Logo

उच्च ब्याज र आर्थिक मन्दीको असर, लगानी गर्न डराए उद्योगी

उच्च ब्याज र आर्थिक मन्दीको असर, लगानी गर्न डराए उद्योगी



काठमाडौं । बैंकको उच्च व्याजदर, कर्जा प्रवाहमा संकुचन र व्यापारमा देखिएको मन्दीको असर लगानी प्रतिवद्धतामा पनि देखिएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक बर्ष २०८०÷८१ को पहिलो महिना साउनमा जम्मा २५ अर्ब ९ करोड ८१ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यो गत आर्थिक बर्ष २०७९÷८० को साउनको तुलनामा १६ अर्ब ४२ करोड ८४ लाख रुपैयाँले कम हो ।

laxmi

गत आर्थिक बर्षको पहिलो महिना साउनमै उद्योग विभागमा विभिन्न परियोजनाले ४१ अर्ब ५२ करोड ६५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जाहेर गरेका थिए । तर, गत आर्थिक बर्षको दोस्रो त्रैमासदेखि नै बैंकमा देखिएको तरलता संकुचनसँगै सरकारले लागू गरेका विभिन्न व्यवस्थाका कारण बजारमा वस्तु मागमा ठूलो संकुचन आयो । जसका कारण लगानीकर्ताले नयाँ लगानीमा हात हाल्ने आँटै नगरेको एक उद्योगीले बताए ।

‘केहि महिना अघिदेखि सुरु भएको व्यापार मन्दी नेपाली बजारबाट अझै हट्न सकेको छैन, भएको वस्तु पनि विक्री गर्न नसकिरहेको अवस्थामा नयाँ लगानी कसरी आउँछ ?,’ उनले प्रश्न गरे, ‘अझै केहि समय यस्तो व्यापार मन्दीकै सामना गर्नुपरे अहिले प्रतिवद्धता आएको लगानी पनि वास्तविक लगानीमा परिणत हुनेमा शंका छ ।’ उनले हाल बजारमा व्याप्त माग संकुचनका कारण प्रतिवद्धता आएको लगानी वास्तविक लगानीमा परिणत हुने सम्भावना पनि न्युन भएको बताएका छन् ।

उद्योग विभागकै तथ्यांकलाई आधार मान्दा पनि गत आवको पहिलो साउनको तुलनामा चालु आवको पहिलो साउनमा उत्पादनमुलक क्षेत्रकै लगानी पनि २ अर्ब ३४ करोड रुपैयाँले घटेको छ । गत आवको साउनमा यो क्षेत्रमा २ अर्ब ६३ करोड ३५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएकोमा यो बर्षको साउनमा घटेर २९ करोडमा सीमित भएको हो ।

राष्ट्र बैंकलगायतका नियामक निकायहरुले निजी क्षेत्रलाई हतोत्साही गर्नेगरी नीति निर्माण गरिदिनाले उद्योगी व्यवसायी निराश भएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल बताउँछन् । राष्ट्र बैंकले नै निजी क्षेत्रलाई हतोत्साही हुनेगरी विभिन्न समयमा विभिन्न निर्देशिका जारी गरिदिनाले पनि उद्योग क्षेत्रमा आउने लगानी प्रतिवद्धतामा गिरावट आएको उनको भनाई छ । तर, नियामक निकायको यस्तो प्रवृत्तिलाई रोक्न सके मात्रै नेपालमा लगानी आकर्षण गर्न सकिने उनको भनाई छ ।

‘नियामक निकायले कुनै एक निर्देशिका लागू गरेर उद्योग क्षेत्रलाई फकाएको जस्तो गर्छ, पुनः अर्काे निर्देशिकामार्फत कस्छ,’ उनले भने, ‘यसरी एउटा हातले माया गरेजस्तो र अर्काे हातले पेलेजसरी गरिने निर्णयकै कारण हाल भएका उद्योगहरु पनि पलायन हुने र नयाँ लगानी ठप्प हुने अवस्था आएको छ ।’ उनले उद्योगी व्यवसायीलाई लगानीतर्फ आकर्षीत गर्न नियामक निकायले बनाउने नीतिहरु स्थिर र निजी क्षेत्रमैत्री हुनुपर्नेमा जोड दिए ।

उर्जा क्षेत्रको लगानीमा १२ अर्बको गिरावट

चालु आर्थिक बर्षको साउनमा समग्र लगानी खस्कनुमा उर्जा क्षेत्रको लगानीमा गिरावट आउनु पनि एक मुख्य कारण हो । गत आर्थिक बर्षको पहिलो साउनमा ३० अर्ब बढीको लगानी प्रतिवद्धता आएको उर्जा क्षेत्रमा यो बर्षको सोही अवधिमा घटेर १७ अर्ब ८४ करोड रुपैयाँमा सीमित भएको हो । यो गत आर्थिक बर्षको साउनको तुलनामा १२ अर्ब २४ करोड रुपैयाँले कम हो ।

चालु आर्थिक बर्षको साउनमा उर्जा क्षेत्रका तीन परियोजनामार्फत १७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । सोहीअनुसार गत आवको पहिलो महिनामा भने यो क्षेत्रका ६ परियोजनामार्फत ३० अर्ब बढीको लगानी प्रतिवद्धता आएको थियो । उर्जा क्षेत्र मात्रै नभएर चालु आवको साउनमा गत आवको सोही अवधिको तुलनामा पर्यटन क्षेत्रको लगानीमा पनि ६ अर्ब ७२ करोड रुपैयाँ बराबरले लगानी प्रतिवद्धता घटेको छ । गत आवको साउनमा ७ अर्ब १० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको पर्यटन क्षेत्रमा यो बर्ष ठुलो गिरावट आउँदा ३८ करोड रुपैयाँ बराबरको मात्रै लगानी प्रतिवद्धता आएको देखिन्छ ।

यस्तै यस अवधिमा सूचना तथा संचार क्षेत्रमार्फत आउने लगानी प्रतिवद्धतामा पनि करिव १२ करोड रुपैयाँले गिरावट आएको छ । तर, गत आवको साउनको तुलनामा चालु आवको साउनमा सेवा क्षेत्रको लगानी प्रतिवद्धतामा भने वृद्धि देखिन्छ । उद्योग विभागका अनुसार चालु आवमा सेवामुलक क्षेत्रमा मात्रै ६ अर्ब २३ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४ अर्ब ७३ करोड रुपैयाँले बढी हो । गत आवको साउन महिनामा सेवा क्षेत्रमार्फत १ अर्ब ४९ करोड २५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL