Logo

बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली पनि सासु कोषमा जोडिन सक्ने, यस्तो छ प्रक्रिया

बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली पनि सासु कोषमा जोडिन सक्ने, यस्तो छ प्रक्रिया



काठमाडौं । बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका नेपाली श्रमिकहरुका लागि सामाजिक सुरक्षा योजना शुरुवात हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा चैत ८ गते बुधबार राष्ट्रियसभामा उक्त योजनाको सुरुवात हुन लागेको हो । यसअघि सामाजिक सुरक्षा कोष ऐन २०७४ बमोजिम स्थापित सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेटेको थिएन ।

laxmi

अब भने कोषले सबै श्रमिकहरुलाई समेत कोषमा आवद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायित्व गर्ने क्रममा योजना अगाडि ल्याएको हो ।

कोषका अनुसार उक्त कोषमा जोडिनका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुले औद्योगिक श्रमिककको न्युनतम तलवको मासिक २१.३३ प्रतिशत रकम कोषमा योगदान गर्नुपर्नेछ । मन्त्रालयले पारित गरेको कार्यविधिअनुसार श्रमिकले गर्ने योगदान रकममध्ये दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनाका लागि ७.४८ प्रतिशत रकम विनियोजन गरिनेछ । वृद्ध अवस्था सुरक्षा योजनामा १३.२५ प्रतिशत रकम विनियोजन गरिएको छ । कोषमा आबद्ध हुने योगदानकर्ताले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धवस्था सुरक्षा योजना सुविधा प्राप्त गर्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका श्रमिक वा स्वरोजगारमा रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । अनलाइनमार्फत आवेदन दिँदा श्रमिकको नेपाली नागरिकता वा राहदानी र श्रम स्वीकृतिको प्रतिलिपिलगायत तोकिएका विवरण पेस गर्नुपर्नेछ । तर, श्रम स्वीकृति आवश्यक नपर्ने मुलुकमा रोजगारीमा रहेको वा रोजगारीका लागि जाने श्रमिकले आफूले विदेशको कुन स्थान र कम्पनीमा श्रम गर्ने हो सोको विवरण, स्वघोषणा र कम्पनीको नियुक्तिपत्रको प्रतिलिपि पनि पेस गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL