Logo

यातायात व्यवसायीबीचको द्धन्द्धले अन्यौलमा अग्रिम टिकट बुकिङ, दशैंभर सबै गाडीलाई फ्रि पर्मिटको व्यवस्था गर्न सुझाव

यातायात व्यवसायीबीचको द्धन्द्धले अन्यौलमा अग्रिम टिकट बुकिङ, दशैंभर सबै गाडीलाई फ्रि पर्मिटको व्यवस्था गर्न सुझाव



काठमाडौं । घटस्थापनाको करिव १५ दिन अगावै खुलाइसक्नुपर्ने अग्रिम टिकट बुकिङको टुंगो यसपटक अझै लाग्न सकेको छैन । यातायात व्यवस्था विभागले विभिन्न चरणमा सार्वजनिक यातायातसम्बद्ध व्यवसायीहरुलाई बैठकमा बोलाउँदा व्यवसायी व्यवसायीबीच नै द्धन्द्धका कारण दशैंका लागि अग्रिम टिकट बुकिङ अन्यौलमा पर्ने देखिएको हो ।

laxmi

अघिल्ला बर्षहरुमा घटस्थापनाको १५ दिन अगावै खुलाउने गरिएको अग्रिम टिकट बुकिङ यो बर्ष भने सोही अवधिमा खुलाउन नसकिने अवस्था बढ्दै गएको छ । यो बर्ष घटस्थापना यसै महिनाको २८ गते परेको छ । २८ गतेको १५ दिन अघि भनेको असोज १३ गते अर्थात शनिबारदेखि नै अग्रिम टिकट बुकिङ खुलाउनुपर्ने हो । तर, हालसम्म व्यवसायी व्यवसायीबीचको द्धन्द्धले यसमा अन्यौलता छाएको छ । विभागले विभिन्न चरणको छलफल बोलाएपनि व्यवसायीका दुई छुट्टाछुटटै महासंघ हुँदा अप्ठ्यारो अवस्था सिर्जना भएको विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल बताउँछन् ।

हाल नेपालमा सार्वजनिक यातायातसम्बद्ध यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात व्यवसायी केन्द्रिय महासंघ गरी दुई ठूला संगठन हावी छन् । यी दुबै संगठनबीचको विवादका कारण समग्र सार्वजनिक यातायात क्षेत्र नै धुमिल भएको विभागका अधिकारीहरु बताउँछन् । खासगरी पछिल्लो समय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगै यातायात व्यवस्था विभागले पनि करिव ३ पटकसम्म बोलाएको बैठकमा यी दुईमध्येको एउटा महासंघ मात्रै सहभागी हुँदै आएको छ ।

अग्रिम टिकट बुकिङ र सडक सहजीकरणका लागि भन्दै मन्त्रालय र विभागमा ३ पटकसम्म बैठक बसिसकेको छ । जसमा यातायात व्यवसायी, ट्राफिक प्रहरी कार्यालयका पदाधिकारी र यातायात व्यवस्था विभागका अधिकारीसँगै मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुन्छन् । उक्त बैठकहरुमा यातायात व्यवसायीहरुले दशैंको बेलामा लामो रुटमा देखिएको सडकसम्बन्धी समस्यालाई भने नियन्त्रण गरेर यात्रुलाई सहजीकरणको व्यवस्था गरिदिन माग गरेको विभागका महानिर्देशक रिजालले बताए ।

उनले दुई ओटा संगठनमध्ये एउटा संगठनका पदाधिकारीहरु भने बैठकमा उपस्थित नभएको बताए । ‘हामीले सबै व्यवसायीहरुलाई बैठक र छलफलमा बोलाउने हो, तर, एउटा संगठन आउँदा अर्काे नआउने प्रचलन रहेछ,’ उनले भने, ‘अझ एउटा संगठनलाई बोलाउँदा अर्काे संगठनले त्यसलाई किन बोलाएको ? भन्ने प्रश्नसम्म उब्जिने रहेछ ।’ उनले हालसम्मको छलफलमा अर्काे हप्ताको अन्त्यसम्ममा अग्रिम टिकट खुलाउने कि भन्ने योजनामा रहेको बताए । तर, व्यवसायीको मागअनुसार सडक मर्मतमा भने बिशेष जोड दिनेगरी एक चरणको छलफल सडक विभागका पदाधिकारीसँग गर्न लागेको उनको भनाई छ ।

‘व्यवसायीहरुले यात्रु सहजीकरणका लागि भन्दै सडकको मर्मत र अवरोधमा सहजीकरण गरिदिन आग्रह गर्नुभएको छ,’ उनले भने, ‘यसका लागि हामी आइतबारसम्म एक चरणको छलफल सडक विभागसँग गर्ने तयारी गरेका छौं ।’ यता यातायात व्यवसायी केन्द्रिय महासंघका महासचिव भरत नेपाल आगामी १८ देखि २० गतेसम्ममा अग्रिम टिकट बुकिङ खुलाउने गरी प्रारम्भिक छलफल भएको बताउँछन् । तर, त्यसका लागि विभागसँग सडकमा देखिएका विभिन्न समस्याहरु भने समाधान गरिदिन आग्रह गरिएको उनको भनाई छ ।

‘चाडपर्वकै बेला यात्रुहरुलाई घण्टौं जाममा बस्नु नपरोस र अप्ठ्यारो नहोस भनेर हामीले सडकमा देखिएका समस्याहरु तत्काल समाधान गर्न आग्रह गरेका छौं,’ उनले भने, ‘यति मात्रै होईन कम्तीमा दशैंभर सबैजसो ठूला गाडीलाई फ्रि पर्मिटको व्यवस्था गरियो भने गाडी अभावको समस्या हुँदैन भनेर पनि हामीले सुझाव दिएका छौं ।’ यता यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला भने हालसम्म पनि अग्रिम टिकट बुकिङका लागि कुनै छलफल अघि नबढेको बताउँछन् ।

कारले व्यवसायीलाई अग्रिम टिकट बुकिङ खुलाउने बारेमा छलफल गर्न बोलाउनुपर्ने भएपनि हालसम्म छलफलमै नबोलाएको उनको आरोप छ । ‘अग्रिम टिकट खोल्नेबारेमा हामीसँग सरकारले छलफल गर्नुपर्ने हो,’ उनले भने, ‘तर हालसम्म हामीलाई कुनै निकायबाट छलफलका लागि बोलाएको छैन ।’ उनले छलफल नै नभएको अवस्थामा कहिलेदेखि अग्रिम टिकट बुकिङ खुल्छसमेत भन्न नसकिने बताए । यसरी यातायात व्यवसायीका दुबै संगठनहरुको एक आपसको द्धन्द्धले दशैंको अग्रिम टिकट बुकिङमा झमेला हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL