Logo

निर्यात व्यापारको प्रवृत्ति परिवर्तन : प्लाइउडतर्फ मोडियो निर्यात, एकै वर्षमा पौने ५ अर्बको निर्यात

निर्यात व्यापारको प्रवृत्ति परिवर्तन : प्लाइउडतर्फ मोडियो निर्यात, एकै वर्षमा पौने ५ अर्बको निर्यात



काठमाडौं । पछिल्लो समय नेपालको निर्यात व्यापारको प्रवृत्ति परिवर्तनउन्मुख देखिएको छ । कुनै समय गलैंचा र पश्मिना, प्रशोधित खानेतेलगायतका वस्तुको अधिपत्य रहेको नेपालबाट विदेशमा हुने निर्यातमा नयाँ–नयाँ वस्तुको हिस्सा बढदै गएको छ । यसैक्रममा पछिल्लो समय प्लाइउडको निर्यात व्यापार बढिरहेको छ ।

laxmi

भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो एक बर्षमा प्लाइउडको निर्यात उच्च रहेको छ । अर्थात गत आर्थिक बर्ष २०७९/८० मा मात्रै नेपालबाट विभिन्न देशमा ४ अर्ब ७४ करोड ७३ लाख रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको छ । यो अघिल्लो आर्थिक बर्ष २०७८/७९ को तुलनामा भने करिव ४ अर्ब ४० करोड रुपैयाँले बढी हो । उक्त बर्ष नेपालले जम्मा ३५ करोड ४७ लाख रुपैयाँ बराबरको मात्रै प्लाइउड निर्यात गरेको थियो ।

अर्थात गत आर्थिक बर्षमात्रै नेपालबाट अत्याधिक मात्रामा प्लाइउड निर्यात भएको पाइएको छ । खासगरी नेपालमा उत्पादित उत्तिसका बिरुवाहरुबाट निर्मित प्लाइउडको माग भारतीय बजारमा प्रशस्तै रहेको उद्योगी व्यवसायीहरु बताउँछन् । जसका कारण पूर्वी र पश्चिम दुबैतर्फका नाकाहरुबाट भारततर्फ गत आर्थिक बर्षमा मात्रै ६० लाख क्युविक मिटर बढी प्लाइउड निर्यात भएको पाइएको हो ।

यस्तै चालु आर्थिक बर्षको पहिलो महिना साउनमा पनि यसको निर्यात प्रशस्तै भएको पाइएको छ । धेरै निर्यात हुने ३० वस्तुभित्रको सूचीमा परेको प्लाइउड गएको साउन महिनामा मात्रै ५८ करोड ८५ लाख रुपैयाँ बराबरको निर्यात भएको पाईएको छ । खासगरी भारतीय बजारमा बढेको प्लाइउडको मूल्यका कारण नेपालमा पाइने सस्तो मूल्यको प्लाइउडको निर्यात बढेको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे बताउँछन् ।

खासगरी भारतमा प्लाइउडको कच्चा पदार्थको मूल्य बढ्नु, नेपालको निर्माण क्षेत्रमा सुस्तता आउनु र प्लाइउडलाई पनि निर्यातमा नगद अनुदान पाईने वस्तुको सूचीमा समावेश गरिनुले नेपालबाट गत आर्थिक बर्ष अत्याधिक प्लाइ निर्यात भएको उनको भनाई छ । पछिल्लो समय भारतमा प्लाइउड उत्पादनका लागि आवश्यक कच्चा पदार्थको अभावका कारण यसको लागत मूल्य पनि अत्याधिक बढेको पाईएको छ । जसका कारण नेपालबाट जाने सस्तो मूल्यको प्लाइउडको खपत भारतका लखनउ, कानपुर, दिल्ली, आग्रा, देहरादुनलगायतका बजारसम्म हुने गरेको छ ।

यस्तै पछिल्लो समय नेपालको आर्थिक गतिविधिमा देखिएको सुस्तताले पनि नेपालमा उत्पादन भएको प्लाइउडले नयाँ बजार खोजेको घिमिरे बताउँछन् । ‘नेपालमा हाल निर्माण क्षेत्र धेरै धिमा गतिमा चलिरहेको छ, यस्तो बेला प्लाइउडको माग पनि अत्याधिक न्युन छ,’ उनले भने, ‘यहि मौकामा प्लाइउड उत्पादकहरुले नयाँ बजारको खोजी गर्दा भारत महत्वपुर्ण बजारका रुपमा सावित भएको हो ।’

संघमा आवद्ध ८० प्लाइउड उत्पादक कम्पनीहरुले बार्षिक ३२ देखि ३५ अर्ब रुपैयाँ बराबरको प्लाइउड उत्पादन गर्दै आएका छन् । जसको जम्मा ७ प्रतिशत प्लाइउड भारतमा निर्यात हुँदा पनि उद्योगीलाई केहि राहत भएको उनले बताए । तर, नेपालबाट भारततर्फ गईरहेको प्लाइउड भने न्यून गुणस्तरको भएको उनी बताउँछन । ‘भारतमा यसको मूल्य बढेपछि भारतीयहरुले पछिल्लो समय सस्तो प्लाइउड खोज्दैछन्,’ उनले भने, ‘जसका फाईदा नेपाली उद्योगीहरुलाई भएको छ । हालसम्म निर्यात भएको प्लाइउडमध्ये धेरैजसो प्लाइउड ‘सी’ ग्रेडको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL