Logo

अब पोलबाट हैन जमिनमुनिबाट बिजुली ! काठमाडौंका २५ सय घरमा बल्न थाल्यो भूमिगत तारबाट प्रवाहित बिजुली

अब पोलबाट हैन जमिनमुनिबाट बिजुली ! काठमाडौंका २५ सय घरमा बल्न थाल्यो भूमिगत तारबाट प्रवाहित बिजुली



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भूमिगत तारबाट घरघरमा बिजुली वितरण गर्न थालेको छ । प्राधिकरणले हालसम्म काठमाडौंका करिव २५ सय घरधुरीसम्म भूमिगत प्रणालीमार्फत विजुली वितरण गरेको बताएको छ । विस २०७६ सालदेखि सुरु गरिएको विद्युत तार भूमिगत प्रणालीको काम हालसम्म काठमाडौंको करिव ८० प्रतिशत स्थानमा सम्पन्न भइसकेको प्राधिकरणले बताएको छ । यसरी तार भूमिगत गरिएको स्थानका घरधुरीसम्म भूमिगत प्रणालीमार्फत नै लाइन जडान गरी विद्युत सेवा उपलब्ध गराइएको हो ।

laxmi

प्राधिकरणले करिव ४ महिना अघिदेखि तार भूमिगत गरिएका स्थानहरुमा विद्युत लाइन पनि भूमिगत प्रणालीबाटै दिन थालेको प्राधिकरणका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानले बताए । उनका अनुसार हाल पुरानो सिनामंगल, पेप्सीकोलालगायतका स्थानमा भूमिगत प्रणालीबाट विद्युत वितरण सुरु गरिएको हो ।

करिव २ महिनादेखि उक्त क्षेत्रका करिव २५ सय घरधुरीले भूमिगत प्रणालीबाट बिजुली पाइरहेको प्राधिकरणको तार भूमिगत आयोजनाका प्रमुख पियुष मालाकारले बिजखबरलाई जानकारी दिए । ‘हामीले करिव ४ महिनाअघिदेखि भूमिगत प्रणालीबाट बिद्युत सेवा उपलब्ध गराउने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘सोहीअनुसार करिव २ महिनादेखि पेप्सीकोला क्षेत्रको मुख्य सडक किनाराका सबै घरमा भूमिगत प्रणालीबाट बिद्युत पुगेको छ ।’ उनले प्राधिकरणले कीर्तिपुर, सामाखुसी, कालिमाटी, बल्खु, कलंकीलगायतका क्षेत्रमा पनि घरघरसम्म भूमिगत तार पुर्याई बिजुली वितरण गर्न थालेको बताए ।

यसरी भूमिगत प्रणालीबाटै घरघरसम्म बिजुली पुर्याउँदा पहिलो प्रयोग गरिएका तार र बिजुलीका पोलहरुको भने काम नभएको उनको भनाई छ । ‘अब बिजुली जमिनमुनीबाटै जाने भएपछि पेप्सीकोला क्षेत्रको विद्युत लाईनका लागि गाडीएका पोल र टांगिएका तार हाल बेकामका भएका छन्,’ उनले भने, ‘त्यहाँ तार र पोल देखिएपनि त्यसमा अब बिजुली प्रवाह हुँदैन ।’

हाल भूमिगत प्रणालीबाट बिजुली पुर्याउन तयारी भएका क्षेत्रमा तार भूमिगत गर्ने, ग्राहकको घरको मिटरसम्मै बिजुलीको लाइन भूमिगत प्रणालीबाट पुर्याउनेलगायतका काम प्राधिकरणले गरिसकेको छ । मुख्य र सहायक सडकहरुमा मूख्य ११ केभीए क्षमताको वितरण लाइन विच्छ्याएसँगै त्यसलाई ग्राहकको घरसम्म पुर्याउने काम धमाधम भइरहेको छ । तर, केही मुख्य सडकहरुमा भने अझै पनि प्राधिकरणले तार भूमिगत गर्नका लागि सडक विभागसँग अनुमति नपाएपछि अन्यौलता सिर्जना भएको छ । सडक विभागले प्राधिकरणले सर्तअनुसार सडक सरसफाई नगरेको र तार भूमिगत गरेसँगै सडक अलपत्र पारेको भन्दै चक्रपथ क्षेत्रको मित्रपार्कदेखि तीनकुनेसम्म र तिनुकुनेदेखि माईतीघर, सिंहदरबार, पुतलीसडक, रत्नपार्क वरपर, दरबारमार्गलगायतका क्षेत्रमा तार भूमिगत कार्य रोक्न निर्देशन दिएको थियो ।

तर, विभागले हाल चक्रपथ क्षेत्रको मित्रपार्कदेखि तिनुकुनेसम्म तार भूमिगत कार्यका लागि अनुमति दिइसकेको छ । यस्तै पुतलीसडक क्षेत्रमा पनि तार भूमिगत कार्यका लागि अनुमति दिएको प्राधिकरणले जानकारी दिएको छ । हाल विभागले त्रिपुरेश्वरदेखि जमलसम्मको क्षेत्रमा पनि तार भूमिगत कार्यका लागि भन्दै सडक खन्न अनुमति दिएको तार भूमिगत आयोजना रत्नपार्क बानेश्वर क्षेत्रका प्रमुख सुमन श्रेष्ठले बताए । ‘सडक विभागले लामो समयदेखि मुख्य सडकहरु भन्दै तार नै भूमिगतको कार्य अघि बढाउन नदिँदा समस्या परेको थियो, काममा ढिलाई भईरहेको थियो,’ उनले भने, ‘हाल विभागले हामीलाई मुख्य सडक क्षेत्र भनिएका केहि सडकहरु खन्न अनुमति दिई ति क्षेत्रमा काम धमाधम भईरहेको छ भने बाँकी सडकहरुमा पनि क्रमशः अनुमति दिने तयारी विभागले गरेको छ ।’

उनका अनुसार अब अन्य बाँकी रहेको मुख्य सडकहरुमा पनि विभागले तार भूमिगत गर्न स्वीकृत दिने तयारी गरेको जानकारीमा आएको छ । खासगरी प्राधिकरणले पछिल्लो ४ बर्षदेखि माइतीघर, पुतलीसडक, चक्रपथका केहि स्थान, दरबारमार्ग, रत्नपार्क वरीपरीलगायतका सडकहरुमा तार भूमिगत गर्ने स्वीकृति पाउन सकेको थिएन । जसका कारण अन्य स्थानमा तार भूमिगत भइसकेपनि यी स्थानमा भने अझै सडकको नक्सांकनसमेत नभएको पाइएको छ । नेपाल विद्युत प्राधिकरणले २०७६ फागुन ५ गतेदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने कार्य अघि बढाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यको शिलान्यास गरेका थिए । सो कार्य शिलान्यास गर्नेबेला सडक विभागले सबै सडकमा प्राधिकरणलाई तार भूमिगत गर्न सहमति दिएपनि बीचमा मुख्य सडकहरुमा भने पहिलेको सहमतिले काम नगर्ने र पुनः सहमति लिनुपर्ने विभागको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL