Logo

सहकारीका सञ्चालकविरुद्ध उजुरीका चाङ, वचत रकम फिर्ता गराइदिन गुहार

सहकारीका सञ्चालकविरुद्ध उजुरीका चाङ, वचत रकम फिर्ता गराइदिन गुहार



काठमाडौं । पछिल्लो समय सहकारीका सञ्चालक फरारका समाचार बढेसँगै सहकारी क्षेत्रमै समस्या बढेको छ । सहकारीबारेका नकारात्मक सूचना बढेसँगै सबैजसो सहकारीका बचतकर्ताहरुले सहकारीहरु आत्तिएर आफ्नो बचत निकाल्न लाम लाग्न थालेका छन् । अहिले हरेकजसो सहकारीहरुमा बचतकर्ताहरुको बचत निकाल्ने होडबाजी छ ।

यसैको असर काठमाडौंका सहकारीमा झन विकराल बन्दै गएको छ । काठमाडौंभित्र संचालित सहकारीका विरुद्ध दैनिक ५० बढी उजुरी आउने गरेको छ । केहि निश्चित सहकारीका विरुद्ध नराम्रा खवर फैलिएसँगै पूरै सहकारी क्षेत्रमै यस्तो विकराल अवस्था निम्तिएको काठमाडौं महानगरपालिका सहकारी विभागका निर्देशक बलराम त्रिपाठी बताउँछन् ।

हाल विभागले दैनिक ५० बढी उजुरीहरु बचत गरिएको रकम फिर्ता पाउँ भन्दै आउने गरेको उनले बताए । यस्तो उजुरी आएको खण्डमा सकेसम्म सहकारीका संचालकलाई फकाएर वा आपसी सहमतिमै पैसा असुल गर्ने मौका दिन उनी बचतकर्तालाई सुझाउँछन् । यदि त्यस्तो क्रियाकलापले पनि काम नगरेको खण्डमा मात्रै उजुरी दिनका लागि उनी दैनिकजसो बचतकर्तालाई सुझाव दिएर पठाउँछन् । तर, कतिपय बचतकर्ताहरु भने जति गर्दा पनि पैसा नदिएको भन्दै उजुरी गर्न आउने र सोही अनुसार उजुरी स्वीकृत गर्ने गरिएको उनको भनाई छ ।

उजुरी दर्ता गरिसकेपछि महानगरपालिकाले सहकारीका संचालक र उजुरीकर्ता बचतकर्तालाई सँगै राखेर समस्याको समाधान खोज्ने कार्य गर्छ । त्यसो गर्दा सहकारीका संचालक सम्पर्कमा नआएमा वा समस्या समाधान नभएमा महानगरपालिकाले त्यो उजुरी प्रहरीकहाँ सिफारिस गर्छ र प्रहरीले यसको अनुसन्धान प्रक्रिया अघि बढाउँछ । त्यसो गर्नुभन्दा पहिले महानगरले बचतकर्तालाई नै सकेसम्म आफै मिल्नु भन्ने सुझाव दिँदै आएको छ ।

काठमाडौं महानगरपालिका मात्रै कार्यक्षेत्र रहनेगरी हालसम्म १ हजार ९ सय ६९ सहकारी दर्ता भएका छन् । तीमध्ये झण्डै ३ सय बढी सहकारी हालसम्म सम्पर्कमा आएका छैनन् । आधा बढी सहकारीले नियमअनुसार समयमा विवरण अद्यावधिक गरेका छैनन् ।

सहकारी ऐन तथा नियमावलीअनुसार प्रत्येक सहकारीले आर्थिक वर्ष सकिएको छ महिनाभित्र सम्बन्धित सहकारी विभागमा साधारणसभा तथा कर चुक्ताको प्रमाणपत्रसहित विवरण अद्यावधिक गर्नुपर्छ । तर, १ हजार बढी सहकारीले अघिल्लो आर्थिक वर्षकै विवरण अद्यावधिक गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL