Logo

सधै सुनकाण्डमा नाम जोडिइरहने बामदेव गौतम भन्छन–म गृहमन्त्रीबाट हटेपछि सुन काण्डहरु उब्जिए

सधै सुनकाण्डमा नाम जोडिइरहने बामदेव गौतम भन्छन–म गृहमन्त्रीबाट हटेपछि सुन काण्डहरु उब्जिए



काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमले नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीमा जाने बाटो तत्काल नभएको बताएका छन् । रिपोर्टर्स क्लबमा आज (शनिबार) आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गौतमले आफ्नो पार्टी एमाले वा एकीकृत समाजवादीमा समाहित हुन खोजे पनि दुवैले वास्ता नगरेको बताए ।

laxmi

‘म नेकपा एमाले र एकीकृत समाजवादी दुई वटै पार्टीसँग एकीकृत हुन निरन्तर वार्तामा थिएँ । समाजवादीले हामीले निर्णय नगरुञ्जेल आइजो वामदेव आइजो भन्नुभयो । निर्णय गरेर जाँदा कुनै पनि जवाफ दिनु भएन’, उनले भने, ‘त्यसपछि एमालेसँग प्रयत्न गर्ने निर्णय भयो । उहाँहरूलाई सुनाइयो । उहाँहरूले वामदेव किन आउनुपर्‍यो ? तपाईं आउनुहोस् भनेर हाम्रा साथीहरूलाई बोलाउनु भयो । अन्तिममा केपी ओलीले बोलाउनु भयो र म गएँ । मलाई दिने कामको विषयमा, मेरो जिम्मेवारीका विषयमा उहाँले पनि केही पनि बोल्नु भएन ।’

ओलीले आफूलाई नेकपा फुटाएको र प्रचण्डलाई साथ दिएको आरोप मात्रै लगाएको गौतमले गुनासो गरे । ‘पार्टी फुटाउनु भयो । मलाई साथ दिएको भए पार्टी फुट्ने थिएन । प्रचण्डलाई साथ दिनुभयो, एमाले समाप्त पार्न लाग्नु भयो भनेपछि मैले त्यहाँ रहन सक्ने स्थिति देखिनँ’, गौतमले थपे, ‘त्यसपछि म ४३ वर्षको मित्रता छँदैछ, बोलाउनु भयो भने भेटघाट गर्दै गरौंला भनेर नमस्कार गरेर फर्किएँ ।’

उनले समाजवादी मोर्चाले पनि आफूलाई नबोलाएको बताएका छन् । ‘समाजवादी मोर्चा बनाउन प्रयत्न गर्दा नै म सकारात्मक हो, मलाई समावेश गरेको भए व्यवहारिक एजेण्डासहित राम्रो प्रस्ताव गर्ने थिएँ, उहाँहरूले बोलाउनु भएन’, उनले सुनाए । मोर्चामा सबै दलका साझा विषय हुनुपर्ने भए पनि अहिले मोर्चाका साझा विषय केही पनि नभएको उनको टिप्पणी थियो ।

‘साझा विषय केही पनि छैनन् । यो संविधानको रक्षा गर्ने, संसदको रक्षा गर्ने भन्ने छ । रक्षा त भइरहेको छ नि ! कसले सिध्याउन खोजेको छ र ! सबै सामान्य विषयहरू जसलाई ठोस् रुपमा पक्डन सकिन्न त्यस्ता विषयमा समाजवादी मोर्चा बनेको छ ।’ उनले भने, ‘मैले भनेको थिएँ, ठोस् रुपमा यो यो काम गर्नका निम्ति बनाऊँ, समाजवाद निर्माण गर्नकै निम्ति संगठित हौं भनेको थिएँ, मान्नुभएन । वामदेव आयो भने एउटा एउटा उखरमाउलो उठाउँछ, फेरि कताकता बिगार्छ भनेर उहाँहरूले भन्नुभएको छ रे तर बोलाउनु भयो भने म जान्छु ।’

गौतमले आफू गृहमन्त्री हुँदा सुनकाण्ड नभएको स्पष्टीकरण दिएका छन् । उनले आफू मन्त्रीबाट हटेपछि सुनकाण्ड उब्जिएको दाबी गरे । ‘०५४ सालमा वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री हुँदादेखि सुनकाण्ड भयो भन्नुभयो । म मन्त्री हुँदासम्म सुनकाण्ड भएन,’ गौतमले स्पष्टीकरण दिँदै भने, ‘म मन्त्रीबाट हटेपछि उब्जियो ।’

प्रतिक्रिया दिनुहोस्
MBL