Logo

ललिता निवास प्रकरण : पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ

ललिता निवास प्रकरण : पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ



काठमाडौँ । बालुवाटारको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सर्च अपरेसन तीव्र पारेको छ । मंगलबार भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ सबैभन्दा पहिले पक्राउ परेका थिए ।

laxmi

सीआईबीले काठमाडौं उपत्यकामा निरन्तर सर्च अपरेसन चलाउँदा पछिल्लो पटक पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ परेका छन् । यस प्रकरणमा मुछिएका उनलाई सीआईबीको टोली धुम्बाराहीस्थित निवासबाटै नियन्त्रणमा लिएर हिरासतमा राखेको हो ।

शाह २०७३ भदौदेखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्तका रुपमा कार्यरत थिए । त्यसअघि प्रहरीले डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्कीलाई पक्राउ गरिसकेको छ । मीनबहादुर पक्राउ परेपछि सीआईबीको टोली डिल्ली बजार मालपोत कार्यालयका तत्कालीन प्रमुख एवम् अवकाशप्रपाप्त सहसचिव कलाधर देउजासहित चार जनालाई पक्राउ गरेको थियो । सीआईबीले मंगलबार बिहानदेखि चलाएको सर्च अपरेसनका क्रममा अहिलेसम्म यो प्रकरणमा ७ जना हिरासतमा परिसकेका छन् ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङबाट सुरु भएको पक्राउ श्रृंखला डिल्ली बजार मालपोतका कर्मचारी हुँदै बिचौलियासम्म पुगेको हो । सीआईबीको अपरेसन जारी रहेकाले यसमा मुछिएका अन्य अभियुक्तहरु पनि पक्राउ पर्ने सम्भावना बढेको छ ।

भाटभटेनीका गुरुङले उक्त जग्गामा लगानी गरेका थिए । त्यो जग्गा अहिले पनि उनले स्टोरका रूपमा प्रयोग गर्दै आएका छन् । त्यस्तै पक्राउ परेका अन्य २०४९ सालदेखि २०६६ सालमा झन्डै १७ वर्ष सरकारी सेवामा रहँदा ले भूमिसुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय कार्यरत थिए । ललिता निवासको सरकारी जग्गा ती कर्मचारीहरुसँगको मिलेमतोमा राजनीतिक नेतृत्वदेखि अन्य पहुँचवालाले हडपेका थिए । मालपोत कार्यालयका कागजपत्र कीर्ते गरेर सरकारी जग्गा हडपिएको यो प्रकरण लामो समय सेलाएपछि सरकारले फेरि ब्यूँत्याएर अनुसन्धान अघि बढाएको हो ।

सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सातजनाविरुद्ध सीआईबीले सरकारी कागजात किर्तेमा मुद्दा चलाउने तयारी गरिरहेको छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा भाटभटेनीका सञ्चालक गुरुङमाथि अख्तियारले ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL