Logo

सीआईबीले आजदेखि महराको बयान लिने, सुन तस्करको मतियारका रुपमा मुद्दा

सीआईबीले आजदेखि महराको बयान लिने, सुन तस्करको मतियारका रुपमा मुद्दा



काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बुधबार देखि बयान लिइने भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरणमा आजदेखि पुनः बयान लिने तयारी गरेको हो ।

laxmi

सीआईबीले यसअघि पनि महरासँग बयान लिएर छाडेको थियो । पहिले उन्मुक्ति दिएको सीआईबीले सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनपछि पुनः अनुसन्धान गरेर पूरक अभियोग दर्ता गर्ने भएको हो । महराको विषयमा जाँचबुझ आयोगको प्रतिवेदनलाई आधार बनाएर बुधबारदेखि अनुसन्धान अगाडि बढाइने सीआईबीका एक अधिकारीले जानकारी दिएका छन् । ‘यसअघिको अनुसन्धानमा औंल्याएका त्रुटि र अब गर्नुपर्ने विषय पनि प्रतिवेदनमा निर्देशित गरिएको छ, त्यसैलाई आधार बनाएर अनुसन्धान अगाडि बढ्छ’, उनले भने ।

सीआईबीले अदालतमा महरा संगठित रूपमा सुन तस्करी कसुर गर्न चिनियाँ मूलका दावाजिन वाङ समेतलाई सहयोग गरी संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ र दफा ४ बमोजिम मतियारको कसुरदारको रूपमा भूमिका निर्वाह गरेको आधार प्रस्तुत गरिसककेको छ । सीआईबीले महरालाई सोमबार कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार जिल्ला अदालत, काठमाडौंले चार दिनको म्याद दिएको छ । सीआईबीले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न सरकारी वकिल कार्यालयमार्फत म्याद माग गरेको थियो । तर विभिन्न रोग लागेको र आफू अस्वस्थ रहेको बताएका महराको स्वास्थ्य उपचारको व्यवस्था गर्न पनि अदालतले निर्देशन दिएको छ । अदालतको निर्देशनपछि महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL