Logo

ग्लोबल इक्विटीको ५० करोडको कोष स्थापना, महिला उद्यमीलाई ५ करोडसम्म पुँजी उपलब्ध

ग्लोबल इक्विटीको ५० करोडको कोष स्थापना, महिला उद्यमीलाई ५ करोडसम्म पुँजी उपलब्ध



काठमाडौं । ग्लोबल ईक्विटी फण्डले ५० करोड रुपैयाँको ‘नेपाल वोमेन ग्रोथ इक्विटी फण्ड’ संचालनमा ल्याएको छ । वित्तीय सेवाको पहुँच पुर्याएर महिला उद्यमीलाई माथि उकास्ने उद्येश्यले कम्पनीले युएसएडको ट्रेड एण्ड कम्पिटिटिभनेसको प्राविधिक सहयोगमा यो कोष सुरु गरेको हो । महिला उद्यमीलाई लक्षित गरी घोषणा गरिएको यो नेपालको पहिलो इक्वीटी फण्ड भएको कम्पनीले जानकारी दिएको छ ।

laxmi

ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा. मनिष थापाले उक्त कोषबाट महिला उद्यमीलाई न्युनतम ५० लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म व्यवसायको आवश्यकताअनुसार उद्यममा लगानी गरिने बताए । यसका लागि फण्डले ४ मापदण्ड तोकेको छ । तयसमध्ये उद्यमशिलतामा ५१ प्रतिशत महिलाको स्वामित्व रहेको वा महिलाहरुद्वारा स्थापित व्यवसाय हुनुपर्ने उल्लेख छ ।

यस्तै नेतृत्वदायी भूमिकाको मापदण्डमा पनि ३० प्रतिशत महिला व्यवस्थापकीय पदमा हुनुपर्ने मापदण्ड तोकिएको छ । खासगरी यो फण्डमार्फत लगानी गर्नका लागि उद्यममा महिला नेतृत्व हुनैपर्ने बताईएको छ ।

महिला आर्थिक सशक्तिकरणले समाजको लागि ठुलो रुपान्तरण गर्ने र महिला उद्यमीहरुले रोजगारी सिर्जना गरी आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने फण्डका अध्यक्ष मनिष खेम्काले बताए । उनका अनुसार महिलाको नेतृत्वमा भएका व्यवसायहरुले धेरै महिलालाई रोजगारी दिन सक्दछन् ।

फण्ड घोषणा कार्यक्रममा अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसन मिक्सले अमेरिकी सरकार र नेपालको निजी क्षेत्रले नेपालमा उद्यमीहरुलाई प्रवद्र्धन गर्न तथा नेपालको आर्थिक विकासमा कसरी सघाईरहेको छ भन्ने हेर्नको लागि यो फण्ड उदाहरणीय रहेको बताए ।

उनले उक्त फण्डले उद्यमीहरुले पुँजी जुटाउन भोग्नु परेको समस्या समाधान गर्ने बताए । यस्तै नेपाल प्राईभेट इक्विटी एसोसिएसनका अध्यक्ष सिद्धान्तराज पाण्डेले यो सहकार्यले महिला उद्यमीहरुलाई मार्केट लिडर बन्न सघाउने बताए । यो फण्डबाट राइनो नेपाल लेदर क्राफ्ट, एन्जल फर्टीलिटी क्लिनिक र ट्रान्क्विलिटी स्पासँग लगानी आशयपत्रमा हस्ताक्षर भएको छ । यी तीन कम्पनीमा करिव १० करोड बराबरको लगानी हुने फण्डका प्रवन्ध निर्देशक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL