Logo

दोहोरो ट्रयापमा बैंकर : न उठाउन सक्छन् ऋण, न बढ्छ लगानी

दोहोरो ट्रयापमा बैंकर : न उठाउन सक्छन् ऋण, न बढ्छ लगानी



काठमाडौं । लामो समयको आर्थिक मन्दीको कारण बैंकर दोहोरो ट्रयापमा परेका छन । कर्जा लगानी नबढ्दा र बजारमा गएको लगानी उठाउन नसक्दा बैंकरहरु समस्यामा परेका हुन । केहि वर्ष अगाडि बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा लगानी अहिले उठाउन सकेका छैनन् भने, एक वर्षयता बैंकले कर्जा लगानी पनि बढाउन सकेका छैनन् । जसको कारण अहिले बैंकरहरु दोहोरो दवाबमा परेका हुन ।

laxmi

पुस मसान्त नजिकिरहँदा बैंकहरुको मुख्य ध्यान कर्जा असुलीमा रहेको छ । तर, अर्थतन्त्रमा लामो समयदेखि आएको मन्दीको कारण उद्योग व्यवसाय धराशायी हुन पुग्दा कर्जा असुलीमा सकस भैरहेको सम्बद्ध बैंकहरु बताउँछन् । बैंकले आफ्नो लगानी उठाउन नसक्दा दिनदिनै पत्रपत्रिकामा लिलामीको सूचना निकालीरहेका छन । केहीसमय अगाडि नबिल बैंकले गैर बैंकिङ सम्पति बिक्रीका लागि भन्दै ५२ ठाउँको जग्गा लिलामीको सूचना निष्कासन गरेको थियो । यसैगरी, एनआईसी एसिया बैंकले पनि बिभिन्न ७२ ठाउँको जग्गा बिक्रीमा राखेको छ । यी दुई बैंक उदारणमात्र हुन । प्रायः सबैजसो बैंकको अहिलेको अवस्था यस्तै रहेको छ ।

बैंकहरुले लगानी उठाउन नसक्दा धमाधम धितो लिलामी गर्दै आफै बेच्न लागिपरेका छन् । तर, बैंक आफैले पनि लिलामीमा राखेको जग्गा बेच्न नसकेको एक बैंकर बताउँछन । लिलामीमा राखेको सम्पति बेच्न नसक्दा बैंकले एउटै सूचना पत्रपत्रिकामा पटक–पटक निकाल्ने गरेका छन् । ‘अर्थतन्त्रमा सुधार हुँदा घरजग्गाको मूल्य उच्च रुपमा बढ्न पुग्यो र सोही मूल्यलाई आधार मानेर बैंकहरुले धितो राखे,’ एक बैंकरले भने, ‘अहिले ती जग्गाको मूल्य ३० प्रतिशतभन्दा बढीले सस्तिएको छ जसका कारण पुरानो मूल्यमा कसैले पनि खरिद गर्न चाहँदैनन् ।’

यसैगरी, बैंकहरुले गत आर्थिक वर्ष देखि यता कर्जा लगानी पनि बढाउन सकेका छैनन् । गत आर्थिक वर्ष नेपाल राष्ट्र बैंकले १२.०५ प्रतिशत कर्जा लगानी गर्ने लक्ष्य राखेको थियो । तर, बैंकहरुले ४ प्रतिशतको हाराहारीमा मात्र कर्जा लगानी गरेका छन् । यसैगरी, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ११.०५ प्रतिशत राखेको छ । तर, कात्तिकसम्म राष्ट्र बैंकले २ प्रतिशतको हाराहारी मात्र कर्जा लगानी भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल बैंकिङ क्षेत्रमा ६० खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यता यस अवधिसम्म कर्जा लगानी ५० खर्ब ३६ अर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंकको नियमअनुसार ९० प्रतिशतको सीमामा रहेको बैंकको कर्जा निक्षेप अनुपात ७९.९६ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सीडी रेसियोको तथ्यांक अनुसार हाल बैंक तथा वित्तीय संस्थाले निक्षेपको १०.०४ प्रतिशत कर्जा लगानी गर्न पाउने अवस्था रहेको देखिन्छ । बैंकहरुले सीडी रेसियो अनुसार ६ खर्बभन्दा धेरै पैसा कर्जा लगानी गर्न सक्छन ।

बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्न नसक्दा र गरेको लगानी फिर्ता गर्न नहुँदा त्यसको असर बैंकहरुले सार्वजनिक गर्ने त्रैमासिक वित्तीय विवरणमा देखिन थालेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण बैंक तथा वित्तीय संस्थाले केहि दिनमा नै सार्वजनिक गर्दैछन । उक्त वित्तीय विवरणमा अधिकांस बैंक तथा वित्तीय संस्थाको नाफा घट्ने र खराब कर्जा बढ्ने सम्भावना रहेको बैंकिङ क्षेत्रका विज्ञहरुको दावी छ । कर्जा लगानी बढ्न नसक्नुको कारण पछिल्लो समय बैंकहरु लगानी गर्नतर्फ भन्दा लगानी उठाउन तर्फ केन्द्रित भएको बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका कार्यकारी अधिकृत (सिईओ) सुनिल केसी बताउँछन । ‘अहिले केही बैंक कर्जा दिन भन्दा उठाउनतर्फ केन्द्रित भएका छन,’ उनी भन्छन, ‘बैंकहरुको एनपीए बढिरहेको छ, पुस मसान्तमा एनपीए घटाउन बैंक व्यवस्थापनमा लागिपरेका छन ।’ बैंक वासलात मिलाउन लागिपरेको कारण पनि कर्जा लगानी पहिलेको तुलनामा केही कम भएको केसीको बुझाई छ ।

अहिलेको अवस्थामा बैंकहरुले लगानी नै विस्तार गर्न नसकेको भन्ने कुरा गतल रहेको सानिमा बैंकका कार्यकारी अधिकृत निश्चलराज पाण्डे बताउँछन । बैंकहरुको ध्यान रिकभरीतर्फ बढी केन्द्रित रहेको पाण्डेको बुझाई छ । ‘आर्थिक वर्ष सुरु भएको पहिलो र दोस्रो त्रैमासमा यसभन्दा अघिल्लो आर्थिक वर्षमा पनि कर्जा लगानी कम हुन्थ्यो,’ उनी भन्छन, ‘यस वष पनि दोस्रो त्रैमास सकिन केहि दिन बाँकी छ, भने कर्जा लगानी बढ्ने समयपनि बाँकी नै छ ।’ चालु आर्थिक वर्षको बाँकी दुई त्रैमासमा कर्जा लगानी बढ्ने पाण्डेको दावी छ ।

किन उठेन लगानी ?

बैंक तथा वित्तीय संस्थाले गरेको लगानी उठ्न नसक्नुको कारण अर्थतन्त्रमा देखिएको मन्दी रहेको सम्बद्ध जानकारहरु बताउँछन । नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार अहिले आर्थिक क्षेत्रका सबैतिर मन्दी छाएको छ । सिमेन्ट, डन्डीलगायतका वस्तुहरुको उत्पादन घट्दो छ भने बजारमा यस्ता वस्तुको माग पनि छैन । निर्माण व्यवसायीले समयमा भुक्तानी नपाउँदा निर्माणको काम पनि ठप्प भएको छ । यसैगरी, चालु आर्थिक वर्षको ६ महिना बित्न लागिसक्दा पनि पुँजीगत खर्चको सीमा बढेको छैन भने सरकारले खर्च गर्न नसक्दा आयोजनाको कामहरु ठप्प बनेको छ । जसको कारण व्यवसायी तथा उधोगीले समयमा बैंकको किस्ता भुक्तानी गर्न नसकेको अवस्था । ‘बैंकको धेरै कर्जा घरजग्गा कारोबारमा गएको छ,’ एक अर्थविज्ञ भन्छन, ‘अहिले घरजग्गाको कारोबार सुस्त भएको छ, जसका कारण बैंकको लगानी उठ्न सकेको छैन ।’

खराब कर्जाको समस्या

पछिल्लो केही समययता बैंकहरुले कर्जा उठाउन नसक्दा बैंकहरुको निष्कृय कर्जा (एनपिएल) बढ्दो अवस्थामा रहेको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तमा बैंकहरुको खराब कर्जाको रेसियो औसत ३.६६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकिङ क्षेत्रको औसत खराब कर्जा अनुपात ३.०२ प्रतिशत रहेकोमा थियो । पुस मसान्तसम्म आउँदा बैंकको खराब कर्जा औसत अझ बढ्न सक्ने सम्भावना रहेको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक थापा बताउँछन । तर, राष्ट्र बैंकको नीतिका कारण बैंकहरुले खराब कर्जाको अनुपात केही व्यवस्थापन गर्ने उनको बुझाई छ । ‘खराब कर्जा बढ्नु भनेको बैंकिङ क्षेत्रको अवस्था बिग्रदै गइरहेको छ भन्ने सन्देश हो,’ उनी भन्छन, ‘यसकारण बैंकहरुले सकेसम्म आफ्नो वित्तीय सूचकहरु व्यवस्थापन गरेर सार्वजनिक गर्छन ।’

यसैगरी, नेपाल राष्ट्र बैंकले दिएको सुविधाको कारण आगामी त्रैमासिक रिर्पोटमा नै बैंकको खराब कर्जा धेरै नबढ्ने एक बैंकर बताउँछन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत चैत महिना मसान्तसम्म कर्जा पुनर्संरचना गर्ने व्यवस्था गरेको छ । जसको कारण उक्त अवधिसम्म बैंकहरुको खराब कर्जा बढ्न नसक्ने ती बैंकरको बुझाई छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षामार्फत ५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सकिने व्यवस्था गरेको छ ।

कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाका लागि परिस्थितिवश समस्यामा परेका ११ वटा व्यावसायिक तथा औद्यौगिक क्षेत्रसमेत केन्द्रीय बैंकले छुट्याएको छ । जसका कारण बैंकहरुको खराब कर्जा अपेक्षाभन्दा कमले मात्र बढ्ने ती बैंकरको भनाई छ । ‘खराब कर्जा ५ प्रतिशतभन्दा बढी हुँदा राम्रो नमानिने राष्ट्र बैंकको व्यवस्था छ’ ती बैंकर भन्छन, ‘यस्तो कर्जा व्यवस्थापनको लागि अहिले नै बैंकले प्रोभिजनमा धेरै पैसा छुट्याइरहेका छन ।’ थप खराब कर्जा बढ्यो भने यसलाई व्यवस्थापन गर्न बैंकरलाई झन् चुनौती थपिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL