Logo

भारतलाई दैनिक ११ करोड रुपैयाँको बिजुली बेच्दै नेपाल, थप निर्यातको ढोका खुल्दै

भारतलाई दैनिक ११ करोड रुपैयाँको बिजुली बेच्दै नेपाल, थप निर्यातको ढोका खुल्दै



काठमाडौं । नेपालले दैनिक करिव ११ करोड रुपैयाँ बराबरको बिजुली भारततर्फ निर्यात गर्न थालेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालमा खपत भएर बाँकी रहेको उक्त मूल्य बराबरको बिजुली हाल निर्यात भइरहेको छ ।

laxmi

प्राधिकरणले हाल निजी क्षेत्रका परियोजना र आफ्ना आयोजना गरी १४ आयोजनाबाट उत्पादित बिजुली भारत निर्यात गरिरहेको छ । यी परियोजनामार्फत भारतमा दैनिक औसतमा ११ हजार मेगावाट आवर अर्थात १ करोड १० लाख युनिट बिजुली निर्यात हुने गरेको प्राधिकरणका सूचना अधिकारी सुरेशबहादुर भट्टराई बताउँछन् ।

उनका अनुसार दैनिक भारत जाने बिजुली हाल प्रतियुनिट ७ देखि साढे ७ भारतीय रुपैयाँमा निर्यात भईरहेको छ । यसलाई औसतमा भन्दा प्राधिकरणले प्रतियुनिट ११ रुपैयाँमा भारतीय बजारमा नेपाली बिजुली विक्री गरिरहेको छ । नेपालमा हाल प्राधिकरण, यसका सहायक कम्पनी र निजी क्षेत्रका परियोजना गरी ५० हजार मेगावाट आवरभन्दा बढी बिजुली उत्पादन भइरहेको छ ।

यसरी उत्पादन हुने बिजुलीमध्ये निर्यात र आन्तरिक बजार गरी साढे ४९ हजार मेगावाट बढीको बिजुली माग हुने गरेको छ । त्यसमध्ये पनि १० देखि ११ हजार मेगावाट आवर बिजुली भारततर्फ निर्यात हुने गरेको प्राधिकरणले जानकारी दिएको छ । जसको मूल्य नै दैनिकजसो ११ करोडमाथि हुने गरेको छ ।

हाल बिजुली निर्यातका लागि स्वीकृति पाएका चिलिमे, सोलु खोला, काबेली बी–१, लिखु–४, तल्लो मोदी, सोलु–दूधकोसी, दोर्दी खोला, माथिल्लो कालंगा गाड र माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट उत्पादिन बिजुली भारत निर्यात भईरहेको छ । यस्तै त्रिशूली जलविद्युत् आयोजना, देवीघाट, मस्याङ्दी, कालीगण्डकी ए र मध्यमस्याङ्दीले पनि विद्युत निर्यातको अनुमति पाई निर्यात गरिरहेका छन् ।

भारतले हालसम्म ६ सय ३२ मेगावाटसम्म नेपाली बिजुली निर्यातको लागि बाटो खुलाएको छ । जसअनुसार गत आईतबारमात्रै ढल्केबर मुजफ्फरपुर प्रसारण लाईनबाट १ सय १० र महेन्द्रनगर टनकपुर प्रशारण लाइनबाट ७० मेगावाट गरी थप १ सय ८० मेगावाट बिजुली निर्यातको बाटो खोलेपछि कुल निर्यात गर्न सकिने बिजुलीको परिमाण ६ सय ३२ मेगावाट पुगेको हो ।

यसअघि नेपालले ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनबाट ४ सय ५२ मेगावाट बिजुली निर्यात गर्दै आएको थियो । जसको मूल्य पनि फरकफरक तोकिएको थियो । नेपालमा धेरैजसो जलविद्युत आयोजनाहरु नदी प्रवाही (रन अफ द रिभर) मोडलमा भएकाले बर्खायाममा बढी बिजुली उत्पादन भई खेर जाने अवस्था हुन्छ भने हिउँदमा उत्पादन न्युन हुन्छ र अयात गर्नुपर्ने बाध्यता हुन्छ ।

जसका कारण चालु बर्षको बर्षायाममा बढी बर्षा भएपछि र संचालित आयोजना पनि थपिएपछि नेपालमा उत्पादन हुने बिजुलीको मात्रा बढेको हो । यसरी बढेको बिजुली नेपालमै खपत नहुने भएपछि भारतमा निर्यात हुने गरेको छ । जसअनुसार नेपालले गत आर्थिक बर्ष २०७९÷८० मा मात्रै १० अर्ब ४४ करोड रुपैयाँ बराबरको बिजुली भारततर्फ निर्यात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL