Logo

लुम्बिनी केबलकार आजदेखि व्यवसायिक रुपमा सञ्चालनमा आउँदै, प्रधानमन्त्रीले उदघाटन गर्ने

लुम्बिनी केबलकार आजदेखि व्यवसायिक रुपमा सञ्चालनमा आउँदै, प्रधानमन्त्रीले उदघाटन गर्ने



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड आज (बिहीबार) लुम्बिनी केबलकार उदघाटन गर्न बुटवल जाँदैछन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको हो ।

laxmi

लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगेधारा, पोखरी आदि संरचनाले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ ।

कामाख्या मन्दिर भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा बनेको छ । केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुईवटा पालिकाका लागि छुट्याउने छ । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३, वसन्तपुरसम्म ३ किलोमिटर दूरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।

आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समूहले काठमाडौंको चन्द्रागिरी र हालै नवलपुरको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।

भारतका गोरखपुर, लखनउलगायत विभिन्न सहरका भारतीयलाई आकर्षित गर्न सकिने सम्भावना देखेर केबलकारमा लगानी गरिएको लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । केबलकार र रिसोर्टसहितको आयोजनाको कूल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ। टप स्टेसनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेस्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काईवाक, जीप लाइन निर्माणको क्रममा छन् ।

मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ । बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन ९ सय ४० मिटरको उचाइमा छ । बटन स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ । खासगरी गर्मी मौसममा वसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकारले सजिलो माध्यम हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL