पर्नसक्ने जानकार बताउँछन् । इजरायल–इरान युद्ध चर्किएमा इजरायलको रोजगारीमात्रै नभएर नेपालीको प्रमुख रोजगारीको गन्तब्य रहेको मध्यपूर्वकै रोजगारीमा समस्या आउने वैदेशिक रोजगार व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL