Logo

अन्तरबैंक कर्जामा रमाउँदै बैंकहरु, फागुनमा ४६ प्रतिशतले बढ्यो

अन्तरबैंक कर्जामा रमाउँदै बैंकहरु, फागुनमा ४६ प्रतिशतले बढ्यो



काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अधिक र कर्जा प्रवाह ठप्प रहेको चर्चा चल्ने गरेको छ । तथ्यांकले पनि त्यसलाई पुष्टि गरिरहेको भएपनि बैंकहरुले बढेको निक्षेपलाई राष्ट्र बैंकमा राख्नुको सट्टा आन्तरिक कर्जा प्रवाहमा जोड दिएको देखिएको छ । हाल बैंकिङ प्रणालीमा ६१ खर्ब ६ अर्ब रुपैयाँ कुल निक्षेप पुगेको छ भने कर्जा प्रवाह ५० खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।

laxmi

चालु आर्थिक बर्षको फागुनमा मात्रै वाणिज्य बैंकहरुले आन्तरिक सापटी (बरोइङ) उच्च बढाएको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गएको माघ महिनाको तुलनामा फागुनमा मात्रै वाणिज्य बैंकहरुले यस्तो बरोइङ ४६.४५ प्रतिशतले बढाएका हुन् । यसअघि फागुनमा बैंकहरुले एकआपसमा २७ अर्ब ९६ करोड रुपैयाँ बराबरको सापटी लिएकामा फागुनमा यस्तो सापटी बढेर ४० अर्ब ९६ करोड रुपैयाँ पुगेको हो ।

खासगरी बैंकहरुले एक आपसमा सापटी लिएर प्रयोग गर्ने यस्तो सुविधा कर्जा लगानीका लागि भन्दापनि राष्ट्र बैंकले तोकेका सञ्चिती प्रावधान पुरा गर्न लिइन्छ । हाल अन्तरबैंक ब्याजदर घटेको फाईदा उठाउँदै बैंकहरुले यसको भरपुर प्रयोग गरिरहेको देखिन्छ । हाल अन्तरबैंक ब्याजदर करिव ३ प्रतिशत पुग्न लागेको छ । यसअघि फागुनसम्ममा यस्तो ब्याजदर २.५ प्रतिशतको आसपासमा थियो ।

यसरी फागुनमा न्यून अन्तरबैंक ब्याजदरको फाईदा उठाउँदै बैंक वित्तीय संस्थाहरुले कुल २ खर्ब ९५ अर्ब रुपैयाँ सापटी लिएको राष्ट्र बैंकको तथ्यांकमा देखिएको छ । यो रकम माघको तुलनामा ४.२९ प्रतिशतले बढी हो । माघसम्ममा यस्तो सापटी २ खर्ब ८३ अर्ब रुपैयाँ बराबर सापटी गएको थियो ।

यस्तो सापटीमा राष्ट्र बैंकको सापटी भने ९१ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ । माघमा ५ अर्ब रुपैयाँ बढी सापटी लिएको राष्ट्र बैंकले फागुनमा जम्मा ४४ करोड रुपैयाँ मात्रै लिएको देखिन्छ । यस्तै यसै अवधिमा नेपाली बैंकहरुले विदेशी बैंकहरुबाट लिने सापटी पनि १.२५ प्रतिशतले घटेको छ । गत माघमा विदेशी बैंकहरुबाट ६४ अर्ब ११ करोड रुपैयाँ सापटी लिएका नेपाली बैंकहरुले फागुनमा ६३ अर्ब ३१ करोड रुपैयाँ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL