Logo

फाइनान्स क्षेत्रको खराब कर्जा ‘जोखिमयुक्त अवस्थामा’, कुन कम्पनीको अवस्था कस्तो ?

फाइनान्स क्षेत्रको खराब कर्जा ‘जोखिमयुक्त अवस्थामा’, कुन कम्पनीको अवस्था कस्तो ?



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा फाइनान्स कम्पनीको खराब कर्जा औसत ६.२६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनजिक गरेको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै खराब कर्जा जानकी फाइनान्स कम्पनीको छ । यस कम्पनीको खराब कर्जा २० प्रतिशतको हाराहारीमा रहेको छ ।

laxmi

फाइनान्स कम्पनीले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई खराब कर्जामा राख्ने गरेका छन् । यसलाई नन पर्फमिङ लोन (एनपिएल) पनि भनिन्छ । पछिल्लो केहि समय यता वाणिज्य बैंक, विकास बैंकसँगै फाइनान्स कम्पनीको पनि खराब कर्जा बढ्दो अवस्थामा रहेको छ ।

नेपाल राष्ट्र बैंकले निगरानी गर्ने ‘क’ वर्ग र ‘ख’ वर्षको वित्त संस्थाभन्दा ‘ग’ वर्गको वित्त संस्थाको खराब कर्जा धेरै रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा वाणिज्य बैंकको (‘क’ वर्ग) को खराब कर्जा औसत ३.६० प्रतिशत र विकास बैंकको खराब कर्जा औसत ३.६१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा ‘ग’ वर्गको वित्त कम्पनीको खराब कर्जा भने औसत ६.२६ प्रतिशत पुगेको हो ।

वित्त संस्थाले निश्चित समयभित्र भुक्तान गर्ने गरी ऋणीलाई निश्चित रकम उपलब्ध गराउँछन । यद्यपि, कहिलेकाहीँ ऋणीले निर्धारित समयमा ऋण चुक्ता नगर्ने अर्थात् गर्न नसक्ने अवस्था पनि आउँछ । ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछि सम्म पनि बैंकले आफूले दिएको ऋण उठाउन नसकेमा यस्तो ऋणलाई खराब कर्जामा गणना गर्ने गरिन्छ । वित्तीय संस्थाले सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर उठाउँछन । नेपालमा कुनै पनि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशतभन्दा बढी भएमा यस्तो अवस्थालाई जोखिमयुक्त अवस्था मान्ने गरिएको छ ।

यसरी हेर्दा वित्त कम्पनीको खराब कर्जा जोखिमयुक्त अवस्था रहेको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको ६ महिनासम्म आउँदा ४ फाइनान्स कम्पनीको खराब कर्जाको अनुपात १० प्रतिशतभन्दा माथि २० प्रतिशतसम्मको हाराहारीमा रहेको छ । यस अवधिमा नेपाल फाइनान्सको खराब कर्जा १०.५२ प्रतिशत, गोर्खाज फाइनान्स कम्पनीको खराब कर्जा १३.७३ प्रतिशत र प्रोग्रेशिभ फाइनान्स कम्पनीको खराब कर्जा ११.४५ प्रतिशतसम्म रहेको छ ।

यसैगरी, यस अवधिमा चार फाइनान्स कम्पनीको खराब कर्जा ५ प्रतिशतभन्दा माथि १० प्रतिशतभन्दा कम रहेको छ । यस अवधिमा रिलायन्स फाइनान्स कम्पनीको खराब कर्जा ९.६७ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको खराब कर्जा ६.४५ प्रतिशत, सेन्ट्रल फाइनान्स कम्पनीको ९.४४ प्रतिशत, गुडविल फाइनान्स कम्पनीको खराब कर्जा ५.२३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा ५ प्रतिशतभन्दा कम खराब कर्जा भएका फाइनान्स कम्पनी ६ वटा रहेका छन । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको खराब कर्जा यस अवधिमा १.९४ प्रतिशत र मल्टिप्रपोज फाइनान्स कम्पनीको १.४८ प्रतिशत खराब कर्जा रहेको छ । यसैगरी, बेष्ट फाइनान्स कम्पनीको खराब कर्जा ३.३२ प्रतिशत, पोखरा फाइनान्स कम्पनीको ४.७६ प्रतिशत, समृद्धि फाइनान्स कम्पनीको ४.६८ प्रतिशत, आईसीएफसीको २.२१ प्रतिशत, मन्जुश्रीको ३.५० प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL