Logo

झापा र सुनसरीमा अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द

झापा र सुनसरीमा अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द



काठमाडौँ । झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । दुवै गाउँपालिकाले यसबारे सूचना जारी गरेका छन् ।

कचनकवलले आजदेखि जेठ २२ गतेसम्म पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवद्वारा जारी सूचनामा उल्लेख छ । आजदेखि सो गाउँपालिकाका सबै सामुदायिक विद्यालय बन्द गर्न निर्देशन दिइएको छ ।

यसैगरी मेचीनगर नगरपालिकाले पनि गर्मीकै कारण दुई दिनका लागि सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिए । झापामा बुधबारको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो ।

गर्मी खपिनसक्नु भएपछि सुनसरीका तीन स्थानीय तहका विद्यालयमा एक साता बिदा

अत्यधिक गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिइएको हो ।

सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले २०८० जेठ १८ गते बिहीबारदेखि २४ गते बुधबारसम्मका लागि बिदा दिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिए । गर्मीका कारण बालबालिकामा विभिन्न किसिमको समस्या हुनबाट जोगाउन वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको उनले बताए ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाले समेत गर्मीका कारण विद्यालयमा बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले जानकारी दिए । उक्त गाउँपालिकाले समेत जेठ १८ गते देखि २३ गते मंगलबारसम्मका लागि विद्यालयमा बिदा दिएको उनले जानकारी दिए ।

त्यसैगरी इटहरी उपमहानगरले समेत दुई दिनका लागि बिदा दिने निर्णय गरेको छ । प्रतिकूल मौसमका कारण अत्यधिक गर्मीले पठनपाठनमा असहज स्थिति आएकाले जेठ १८ र १९ गते बिदा दिने निर्णय गरिएको इटहरी उपमहानगर शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।

अहिले सञ्चालन भइरहेका परीक्षामा कुनै असर नपर्ने गरी बिहीबार र शुक्रबार विद्यालयको पठनपाठन बन्द गर्न उपमहानगरले सबै विद्यालयलाई आग्रह गरेको सुवेदीले बताए । केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL