Logo

अर्थमन्त्रीको कार्यभार सम्हालेपछि पुनका दुई सन्देश : राजस्व संकलन बढाउने, सेयर लगानीकर्ता खुशी बनाउने

अर्थमन्त्रीको कार्यभार सम्हालेपछि पुनका दुई सन्देश : राजस्व संकलन बढाउने, सेयर लगानीकर्ता खुशी बनाउने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वमा नयाँ गठबन्धन निर्माण गरेपछि सरकारमा नयाँ मन्त्रीहरु नियुक्त भएर पदभार पनि ग्रहण गरिसकेका छन् । सरकारको सबैभन्दा महत्वपूर्ण मन्त्रालयका रुपमा रहको अर्थ मन्त्रालयमा पुर्व अर्थमन्त्रीसमेत रहेका वर्षमान पुनले अर्थमन्त्रीको कार्यभार सम्हालेका छन् । बुधबार साँझ राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सिंहदरवारस्थित अर्थ मन्त्रालयमा पुगेर पुनले पदभार ग्रहण गर्दैगर्दा मुख्यत दुई सन्देश दिए ।

laxmi

अर्थतन्त्रमा रहेका दर्जनौ चुनौतीहरुबारे जानकार रहेको बताउँदै पुनले देशमा उत्पन्न आर्थिक संकट समाधान गर्ने प्रतिबद्धता पनि जनाएका छन् । पुनले आर्थिक क्षेत्रको सुधारको लागि काम गर्ने दाबी गर्दै अर्थतन्त्र अरुले भने जस्तो सुधार्नै नसक्ने गरि नबिग्रिएको र सुधार गर्न सकिने बताए । आफू पहिलो पटक अर्थमन्त्री बन्दापनि अर्थतन्त्र संकटमा रहेको भन्दै अहिले पनि आफू उस्तै अवस्थामा मन्त्री बनेको उनले बताए । यसबीचमा विकासे मन्त्रालयमा बसेर पनि काम गरेको मेरो अनुभवले अर्थतन्त्र सुधार गर्न सक्ने उनले बताएका छन् । अर्थतन्त्र सुधारका लागि प्रतिबद्धता जाहेर गर्दैगर्दा मन्त्री पुनले राजस्व संकल बढाउने र सेयर बजार सुधारका लागि मुख्य दुई सन्देश दिएका छन् ।

राजस्वमा सुधारको सन्देश

पदभार ग्रहण गर्दै अर्थमन्त्री पुनले सरकारको राजस्व संकलनमा र खर्च व्यवस्थापनमा समेत रहेको समस्याको बारेमा आफू अवगत रहेको हुनाले समाधान गर्ने बताउँदै राजस्व संकलनमा जोड दिने सन्देश दिएका छन् । अहिले राजस्व संकलनमा केही चाप परेपनि १ महिनाभित्र राजस्व दोब्बर बनाउने उनले स्पष्ट सन्देश दिए । राजस्व संकलन र पुँजीगत खर्च न्यून भएकोमा मन्त्री पुनको मुख्य चासो देखिन्छ ।

महालेखा नियन्त्रक कार्यालयअनुसार चालू आर्थिक बर्षको फागुन २३ गतेसम्म सरकारको राजस्व र अनुदान संकलन ६ खर्ब ११ अर्ब ४४ करोड ३५ रूपैयाँ छ । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँभन्दा धेरै राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, अहिलेसम्म लक्ष्यको ४२.९८ प्रतिशतमात्र राजस्व संकलन भएको छ । सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेर ७ खर्ब ६० अर्ब ३८ करोड रुपैयाँ खर्च गरेको छ । सरकारको आम्दानी भन्दा खर्च १ खर्ब २४ अर्ब २४ करोड रपैयाँभन्दा धेरैले ऋणात्मक छ । यस्तोमा नवनियुक्त अर्थमन्त्री पुनलाई राजस्व संकलन बढाउनैपर्ने दबाब छ ।

सेयर बजारलाई सन्देश

यस्तै नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजारका ६० लाख लगानीकर्ताहरूको हित गर्ने गरी नीतिगत सुधार गर्ने बताएर सेयर लगानीकर्ता खुशी बनाउने सन्देश पनि प्रवाह गरेका छन् । उनले सेयर लगानीकर्ताको मनोबल उच्च बनाउन आफ्नो भूमिका रहने बताएका छन् । अर्थमन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री पुनले पुँजी बजारका ६० लाख लगानीकर्ताहरुको हित रक्षा र मनोबल बढाउन नितिगत सुधार गर्दै जाने बताउँदै सेयर लगानीकर्तालाई आश्वस्त पारेका छन् । सेयर बजारको सुधारका लागि संरचनात्मक सुधार गर्ने पनि उनले बताएका छन् । मन्त्री पुनले सेयर बजारका साथै घरजग्गाको कारोबारलाई समेत चलायमान बनाउने बताउदै सेयर बजारले पनि गति लिने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL