Logo

डब्लूएचओको क्षेत्रीय निर्देशकमा नेपाल पराजित, आठ मत प्राप्त गरेर बंगलादेशकी प्रधानमन्त्रीकी छोरी बनिन निर्देशक

डब्लूएचओको क्षेत्रीय निर्देशकमा नेपाल पराजित, आठ मत प्राप्त गरेर बंगलादेशकी प्रधानमन्त्रीकी छोरी बनिन निर्देशक



काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित भएकी छिन् । नयाँदिल्लीमा बुधबार भएको निवार्चनमा नेपालका उम्मेदवार शम्भुप्रसाद आचार्यलाई पराजित गर्दै वाजेद निर्वाचित भएकी हुन् ।

laxmi

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको छोरीसमेत रहेकी उनले ८ मत प्राप्त गरेकी थिइन् भने आचार्यले २ मत प्राप्त गरेका थिए । नेपालले डब्लूएचओमै कार्यरत शम्भुप्रसाद आचार्यलाई निर्देशकको उम्मेदवार बनाएको थियो ।

डब्लूएचओको दक्षिण–पूर्वी एसियाको कार्यालय दिल्लीमा छ र यसअन्तर्गत ११ देश सदस्य छन् । सबै देशका स्वास्थ्यमन्त्रीहरू क्रमशः क्षेत्रीय अध्यक्ष हुने व्यवस्था भएपनि क्षेत्रीय निर्देशकको पद भने सदस्य राष्ट्रबीचको मतदान वा सहमतिबाट चुनिने गरिएको छ । अहिले क्षेत्रीय निर्देशक पदमा भारतका डा. पुनम खेत्रपाल सिंह छिन् ।

डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भुटान, उत्तर कोरिया, भारत, बंगलादेश, इन्डोनेसिया, माल्दिभ्स, म्यान्मार, श्रीलंका, थाइल्यान्ड र टिमोर लिस्टे छन् । ११ सदस्य राष्ट्रहरूमध्ये यसपटक म्यान्मारले मत दिन पाएन । सैनिक शासन रहेको र संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले म्यान्मारले मतदान दिन नपाएको हो ।

सदस्य देशका स्वास्थ्यमन्त्री मतदाता हुने हुनाले नेपालबाट स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वको टोली हाल दिल्लीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL