Logo

तीन ठूला उद्योग खुल्दै, चार अर्बको टायल्स र दुई अर्बको चिनी उद्योग सञ्चालनमा आउने

तीन ठूला उद्योग खुल्दै, चार अर्बको टायल्स र दुई अर्बको चिनी उद्योग सञ्चालनमा आउने



काठमाडौं । उत्पादनमुलक क्षेत्र कमजोर हुँदा आयातको मार खेपिरहेको नेपालमा पछिल्लो समय उद्योगीहरु उत्पादमुलक क्षेत्रमा लगानीका लागि आकर्षित भइरहेका छन् । यसै सन्दर्भमा चालु बर्षको बैशाखमा मात्रै ठूला तीन परियोजनामा ९ अर्ब बढीको लगानी प्रतिवद्धता आएको छ । । बर्षको पहिलो महिना बैशाखमै करिव साढे ११ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएकोमा ३ ठूला उद्योगमार्फत मात्रै ९ अर्ब बढीको लगानी प्रतिबद्धता आएको हो ।

बैशाखमा उद्योग विभागमा दर्ता भएका ३ ठूला परियोजनामध्ये पहिलो चिनी उद्योग छ । व्यवसायी सन्दिप गाडियाले पर्सा जिल्लाको बहुदरमाईमा कारखाना खोल्नेगरी ठुला लगानीको शिवशक्ति सुगर एण्ड केमिकल इन्डस्र्टी नामक उद्योग विभागमा दर्ता गराएका छन् । बैशाख ४ गते विभागबाट स्वीकृति पाएको उद्योगले २ अर्ब ८ करोड रुपैयाँ कुल लगानीमा बार्षिक ३७ हजार मेट्रिक टन चिनी उत्पादन गर्ने बताएको छ । यस्तै उद्योगले बार्षिक १८ हजार ९ सय मेट्रिक टन मोलासिस, ५४ हजार मेट्रिकटन वेगास र २ करोड ५२ लाख किलोवाट आवर विजुली उत्पादन गर्नै बताएको छ । उद्योगले ४ हजार केभिए विजुली खपत गर्दै २ सय जनालाई रोजगारी दिने बताएको छ ।

यस्तै बैशाखमै दर्ता भएको अर्काे ठूलो परियोजना भने भारतीय र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा कजरिया रमेश टायल्स लिमिटेड स्थापना हुन लागेको छ । गत बैशाख १७ गते उद्योग विभागबाट स्वीकृति पाएको परियोजनाको कारखाना नवलपरासीको बर्दघाटमा स्थापना गर्ने बताइएको छ । नेपालको रमेश कर्प र भारतको कजरिया सेरामिक्सको संयुक्त लगानीमा स्थापना हुन लागेको उक्त उद्योगले ४ अर्ब रुपैयाँ कुल लगानी प्रतिवद्धता जाहेर गरेको छ । उद्योगले ४ हजार केभिए बिजुलीको खपत गर्दै बार्षिक ८० लाख वर्गमिटर भुईँ र पर्खालमा प्रयोग हुने टायल उत्पादन गर्ने प्रतिवद्धता जाहेर गरेको छ । यस्तै उक्त उद्योगमा ५ सय १५ जनाले रोजगारी पाउने बताईएको छ ।

बैशाखमै दर्ता भएको तेस्रो र अन्तिम ठूलो परियोजना भने सेवा क्षेत्रको छ । काठमाडौंको कीर्तिपुरमा होटल स्थापना गर्नेगरी उद्योग विभागमा गत बैशाख १९ गते जेबी एड्भेन्चर प्रालि दर्ता भएको छ । उक्त परियोजनाले होटल संचालनमा ल्याउनेगरी ३ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जाहेर गरेको छ । जिपलाईन, स्विङ, स्काईवाक, ग्लास ब्रिज, रक क्लाईम्बिङलगायत एड्भेन्जर खेलसँगै ४६ बेड र ६० जना अट्ने रेष्टुरेन्टको सुविधासहित उक्त होटल स्थापना हुन लागेको हो । होटलले ५ सय केभिए बिजुली खपत गर्दै १ सय ५० जनालाई रोजगारी दिने बताएको छ ।

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार बैशाख १ देखि ३१ गतेसम्म विभिन्न ३१ परियोजनामार्फत ११ अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता स्वीकृत भएको छ । विभागका अनुसार गएको बैशाखमा सबैभन्दा बढी परियोजना साना छन् । यस अवधिमा २६ साना परियोजनामार्फत १ अर्ब ७९ करोड र मझौला २ परियोजनामार्फत ५७ करोड ९० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । ठूला परियोजनाको संख्या ३ भएपनि लगानी भने धेरै आएको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL