Logo

नेपालको आइटी क्षेत्रमा लगानी आकर्षण, पाँच हजार सर्भर र्‍याकसहितको डाटा सेन्टरमा लगानी थप्दै ‘डाटा हब’

नेपालको आइटी क्षेत्रमा लगानी आकर्षण, पाँच हजार सर्भर र्‍याकसहितको डाटा सेन्टरमा लगानी थप्दै ‘डाटा हब’



काठमाडौं । विश्वभर आइटी क्षेत्र पछिल्लो समय लगानीका लागि आकर्षणको क्षेत्रको रुपमा रहेको छ । यस्तोमा नेपालमा पनि आइटी क्षेत्रमा लगानी आकर्षणसँगै लगानी विस्तार पनि हुँदै गएको छ । नेपालमा पछिल्लो समया स्वदेशी तथा विदेशी लगानीकर्ताले विभिन्न क्षेत्रसँगै आइटी क्षेत्रमा लगानी गरिरहेका छन् । यसैक्रममा १५ बर्षदेखि क्लाउड र स्टोरेज सर्भिस दिइरहेको डाटा हवले थप साढे २६ करोड रुपैयाँ लगानी थप्ने भएको छ । डाटा सेन्टर विस्तारका लागि कम्पनीले थप २६ करोड ६० लाख रुपैयाँ लगानी थप्ने प्रतिवद्धता उद्योग विभागसामु गरेको हो ।

laxmi

नेपालमा आइटी क्षेत्रमा अवसर रहेको भन्दै सरकारले चालु आर्थिक बर्षको बजेटमा आईटी क्षेत्रमा लगानीको सीमा हेरफेर गर्ने उल्लेख गरेको छ । यसैका कारण आगामी आवमा आइटी क्षेत्रमा लगानी थप विस्तार हुने बताइएको छ । विभागमा थप लगानी थप्ने प्रतिवद्धता जाहेर गरेको कम्पनीले लगानी थप्नका लागि विभागबाट गत आइतबार स्वीकृति पाएको छ । उद्योग विभागले दिएको जानकारी अनुसार कम्पनीले शतप्रतिशत स्थानीय लगानीमा थप ५ हजार र्याकसहितको डाटा स्टोरेज सर्भर थप्ने भएको हो ।

कम्पनीले हालसम्म काठमाडौं र बुटवलमा डाटा सेन्टर स्थापना गरेर क्लाउड सेवा दिँदै आएको छ । कम्पनीले हालसम्म ३ सय बढी कम्पनीहरुलाई होस्टिङ सेवा र दर्जन बढी कम्पनीहरुलाई क्लाउड सेवा दिँदै आएको छ । कम्पनीको बुटवल र काठमाडौंमा निर्मित डाटा सेन्टरमार्फत गैरसरकारी संस्थाहरुलाई पनि सेवा दिँदै आएको छ । कम्पनीले सर्वप्रथम सन २०१२ मा काठमाडौंमा पहिलो व्यवसायिक डाटा सेन्टर संचालनमा ल्याएको थियो ।

त्यसपश्चात सन २०१५ मा बुटवलमा आपतकालिन रिकभरी साइटका रुपमा अर्काे डाटा सेन्टर स्थापना गरिएको थियो । त्यसको दुई बर्षपछि डाटा हवले नेपालमा क्लाउड सर्भिस दिन सुरु गरेको थियो । त्यसयता कम्पनीको क्लाउड सेवा प्रयोग गर्ने सेवाग्राही थपिँदै आएका छन् । कम्पनीको सेवा नेपालका ३३ बैंक तथा वित्तीय संस्था, १६ ओटा बीमा कम्पनी, २९ आइटी कम्पनी र २७ फिनटेक कम्पनीले प्रयोग गरिरहेका छन् ।

नेपालमा चालु आर्थिक बर्षको हालसम्म विभिन्न १२ कम्पनीहरुले ९४ करोड रुपैयाँ बढीको लगानी प्रतिवद्धता जाहेर गरेका छन् । यस्तै हालसम्म नै यो क्षेत्रमा कुल १ सय ५ कम्पनीमार्फत ८ अर्ब ७० करोड ९८ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

यस अवधिमा आइटी क्षेत्रका ठुला ३ परियोजनाबाट ३ अर्ब ३४ करोड, मझौला १२ परियोजनामार्फत २ अर्ब ७३ करोड र ९० परियोजनामार्फत ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । चालु आवको हालसम्म भने आइटी क्षेत्रका मझौला ३ परियोजनामार्फत ६२ करोड ६० लाख र साना ९ परियोजनामार्फत ३१ करोड ६४ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता विभागमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL