Logo

प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क प्रस्थान, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क प्रस्थान, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

laxmi

प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डललाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस महासभाको सामान्य बहसको विषय ‘विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनर्जागृत : २०३० को एजेन्डा र यसको दिगो विकास लक्ष्य सबैका लागि शान्ति, समृद्धि, प्रगति र दिगोपनमा तीव्रता दिने’ भन्ने छनोट गरिएको छ ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै १९ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने छन् ।

न्यूयोर्कमा हुँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी रहनेछन् ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहाल न्यूयोर्कबाटै जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL