Logo

दक्षिण कोरियालाई पूर्वाधारका क्षेत्रमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह, दुवैलाई फाइदा पुग्ने प्रोजेक्टमा लगानी गर्ने सुको भनाइ

दक्षिण कोरियालाई पूर्वाधारका क्षेत्रमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह, दुवैलाई फाइदा पुग्ने प्रोजेक्टमा लगानी गर्ने सुको भनाइ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

९ पुस, काठमाडौं । अर्थमन्त्री डा रामशरण महत र दक्षिण कोरियाका राष्ट्रिय सभाका अध्यक्ष सुङ हि सुको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीबीच द्विपक्षीय हितका बिषयमा छलफल भएको छ ।
भेटमा अर्थमन्त्री डा महतले दक्षिण कोरियाको आर्थिक क्षमता राम्रो भएकोले नेपाललाई सहयोग बढाउन आग्रह गरेका छन् । ‘कोरियाले एक्जिम बैंकमार्फत नेपाललाई उपलब्ध गराउदै आएको सहयोग कम छ,’ उनले भने, ‘एउटा शुभेच्छुकका हैसियतले कोरियाले नेपाललाई सहयोग बढाउनु पर्छ ।’

अहिले नेपालले छिटो प्रतिफल दिने परियोजनाहरुमा सहयोगलाई सदुपयोग गर्न चाहेको बताउँदै अर्थमन्त्री डा महतले नेपालको प्राथमिकताका आयोजनाहरुमा सहयोग बढाउन कोरियािलाई आग्रह गरेका हुन् । नेपालले विशेषगरी सडक, उर्जा र जलविद्युत जस्ता पूर्वाधारका क्षेत्रमा लगानी बढाइरहेको र यही क्षेत्रमा बढी साधन र स्रोतको खाँचो भएको पनि उनको भनाइ थियो ।

उनले नेपालले कृषि, पर्यटन र जलविद्युतको द्रुत विकास गरी विकासशील मुलुकको दाँजोमा पुग्नेगरी यी क्षेत्रमा लगानी बढाइरहेको जानकारी समेत गराएका थिए । साथै, भेटमा अर्थमन्त्री डा महतले कोरियाका लगानीकर्ताहरुलाई नेपाल सरकारले ठूलो महत्वका साथ अगाडि सारेको निजगढको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लगानी गर्न आग्रह गरेका गरेका छन् । ‘नेपालले विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्ने नीति लिएको छ,’ उनले भने, ‘त्यसैले तपाईहरु मार्फत म कोरियाका लगानीकर्ताहरुलाई पनि नेपालको विद्युत उत्पादन तथा विमानस्थल जस्ता पूर्वाधारका क्षेत्रमा लगानी गर्न आग्रह गर्न चाहन्छु ।’ साथै, भेटमा नेपालमा हिन्दु र बौद्धको नमूना सम्मिलन भएको र नेपाल पर्यटकीय दृष्टिले आकर्षक गन्तब्यस्थल भएको चर्चा गर्दै अर्थमन्त्री डा महतले नेपाल भ्रमण गर्न पनि आग्रह गरेका छन् ।

दक्षिण कोरियाको राष्ट्रिय सभाका अध्यक्ष सुले नेपालले पर्यटन क्षेत्रको विकासबाट लाभ लिने विश्वास व्यक्त गरेका थिए । कोरियाली लगानीकर्ताहरु नेपालको विकास निर्माणका क्षेत्रमा आउन चाहेको उल्लेख गर्दै उनले दुबै पक्षलाई लाभ पुग्ने क्षेत्रमा काम गर्नुपर्ने बताए । कोरियाले ६० को दशकमा लागू गरेको योजनावद्ध विकासले संसारको १२ औं ठूलो अर्थतन्त्रको रुपमा उदाएको जानकारी दिदै उनले नेपालले पनि योजनावद्ध विकास गरी छिटै समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे । ‘विकासका लागि संसारमा नाम चलेका र कामले सिद्ध भएका परामर्शदाताहरुको सहयोग लिनु पर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL