Logo

अनुदानको बीउबाट राम्रो उत्पादन नहुँदा किसान चिन्तित

अनुदानको बीउबाट राम्रो उत्पादन नहुँदा किसान चिन्तित



काठमाडौं । चितवनको खैरहनी नगरपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको धानको बीउबाट राम्रो उत्पादन नभएपछि किसान चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा ७५ प्रतिशत कमी हुने देखिएपछि यस क्षेत्रका किसान चिन्तित बनेका हुन् ।

laxmi

खैरहनी नगरपालिका–९ का रवीन्द्र पाठकले अहिले धानको उत्पादनले घाटा मात्रै बेहोर्नु परेको बताए । उनले भने, ‘अघिल्ला वर्षहरुमा एक कट्ठामा चार मुरीसम्म धान फलेको थियो । अहिले एक कट्ठामा एक मुरी मात्रै फलेको छ ।’

नगरपालिकाले ५० प्रतिशत अनुदानमा साँवा मन्सुली धानको बीउ उपलब्ध गराएपछि त्यही धान लगाएको जनाउँदै उनले भने, ‘यस वर्षको उत्पादनले खान त पुग्ला । जोत्ने, गोड्ने, काट्ने खेतालालाई कसरी तिर्ने ।’ आफूले तीन बिघा चार कट्ठा क्षेत्रफलमा साँवा मन्सुली धान लगाएको बताउँदै उनले आफू मात्रै नभएर अनुदानको धानको बीउ रोप्ने सबै किसान मर्कामा परेको गुनासो गरे । पालिकाले अनुदानमा दिएको धानको बीउ माटो सुहाउँदो छ÷छैन भन्ने बुझेरमात्र गर्नुपर्नेमा त्यस्तो नहुँदा समस्या आएको उनले बताए ।

अघिल्ला वर्षहरुमा सावित्री धान लगाउने गरेका पाठकले अहिले धानको बीउमा परिवर्तन गर्नुभएको हो । यस पालिकामा अनुदानमा चार हजार दुई सय किलो धानको बीउ वितरण गरिएको थियो । ७० हेक्टर क्षेत्रफललाई पुग्ने अनुमानका साथ बीउ वितरण गरिएको भए पनि उत्पादन आशा गरे अनुसारको नभएको कृषि शाखाका प्रमुख गौरव न्यौपानेले बताए।

सङ्घीय सरकारको बजेटमा अनुदानमा बीउ वितरण गरिएको भए पनि त्यस बीउबाट फल राम्रो लाग्न नसकेको उनले बताए । उनले भने, ‘सरकारले बनाएको डेसिसमार्फत धान खरिद गरी किसानलाई उपलब्ध गराएका हौँ ।’ यस धानमा ९० प्रतिशतमा रोग र किराको प्रकोप देखिएको उनले बताए । सित ब्लाइट, सित रट, गवारो, ब्याक्टेरियल प्यानिगल ब्लाइट (दाना डडुवा) जस्ता समस्या देखिएकाले पनि धान उत्पादनमा कमी आएको हुन सक्ने अनुमान गरिएको उनले जानकारी दिए ।

अनुदानमा दिइएको धानमा दुई सय ४५ टन उत्पादन हुने अनुमान गरिएको भए पनि २० देखि ३० प्रतिशतमात्र उत्पादन भएको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL