Logo

ज्यूँदै मान्छेलाई भट्टीमा जलाउने आलमको मुद्दामा अन्तिम सुनुवाइ जारी, के आउँला फैसला ?

ज्यूँदै मान्छेलाई भट्टीमा जलाउने आलमको मुद्दामा अन्तिम सुनुवाइ जारी, के आउँला फैसला ?



काठमाडौं । रौतहटमा बम विष्फोट गरी सामुहिक नरसंहार मच्चाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ ।

laxmi

रौतहट जिल्ला अदालतले आलमको मुद्दामा फैसला केन्द्रित सुनुवाइ सुरु गरेको हो । जिल्ला न्यायाधीश बाबुकाजी बानियाको इजलासमा इजलास चलिरहेको छ । आइतबारदेखि आलमको मुद्दामा अन्तिम बहस सुरु भएको हो । सुरुमा पीडितका तर्फबाट बहस भएको थियो ।

मंगलबार सरकारी पक्षले पनि बहस थालेको छ । वुधबार सरकारी पक्षको बहस सकिने जनाइएको छ । सरकारी पक्षको बहस सकिए जवाफी बहस सकेर फैसला सुनाउने अदालतको तयारी छ । जिल्ला अदालत रौतहटका श्रेस्तेदार उद्धव ढोडारीले केही दिनदेखि उक्त मुद्दामा बहस चलिरहेको र सबैको बहस सकिएपछि यही हप्ताभित्र फैसला सुनाउने तयारी रहेको जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता बद्रीकुमार कार्कीको नेतृत्व आलमलाई सफाइ दिन नमिल्ने दाबीसहित सरकारी पक्षले बहस गरेको थियो । पीडितका तर्फबाट वहस गर्न काठमाडौबाट केही अधिवक्ताहरु पुगेका छन् । अधिवक्ता पुष्प पौडेलसहितका केही अधिवक्ताहरुले वुधबार बहस गर्दै छन् । उनीहरुले आलमलाई सर्वस्वसहित जन्मकैद हुनुपर्ने माग गर्ने छन्ण् ।

२०६४ सालको संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विष्फोट भएको थियो । उक्त घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेपछि आलमविरुद्ध अदालतमा मुद्दा पुगेको थियो । आलमले २०६४ सालको संविधान सभा निर्वाचनको नतिजालाई आफ्नो पक्षमा पार्न बम विस्फोट गराउने योजना बनाएको र त्यसका लागि बम बनाउँदै गर्दा विष्फोट भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । बम विष्फोटको घटना सार्वजनिक हुने भयका कारण आलमले उक्त विष्फोटमा घाइते भएकाहरुलाई ज्यूँदै इँटाभट्टामा जलाएर मारेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

उक्त मुद्दामा २९ कात्तिक २०७६ मा थुनछेक आदेश सुनाउँदै रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेशविरुद्ध आलमले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए । उच्च अदालत वीरगञ्जले २०७६ माघ २४ गते जिल्लाको आदेश नै सदर गरेको थियो । आफूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतले पनि सदर गरेपछि आलम सर्वोच्च पुगेका थिए । सर्वोच्चले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो । सर्वोच्चले अदालतले गत वैशाख २३ गते धरौटीमा रिहा हुनुपर्ने माग अस्वीकार गरेपछि अन्तिम सुनुवाइको वाटो खुलेको थियो ।

आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थसम्बन्धी कसुरमा ४५ वर्ष कैद सजाय माग दाबी गर्दै अभियोगपत्र दायर भएको थियो । त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको कर्तब्य गरी ज्यान मारेको तथा बम विस्फोट गराएको अभियोग आलममाथि छ । आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराइ घाइते बनाएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL