Logo

गभर्नरले भने-बैंकहरु कसरी नाफाखोर र मिटरब्याजी भए ? अहिले बैंकिङ प्रणालीमाथि नै हमला भैरहेको छ

गभर्नरले भने-बैंकहरु कसरी नाफाखोर र मिटरब्याजी भए ? अहिले बैंकिङ प्रणालीमाथि नै हमला भैरहेको छ



काठमाडौं । पछिल्लो बैंकिङ प्रणालीमाथि एकीकृत रुपमा हमला भैरहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । पछिल्लो समय सडकदेखि सदनसम्म र उच्च राजनीतिक नेतृत्वले समेत वास्तविकता नबुझि हचुवाको भरमा बैंकलाई लक्षित गर्दै नाफाखोर र मिटरब्याजी जस्ता अभिव्यक्ति दिएको भन्दै यसले कुनै एक बैंकभन्दा पनि समग्र बैंकिङ प्रणाली नै धरासायी बनाउने काम भएको बताए ।

laxmi

‘म गभर्नर भएर आउँदा नेपालको बैंकिङ क्षेत्रले ३२ खर्ब लगानी गरेर ७० अर्ब कमाउने तर बैंकले अहिले ५० खर्ब लगानी गरेर पनि त्यति कमाउने अवस्था छैन । अनि बैंकहरु कसरी मिटरब्याजी भए ? कसरी नाफाखोर भए ?,’ बैंकर्स संघले आयोजना गरेको एक कार्यक्रममा उनले भने, ‘पछिल्लो समय वास्तविकतामा भन्दा पनि बैंकहरुमाथी गाली गर्ने कसरी धरासायी बनाउने भन्ने खालको सामाजिक समस्या सिर्जना भएको छ ।’

यसैगरी अहिले बैंक तथा वित्तीय क्षेत्रको सुचकांकहरु एकदमै राम्रो रहेको भन्दै बाहिर हल्ला गरिएजस्तो डुब्ने वा धरासायी हुने अवस्था नरहेको समेत उनले स्पष्ट पारे । अहिले बैंक तथा वित्तीय क्षेत्रको नेट एनपीए १.१३ प्रतिशत मात्रै रहेको भन्दै यसले डराउनुपर्ने अवस्था नरहेको उनको तर्क थियो । ‘अहिले खराब कर्जा बढेको होइन, बास्तविकता देखाइएको मात्रै हो त्यसले डराउनुपर्ने अवस्था छैन,’ उनले भने, ‘हामीले बैंक तथा वित्तीय संस्थाको सुक्ष्म ढंगबाट नियमन गरिरहेका छौं, कुनैपनि बैंकहरु डुब्ने अवस्थामा छैनन् ।’

अहिले विभिन्न नाममा अराजक शैलीमा बैंकिङ प्रणालीमाथि हमला भैरहेको भन्दै बैंक डुबेमा समग्र अर्थतन्त्र नै संकटमा जाने उनले जानकारी दिए । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रभन्दा पनि सहकारी र अनौपचारिक क्षेत्रका कारण अर्थतन्त्रमा समस्या सिर्जना भएको उनको तर्क थिथो । नेपालमा बैंक तथा वित्तीय संस्थाले १९ लाख नागरिकलाई मात्रै ऋण दिएको भन्दै वृहत्तररुपमा अघि अघि बढ्नुपर्ने बताए । साना ब्यवसायीसम्म बैंक पुग्न नसेककै कारण साना ऋणीदेखि किराना पसलहरु सहकारीमा आश्रित हुन पुग्दा त्यसले अहिले नकारात्मक नजिता दिएको उनको गुनासो थियो । ‘बैंक नपुगेपछि गाउँका किराना पसलेदेखि सामान्य नागरिकहरुले सहकारीमा निक्षेप राखे भने ऋण लिन पनि सहकारीमा गए,’ उनले भने, ‘अहिले सहकारीमा समस्या आउँदा अर्थतन्त्रमै समस्या जस्तो देखियो ।’

यसैगरी कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका सीईओ सुनिल केसीले बैंकहरुको वितरणयोग्य नाफा नेगेटिभ भैसकेको र उक्त क्रम अझै घट्ने बताए । ‘अहिले बैंकहरुको आरओई १० प्रतिशतभन्दा कम भैसकेकोले बैंकिङ क्षेत्रले चुनौतीको सामना गरिरहेको छ,’ उनले भने, ‘तर नाफाखोर, मिटरव्याजी जस्ता शब्द प्रयोग गर्दै बैंकहरु माथी सर्वत्र आक्रमण भैरहेको छ जुन एकदमै दुःखद हो ।’

विश्वव्यापी रुपमा व्याजदर घट्ने क्रममा रहेको र नेपालका बैंकको पनि घटेकाले अब अर्थतन्त्रमा सुधार आउनु पर्ने उनको तर्क थियो । साथै उनले नेपालका बैंकहरुको खराब कर्जा भने एसियाकै औसतभन्दा कम रहेको तथा नेपालका बैंकहरु दक्षिण एसियामै सबल र अब्बल अवस्थामा रहेको जानकारी दिए । तर, पछिल्लो समय नीति र प्रणालीबाट भन्दा पनि सडकबाट धेरै अनावश्यक दबाब आउन थालेकोले बैंकरहरुले तनाव झेल्नुपरेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL