Logo

बिजुली निर्यातको चर्चाबीच आन्तरिक विद्युत आपूर्तिमा थप संकट, के गर्दैछ विद्युत प्राधिकरण ?

बिजुली निर्यातको चर्चाबीच आन्तरिक विद्युत आपूर्तिमा थप संकट, के गर्दैछ विद्युत प्राधिकरण ?



काठमाडौं । देशमा विद्युत निर्यातको चर्चा सघन बन्दै जाँदा आन्तरिक विद्युत आपूर्तिमा भने थप जटिलताहरु श्रृजना भएका छन् । जसका कारण देशका विभिन्न स्थानमा उद्योगहरुले बिद्युत अभावको सामना गर्नुपरेको छ । बर्खायाममा बढी उत्पादन भएर खपतको चिन्ता हुने नेपालको विद्युत सुक्खायाम सुरु भएसँगै आन्तरिक खपत धान्नै मुश्किल हुने अवस्थामा छ ।

laxmi

पछिल्लो समय घट्दै गएको नेपाली नदीहरुको प्रवाह, बढ्दै गएको बिजुलीको माग र भारतबाट हुने आयातमा संकुचन आएपछि नेपाल विद्युत प्राधिकरणलाई आन्तरिक माग पुर्ति गर्न निकै सकस परिररहेको छ । प्राधिकरणको तथ्यांकअनुसार पनि हाल प्रतिदिन ३१ लाख युनिटसम्म बिजुलीको माग पुर्याउन सकिएको छैन् । चालु आवको हिउँदमा बर्षा नभएपछि नेपालका नदीनालाहरुको बहाव घटेको छ । हिमालमा हिउँ पनि यो बर्ष अघिल्ला बर्षको जति नपरेको देखिन्छ । यसरी हिउँदे बर्ष नहुँदा नदीहरुमा बहाव कम हुनु र बिजुली उत्पादन पनि घटेकाले माग धान्न सकस भईरहेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराई बताउँछन् ।

पछिल्लो समय नेपालमा अघिल्लो बर्षहरुको तुलनामा बिजुलीको माग निरन्तर बढिरहेको छ । तर, माग बढेअनुसार नेपालमा बिद्युत उत्पादन भने हुन नसक्दा र आयात पनि हुननसक्दा आन्तरिक बजारको माग पूर्ति गर्न समस्या परेको हो । अहिले बिजुलीको माग र आपुर्तिबीच ठूलो खाडल देखिएको भट्टराईले बताए । ‘हामीले म्याक्सिमम मूल्यमा भारतीय बिजुली आयात गर्न खोज्दा पनि आयात गर्न पाइरहेका छैनौं,’ उनले भने, ‘केहि उद्योगहरुमा पिक टाइममा बिजुलीको अभावकै कारण बिजुली दिन सकिरहेका छैनौ ।’

प्राधिकरणका तथ्यांक हेर्ने हो भने प्राधिकरणले भारतीय उर्जा एक्सचेन्ज मार्केटबाट दैनिक १ करोड २० लाख युनिटसम्म बिजुली आयात गर्ने गरेको छ । हाल नेपाली बजारमा बिजुलीको माग भने अधिकतम दैनिक ३ करोड १५ लाख युनिटसम्म पुग्ने गरेको छ । अर्थात नेपालमा प्राधिरकणको पछिल्लो तथ्यांकअुनसार प्राधिकरणका सहायक कम्पनी, निजी उर्जा उत्पादकलगायतबाट जम्मा ९ सय ४० मेगावाट बिजुली उत्पादन हुन्छ । त्यसले नपुगेर प्राधिकरणले भारतबाट ५ सय ८९ मेगावाट बिजुली आयात गर्छ । तर, यसले पनि प्रणालीमा बिद्युतको माग धान्न सक्दैन । किनकि हाल नेपालमा १ हजार ६ सय देखि १ हजार ७ सय मेगावाटसम्म बिजुलीको पिक डिमान्ड छ । यसो हुँदा प्रणालीमा कहिलेकाही ३ सय मेगावाटसम्म बिजुली अपुग हुनेगरेको प्राधिकरणले जानकारी दिएको छ । तर, यस्तो माग र आपुर्तिबीचको ग्याप पुर्ति गर्ने उपाय तत्कालैै नभएको प्रवक्ता भट्टराई बताउँछन् ।

दीर्घकालीन उपायका रुपमा जलाशययुक्त बिद्युत आयोजनालाई निर्माण स्वीकृति दिने, बढीभन्दा बढी बिद्युत आयोजना निर्माणमा प्राथमिकता दिनेलगायतका कार्यहरु सुरु गरिएपनि तत्कालका लागि सुक्खायाममा बिद्युत आपुर्ति धान्न नसकिने अवस्था आएको उनले बताए । बर्खायाममा बढी भएको बिजुली भारतलाई बेचिरहेको नेपालले गएको मंसिर १४ गतेदेखि पुनः भारतबाट बिजुली आयात गर्न थालेको थियो ।

हिउँद लागेसँगै नदी प्रवाही जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली घट्छ । यसो हुँदा नेपालकै आपूर्ति धान्नका लागि पनि भारतबाट बिजुली आयात गर्नुपर्ने बाध्यता छ । मंसिर १४ गते नेपाल विद्युत प्राधिकरणले भारतबाट १२ मेगावाट आवर बिजुली आयात गरेको थियो । त्यसयता लगातार नेपालले भारतबाट बिजुली आयात गरिरहेको छ भने नेपालबाट निर्यात हुने बिजुली शुन्यमा झरेको छ । गएको मंसिर महिनामा मात्रै नेपालले भारतबाट १७ करोड बढी युनिट बिजुली आयात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL