Logo

दैनिक १ करोड बढी युनिट बिजुली भारतबाट आयात, प्रणालीमा अझै साढे १८ लाख युनिट अपुग

दैनिक १ करोड बढी युनिट बिजुली भारतबाट आयात, प्रणालीमा अझै साढे १८ लाख युनिट अपुग



काठमाडौं । सुक्खायाम सुरु भएसँगै नेपालमा विद्युत अभाव चर्किएको छ । भारतबाट आयात गरेर अपुग विद्युतको पूर्ति गर्न नेपाल विद्युत प्राधिकरणले प्रयास गरिरहेपनि विद्युतको अभाव पूरा गर्न अझै सकस देखिएको हो । हाल प्राधिकरणले दैनिक औसतमा साढे १० हजार मेगावाट आवर (एक करोड युनिट) विजुली आयात गरिरहेको छ । तर, पनि प्रणालीमा विजुली अपुग भइरहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार हाल प्रणालीमा दैनिक करिव १५ देखि २० लाख युनिट बिजुली अपुग हुँदै आएको छ ।

laxmi

प्राधिकरणका अनुसार हाल नेपालमा संचालित जलविद्युत आयोजनाबाट जम्मा २२ हजार ५६ मेगावाट आवर विजुली मात्रै उत्पादन भइरहेको छ । तर, प्रणलीमा बिजुलीको उच्चतम माग भने ३४ हजार ६ सय बढी मेगावाट आवर छ । यसरी अपुग भएको बिजुलीको मागलाई पुर्ति गर्न नेपाल विद्युत प्राधिकरणले भारतबाट बिजुली आयात गर्ने गरेको छ । खासगरी नेपालमा संचालित प्राय आयोजनाहरु नदीप्रवाही (रन अफ रिभर)मा आधारित भएकाले नदीहरुमा पानीको वहाब बढेको बेला बढी विद्युत उत्पादन हुन्छ भने बहाव कम हुँदा विद्युत उत्पादन कम हुन्छ । बर्खायाममा बढी बर्षा हुँदा यी आयोजनाबाट नेपाललाई आवश्यकभन्दा बढी बिजुली उत्पादन हुन्छ र प्राधिकरणले भारतमा बिजुली बेच्छ । तर, सुक्खायाममा भने नदीहरु सुक्दै गएसँगै बिजुली उत्पादन पनि घट्छ । जसका कारण नेपालकै मागलाई पनि धान्न भारतबाट पुनः बिजुली आयात गर्नुपर्छ ।

यसैका कारण पनि नेपालमा बिजुलीको कुल उत्पादन क्षमता २ हजार ७ सय मेगावाट माथि पुगिसकेपनि हिउँदमा भने भारतको भर पर्नुपर्ने अवस्था रहेको छ । जाडो महिना लागेपछि नेपालमा संचालित नेपाल विद्युत प्राधिकरण मातहतका आयोजनाबाट दैनिक करिव ६ हजार ७ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ । यस्तै प्राधिकरणकै सब्सिडियरी आयोजनाहरुबाट ३ हजार २ सय र स्वतन्त्र उर्जा उत्पादकका आयोजनाबाट सबैभन्दा बढी १२ हजार बढी मेगावाट आवर बिजुली उत्पादन भइरहेको छ ।

यसरी अपुग भएको बिजुलीमध्ये करिव १० हजार मेगावाट बिजुली भारतबाट आयात गरिँदै आएको प्राधिकरणले जानकारी दिएको छ । तर, आयात गरिएको र नेपालमा उत्पादित बिजुली पनि कम हुँदा प्रणालीमा अझै १८ सय मेगावाट आवर बिजुली कम छ । जसका कारण केहि उद्योगहरुका पिक आवरमा बिजुली आपुर्ति गर्न नसकिएको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

तर, प्राधिकरणले हाल आवश्यकजति बिजुली भारतबाट नल्याएको आरोप उद्योगीले दिने गरेका छन् । औद्योगिक क्षेत्रतिरका विद्युत कार्यालयहरुले सूचना नै जारी गरेर नेपालमा विद्युत उत्पादन कम भएकाले बिजुलीको खपत पनि घटाउन निर्देशन दिएर सूचना जारी गर्ने गरेका एक उद्योगीले बिजखबरलाई बताए । प्राधिकरणले धेरै बिजुली आयात गर्दा आफु घाटामा जाने भन्दै बिद्युत आयात नै कम गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL