Logo

पर्यटक भित्र्याउन ‘घुमौं सौराहा’ अभियान, चीन र भारतमा पनि अभियान चलाइने

पर्यटक भित्र्याउन ‘घुमौं सौराहा’ अभियान, चीन र भारतमा पनि अभियान चलाइने



काठमाडौँ । चितवनको सौराहामा पर्यटक बढाउन यहाँ व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने भएका छन् । पछिल्लो समय सौराहा घुम्न आउने पर्यटक बढेसँगै व्यवसायीले थप पर्यटक भित्र्याउन अभियान चलाउने तयारी गरेका हुन् ।

laxmi

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले ‘घुमौँ सौराहा’ अभियान लिएर पश्चिम नेपालका विभिन्न ठाउँमा जाने तयारी गरिएको जानकारी दिए । उनले भने, ‘पछिल्लो समय सौराहा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि भएको छ, थप पर्यटक ल्याउन अभियान चलाउने तयारीमा छौँ’, उनले सौराहामा आउने चिनियाँ र भारतीय पर्यटकको संख्या समेत उल्लेख्य रहेको भन्दै यी दुई देशमा समेत अभियान चलाइने बताए ।

‘यो समयमा पनि ६० देखि ६५ प्रतिशत पर्यटक छन्, अघिल्लो बर्षको तुलनामा ५० प्रतिशत बढि पर्यटक घुम्न यहाँ आएका छन्’, उनले भने । चीन र भारतसँगै तेस्रो मुलुकबाट पनि सौराहा घुम्न आउने पर्यटकको संख्या बढेको छ । सन् २०२३ मा तीन लाख पर्यटक सौराहा भित्रिएकामा सन् २०२४ मा तीन लाख ५० हजार पर्यटक भित्र्याउने योजना रहेको अध्यक्ष गिरीले बताए ।

उनले जिप सफारी, हात्ती सफारीलगायतका कार्यक्रमहरू भएपनि राष्ट्रिय निकुञ्जमा एउटा मात्रै जिप सफारीको रुट हुँदा पर्यटकलाई नयाँ गन्तव्य देखाउन नसकिएको बताए । सरकारले निकुञ्जमा अन्य रुट पनि खुला गरिदिए पर्यटकको लागि राम्रो हुने गिरीको भनाइ छ । नेपालको सडक पूर्वाधार राम्रो नहुँदा पर्यटकको संख्या बढ्न नसकेको र हवाई यातायात पनि महँगो भएको अध्यक्ष गिरीको गुनासो थियो । उनले पर्यटकमा वृद्धि भएसँगै सौराहाको पर्यटन पुरानै लयमा फर्कने आशा पलाएको बताए ।

क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष दीपक भट्टराईले सौराहामा चिनियाँ र भारतीय पर्यटक बढेपछि उत्साह थपिएको बताए । ‘यसरी नै पर्यटकको संख्या बढ्दै जाने हो भने व्यवसायबाट पलायन हुनुपर्दैन’, उनले भने, ‘थप लगानी र सम्भावनाका ढोका खुल्दै जान्छन् । देशभित्रका सडक समयमै निर्माण नहुँदा पर्यटकको बसाइ लम्ब्याउन सकिएको छैन ।’ सौराहामा पर्यटन आगमनमा वृद्धि भए पनि व्यवसायीले नयाँ गन्तव्य र वाह्य पर्यटकको बसाई थप गर्न सक्नुपर्ने उनले बताए । पर्यटकको बसाई लम्ब्याउनको लागि राष्ट्रिय निकुञ्जले एक पटक काटेको टिकट एक दिनको लागि मात्रै अनुमति दिने विषयमा परिमार्जन गरी पाँचदेखि सात दिनसम्मको लागि बनाउनुपर्ने बताए ।

सौराहाका रेष्टुराँमा विभिन्न खानाको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको रेवानका सौराहाका अध्यक्ष धु्रव गिरीले बताए । उनले सौराहामा सबै व्यवसायी मिलेर घुमौ सौराहा अभियान चलाउने तयारी गरिएको जानकारी दिए । ‘प्रणय दिवसको अवसर पारेर रेवानले सौराहामा फुड फेष्टिबलको आयोजना गर्दैछ’, उनले भने, ‘हामी धरै पर्यटक ल्याउने गरी तयारी गरिरहेका छौँ ।’ उनले नेपाल र भारतको सीमावर्ती क्षेत्रमा बढी प्रचारप्रसार गरेर पर्यटकलाई सौरहा आउन निम्ता दिइने बताए ।

सौराहाका होटल व्यवसायी माधव दुवाडीले अहिले २०१९ लाई बिर्सने गरी सौराहामा पर्यटकको आगमन भइरहेको बताए । उनले पर्यटक आगमन वृद्धि भएसँगै सौराहाका होटल व्यवसाय फस्टाएको बताए । उनले सौराहामा कार्यक्रम र सभा सम्मेलन गर्ने गतिविधि वृद्धि भइरहेको बताए ।

सौराहामा मात्र साना–ठूला गरी एक सय ४१ होटल छन् । दैनिक छ हजार चार सय २६ पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । यहाँ नयाँ होटल पनि खुल्ने क्रम जारी छ । यहाँ झण्डै दुई सय रेष्टुराँ छन् । रेवानमा मात्रै आबद्ध ६५ रेष्टुराँ आबद्ध छन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटकको मुख्य उद्देश्य रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL