Logo

नागढुंगा सुरुङमार्ग ब्रेकथ्रुको लागि जाइकाका पदाधिकारीसँग सहमति जुटाइँदै, मितिबारे अझै अनिश्चितता

नागढुंगा सुरुङमार्ग ब्रेकथ्रुको लागि जाइकाका पदाधिकारीसँग सहमति जुटाइँदै, मितिबारे अझै अनिश्चितता



काठमाडौं । फागुनमै ब्रेकथ्रु हुने भनिएको नागढुंगा नौबिसे सुरुङमार्गको ब्रेकथ्रुको टुंगो अझै लागेको छैन । आयोजनाले कामको गति बढाउँदै ब्रेकथ्रुको तयारी गरेपछि स्थानीय अवरोधका कारण यसको समय लम्बिएको थियो । तर, गत हप्तादेखि काम सुरु गरिएको उक्त आयोजनाको सुरुङ खन्ने काम हाल अन्तिम चरणमा पुगेपनि यसको ब्रेकथ्रुको भने टुंगो नलागेको उक्त आयोजनाका उप आयोजना प्रमुख गोविन्द डुमारुले बताए । ‘अब सुरुङ करिव २ देखि ४ मिटर मात्रै खन्न बाँकी छ,’ उनले भने, ‘कहिले ब्रेकथ्रु गर्ने भन्नेबारे सहमति जुटाउने काम भइरहेको छ ।’

laxmi

उनका अनुसार सुरुङ ब्रेक थ्रु गर्ने बेलामा ऋण दाता निकाय जापानिज सहयोग नियोग (जाइका) का पदाधिकारीहरु पनि उपस्थित हुनेछन् । स्थानीय अवरोधका कारण १ महिनासम्म ठप्प रहेको आयोजनाको काम सुरु हुनेबेलामा जाइकाका पदाधिकारीहरु जापान गएका थिए । उनीहरु फर्किन केहीसमय लागेकाले यसको ब्रेकथ्रु पनि लम्बिएको उनी बताउँछन् । ‘अब जाइकाका पदाधिकारीहरु नेपाल आइसक्नुभएको छ उहाँहरुसँग सहमति जुटाउने कार्य हाल भइरहेको छ,’ उनले भने, ‘आज या भोलिसम्म कहिले ब्रेकथ्रु गर्ने भन्ने टुंगो लाग्नेछ ।’

आयोजनाको सुरुङ खन्ने काम सकिएपनि यसको फिनिसिङलगायतका लागि भने अझै समय लाग्ने आयोजना प्रमुख नविनमान श्रेष्ठ बताउँछन् । उनका अनुसार काठमाडौंतर्फको फ्लाईओभर, सुरुङभित्रको फिनिसिङ, पहुँचमार्गलगायतका कार्य गर्न अझै समय लाग्नेछ । यसका लागि भने तोकिएको समयमा थप एक बर्ष लाग्ने उनको भनाई छ ।

आयोजनाले इभ्याकुएशन सुरुङ गत साउन २२ गते नै ब्रेकथ्रु गरिसकेको छ । सरकारले जाइकासँग १६ अर्ब रुपैयाँ ऋण लिएर उक्त सुरुङमार्ग बनाउँदै छ । कुल २२ अर्ब खर्च हुने उक्त आयोजनामा उक्त ऋणबाहेक मुआब्जाका लागि सरकारले ६ अर्ब रुपैयाँ खर्चेको छ । अन्य समस्या समाधान गर्न सकिने भए पनि प्रभावितले पुनः जग्गाको मुआब्जा माग गरेपछि समस्या बल्झिँदै गएको थियो । हाल मुआब्जाको केहि समस्या भने बाँकी नै छ । केही स्थानीयहरु मुआब्जाकै बिषयलाई लिएर अदालतसम्म पुगेका छन् ।

सुरुङमार्ग निर्माणको जिम्मा हाज्मा–आन्दो कर्पोरेशनलेले पाएको छ । २०७६ देखि निर्माण सुरु गरेको कम्पनीले कोरोना महामारीमा काम गर्न नपाएको भन्दै म्याद थप्न आग्रह गरेपछि नेपाल सरकारले आयोजनाको म्याद २०२४ अप्रिलसम्म पुर्याएको थियो । हालसम्म सबैजसो काम भईसकेपनि काठमाडौंतर्फ ओभरब्रिजका लागि आवश्यक जग्गाको टुंगो अझै लागेको छैन ।

सुरुङमार्ग सञ्चालनमा आएपछि त्रिभुवन राजपथ नागढुंगा बलम्बुसम्मको दुरी तीन किलोमिटरले कम हुनेछ । सडकको दुरी तीन किलोमिटरले मात्र कम भए पनि सुरुङमार्गको पश्चिमी प्रवेश बिन्दुदेखि नागढुंगासम्मको उकालो र त्यहाँ हुने ट्राफिक जामलाई दृष्टिगत गरी एक व्यक्तिको झन्डै आधाघण्टा समय बचत हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL