Logo

नेपालमा कति आयात हुन्छ दुग्धजन्य पदार्थ ? आयात रोकेपछि नेपालको उत्पादनले धान्ला ?

नेपालमा कति आयात हुन्छ दुग्धजन्य पदार्थ ? आयात रोकेपछि नेपालको उत्पादनले धान्ला ?



काठमाडौं । पछिल्लो समय नेपालमा उत्पादन भएको दूध र दूग्धजन्य परिकारहरु विक्री नभएको भन्दै किसान आन्दोलित बन्नुपर्ने अवस्था आएको छ । चितवनका धेरैजसो किसानले त बर्षाैँदेखि सडकमा दूध खन्याएरै यसको विरोध गर्ने गरेका छन् । उनीहरुको प्रमुख माग नै विदेशबाट आयात हुने दूधका कारण नेपाली उत्पादनले बजार पाएन र उचित मूल्य पाएन भन्ने नै हुन्छ ।

laxmi

सोही समस्यालाई समाधान गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तत्कालका लागि विदेशबाट दूध आयात रोक्न निर्देशन दिइसकेको छ । हुन त यसअघि करिव ४ बर्ष पहिल्यै नेपाल दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर भइसकेको घोषणा गरिएको थियो । तर, त्यसयता पनि विदेशबाट दूधजन्यपदार्थ लगातार आईरहेपछि नेपाली किसानहरु मर्कामा परिरहेका थिए ।

यता भन्सार विभागको तथ्यांक हेर्दा चालु आर्थिक बर्षको ७ महिनामा मात्रै नेपालले विदेशबाट खासगरी भारतबाट १ अर्ब ४८ करोड रुपैयाँ बराबरको दूध तथा दुग्धजन्य पदार्थ आयात गरेको देखिन्छ । नेपालमा उत्पादन हुने दुग्धजन्य पदार्थमध्ये धेरैजसो वस्तु भारतीय बजारबाटै आयात हुने गरेको तथ्यांकमा उल्लेख छ ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा नेपालले १९ करोड ९९ लाख रुपैयाँ बराबरको साढे ४ हजार लिटर दूधमात्रै आयात गरेको देखिन्छ । यस्तै यसै अवधिमा १ अर्ब १४ करोड रुपैयाँ बराबरको १२ लाख ७ हजार बढी किलो पाउडर दूध पनि आयात भएको विभागको तथ्यांकमा छ । विभागका अनुसार पछिल्लो ७ महिनामा नेपालले विदेशबाटै ३ करोड १७ लाख रुपैयाँ बराबरको बटर, ६ लाख ३२ हजार रुपैयाँ बराबरको घ्यु र २७ करोड ३३ लाख रुपैयाँ बराबरको चीज आयात गरेको देखिन्छ ।

यसरी विदेशबाट तीव्र रुपमा डेरीजन्य उत्पादनहरु आयात हुँदा नेपालका किसानहरुले आफुले उत्पादन गरेको उत्पादनको उचित मूल्य पाउनबाट बचेको बताउँदै आएका छन् । खासगरी सरकारले स्वदेशी डेरीजन्य उत्पादनको उचित बजार व्यवस्थापन र किसानलाई उचित राहत नदिँदा किसानहरु मर्कामा पर्ने गरेको नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल बताउँछन् । उनका अनुसार भारतीय बजारबाट आउने दुग्धजन्य पदार्थभन्दा नेपालको दुग्धजन्य पदार्थ अलि महंगो पर्छ । जसका कारण स्वतः डेरीहरु पनि उतैको उत्पादन खरिद गर्ने भएपछि नेपाली किसानले उत्पादन गरेको उत्पादनले उचित बजार नपाउने समस्या छ ।

त्यसमाथि नेपाली किसानले बर्षाैंदेखि विक्री गर्दै आएको दूधको भुक्तानी नपाउँदा पनि किसानहरु आन्दोलित बनेको उनको भनाई छ । ‘किसानहरुले हालसम्म आफुहरुले उत्पादन गरेको दूधको करिव ७ अर्ब रुपैयाँ भुक्तानी नपाएको गुनासो गरिराख्नुभएको छ,’ उनले भने, ‘यसैका कारण पनि वहाँहरु आन्दोलित हुनुभएको हो ।’

खासगरी नेपालमा कति दुग्ध पदार्थ खपत र उत्पादन हुन्छ निश्चित तथ्यांक कुनै निकायसँग छैन । यसैका कारण पनि भारतीय बजारबाट आयात हुने दुग्धजन्य पदार्थमा रोक लगाउन नसकिरहेको अवस्था थियो । तर, किसानहरु एकाएक आन्दोलित भएपछि तत्कालीन कृषिमन्त्री घनश्याम भुषालले विदेशबाट हुने दुग्धजन्य पदार्थको आयातमा प्रतिवन्ध लगाउन निर्देशन दिएका थिए । मन्त्रालयले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र पठाउँदै दूध, धुलो दूध, चीज, बटर, घ्युलगायतको आयातमा तत्कालका लागि प्रतिवन्ध लगाउन निर्देशन दिएको हो । यससँगै किसानलाई केहि राहत भएको एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल बताउँछन् ।

‘किसानहरुको अहिलको खास समस्या ने दूध उठेन वा दूधले बजार पाएन भन्ने नै हो,’ उनले भने, ‘भारतबाट आउने दूध बन्द भएपछि नेपाली किसानको दूध अब उठ्न सक्ला ।’ उनका अनुसार किसानको अर्काे भुक्तानीको समस्या पनि सरकारले नै चाँडै पूरा गरिदिन लागेको छ । अर्थात किसानहरुलाई सरकारी स्वामित्वको डिडिसीले नै सबैभन्दा बढी भुक्तानी गर्न बाँकी छ । त्यसका लागि सरकारले डिडिसीलाई केहि रकम कर्जा दिएर किसानको भुक्तानी प्रक्रिया अघि बढाउन लागेको छ । यता निजी क्षेत्रले भने बढीमा ३ देखि ४ महिनाको मात्रै भुक्तानी गर्न बाँकी रहेकाले त्यो रकम पनि केहि समयमै भुक्तानीको प्रक्रियामा जाने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL