Logo

सेबोन अध्यक्षमा कर्पोरेट हाउसको तीब्र दबाबले तनावमा अर्थमन्त्री, नियुक्ति प्रक्रिया रोकेर अमेरिका उड्दै

सेबोन अध्यक्षमा कर्पोरेट हाउसको तीब्र दबाबले तनावमा अर्थमन्त्री, नियुक्ति प्रक्रिया रोकेर अमेरिका उड्दै



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा कर्पोरेट हाउस र विचौलियाको चर्को दबाब आएपछि अर्थमन्त्री वर्षमान पुनले तत्कालका लागि नियुक्ति प्रक्रिया नै स्थगित गरेका छन् । धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले १९ जना आवेदकबाट ५ जनाको नाम छनौट गरेको थियो । तर, उक्त छनौट प्रक्रिया र मन्त्रिपरिषद्मा ३ जना प्रतिस्पर्धीको नाम सिफारिस गर्नका लागि पहिले नै कर्पोरेट हाउस र विचौलियाले आ–आफ्नो मान्छेलाई मात्रै समावेश गर्न दबाब दिएपछि नियुक्ति प्रक्रिया थप अन्यौल बनेको हो ।

laxmi

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले गत बिहीबार अन्तरवार्ताको मिति तय गरेको थियो । तर, अध्यक्ष सिफारिस समितिले सेयर बजारसम्बन्धी ज्ञान नै नभएका विचौलियाले अघि सारेका व्यक्तिलाई अन्तिम ५ जनाको सूचीभित्र छनौट गरेर उनैलाई नियुक्त गर्न दबाब आएपछि अर्थमन्त्री वर्षमान पुन सशंकित बन्न पुगेको उनी निकट स्रोतले जानकारी दिएको छ । ‘पछिल्लो समय विचौलियाले अघि सारेका व्यक्ति सन्तोषनारायण श्रेष्ठलाई सेवोन अध्यक्षमा नियुक्त गर्नपर्छ भनेर प्रधानमन्त्री लगायत अन्य माथिल्ला निकायबाट अर्थमन्त्री पुनलाई ठूलो दबाब आएको छ,’ उनी निकट स्रोतले भन्यो, ‘तर अर्थमन्त्री पुनले अहिलेको अवस्थामा पुँजी बजारसम्बन्धी ज्ञान नै नभएको व्यक्तिलाई विचौलियाको दबाबमा नियुक्त गर्नुपर्छ भने मन्त्रीपद नै छाड्न तयार छु भनेर आफ्नो सचिवालयमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी पठाएका छन् ।’ विशेषगरी मन्त्रिपरिषद्बाट हुने नियुक्तिमा जुन पार्टी सरकारमा छ सोही पार्टी निकटका व्यक्तिहरु नियुक्ति हुने गर्दछ । तर, बोर्डको अध्यक्ष नियुक्तका लागि नेपाली कांग्रेस निकटका सन्तोषनारायण श्रेष्ठलाई जसरी पनि नियुक्ति गर्न प्रधानमन्त्रीलगायत सत्ता गठबन्धनबाटै दबाब आएपछि अर्थमन्त्री तनावमा रहेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

सेबोनमा स्वार्थ समूहले जसरी पनि आफ्नो मान्छेलाई अध्यक्ष नियुक्त गर्न खोज्नुको मुख्य कारण स्टकको नयाँ लाइसेन्स हत्याउनु हो । सोहीअनुरुप अहिले स्वार्थ समुहले सत्ता साझेदार पार्टीसँग अध्यक्ष नियुक्तिसहित नयाँ स्टकको लाइसेन्स लिनका लागि प्याकेजमा डिल गरिरहेको उच्च स्रोतले जानकारी दिएको छ । सेबोन अध्यक्ष नियुक्ति मन्त्रिपरिषद्ले गर्ने भएकाले उक्त नियुक्तिमा सबैभन्दा ठूलो भुमिका प्रधानमन्त्रीको रहन्छ । यसअघि प्रधानमन्त्रीको सचिवालयले पुँजी बजार सुधारका लागि बोर्डकै कार्यकारी निर्देशक डा. नवराज अधिकारी वा नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईमध्ये एक जनालाई नियुक्त गर्ने चर्चा चलाएपनि पछिल्लो समय भने कांग्रेस नियकटका सन्तोषनारायण श्रेष्ठलाई अघि सारेको हो । ‘बोर्डको अध्यक्ष नियुक्ति गर्नेगरी माथिबाटै अन्तिम ३ भित्र सन्तोषनारायण श्रेष्ठलाई समावेश गरेर मन्त्रिपरिषद्मा नाम ल्याउन निर्देशन आएपछि अर्थमन्त्री पुन तनावमा देखिएका छन्,’ उनी निकट स्रोतले भन्यो, ‘सोहीअनुरुप अर्थमन्त्रीले चैत २८ गतेको अन्तरवार्ता नै रोकेर अमेरिका भ्रमणमा निस्कन लागेका छन् ।’

अर्थमन्त्री निकट स्रोतका अनुसार पुन आईएमएको बैंठकमा भाग लिन बैंशाख ३ गते सोमबार बिहान ३ बजे अमेरिका प्रस्थान गर्नेछन् भने बैशाख ९ गतेमात्रै नेपाल फर्कने कार्यतालिका रहेको छ । नेपालमा ६२ लाख लगानीकर्ता आबद्ध भएको र ३२ खर्बभन्दा बढी पुँजीकरण भएको बोर्ड नेतृत्वविहीन भएको ३ महिनाभन्दा बढी समय भैसक्दा पनि राजनीतिक खिचातानी र विचौलियाको प्रभावका कारण अध्यक्ष नियुक्ति हुन सकेको छैन । ‘पुँजी बजार अन्यौलमा रहेको अवस्थामा अर्थमन्त्री पुनले पनि आफ्नो अडान लिएर स्वार्थ समुहको प्रभावभन्दा पनि स्वतन्त्र र बजार सुधार गर्नसक्ने व्यक्तिलाई नियुक्त गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान सक्नुपर्दथ्यो,’ पुँजी बजारका एक विज्ञले भने, ‘माथिबाट दबाब आएको भन्दै अर्थमन्त्रीले जसरी अन्तरवार्ता नै रोकेर लामो समयका लागि अमेरिका जान लागे त्यसले उनको कार्यक्षमतामाथि प्रश्न चिह्न खडा गरेको छ भने सेयर बजारमा थप अन्यौलता सिर्जना गरेको छ ।’

अध्यक्ष सिफारिस समितिले आवेदक १९ जनामध्ये डा.नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ, कृष्णबहादूर कार्की, सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठलाई अन्तिम ५ मा छनौट गरेको थियो । जसमध्ये मुक्तिनाथ श्रेष्ठमाथि बोर्डमै कार्यकारी निर्देशकको भूमिकामा रहेर भ्रष्टाचार गरेको आरोपमा संसदको लेखा समितिको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छनाविन गरिरहेको छ । ‘१९ जना आवेदकमा ५ जनाको सूचीमा पुँजी बजारसम्बन्धी राम्रो ज्ञान नभएका सन्तोषनारायण श्रेष्ठ र भ्रष्टाचारका आरोपी मुक्तिनाथ श्रेष्ठ अटाउनुले यसमा विचौलियाको ठूलो चलखेल रहेको छ भन्ने स्पष्ट देखिन्छ,’ उच्च स्रोतले भन्यो, ‘यदि विचौलियाको प्रभाव र दबाबमा बोर्डमा अध्यक्ष नियुक्ति हुने हो भने त्यसले ६२ लाख लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक असर पार्ने छ भने पुँजी बजार थप धराशायी हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL