Logo

चामलको बढ्दो मूल्यले नेपालीको भान्सा प्रभावित, सरकार रमिते बन्दा व्यापारीको रजगज

चामलको बढ्दो मूल्यले नेपालीको भान्सा प्रभावित, सरकार रमिते बन्दा व्यापारीको रजगज



काठमाडौं । नेपालीको सबैभन्दा प्रमुख खाधान्नको रुपमा रहेको चामलको भाउ पछिल्लो समय बजारमा छोइनसक्नु छ । करिव डेढ महिनाकै अन्तरालमा चामलको मूल्य प्रतिबोरा ३ सयदेखि ४ सय रुपैयाँले बढेको छ । यसरी चामलको मूल्य एकाएक बढ्दा सर्वसाधारणहरु यसको मारमा परेका छन् । तर, सरकारलाई चामलको मूल्य बढेकोप्रति कुनै मतलव नै छैन ।

बजारमा डेढ महिनाकै अवधिमा किन चामलको मूल्य ठूलो अन्तरालमा वृद्दि भयो भन्ने उत्तर भने उपभोक्ताले पाउन सकेका छैनन् । खुद्रा पसलेहरुले मूल्यवृद्धिको एउटै उत्तर दिने गर्छन–‘माथिबाटै मूल्य बढेर आएपछि महँगो भयो ।’ तर, चामलको मूल्य बढ्नुको निश्चित कारण खोतल्नमा सरकारी ध्यान पटक्कै गएको देखिँदैन ।

गत मंसिर महिनामा मात्रै प्रतिबोरा १८ सय पर्ने मसिनो चामलको मूल्य बढेर २ हजार पुग्यो । २ हजार पर्ने चामल २ हजार ४ सय रुपैयाँ पुग्यो । यसरी छोटो अवधिमै चामलको प्रतिबोरा मूल्य ४ सय रुपैयाँसम्म बढ्दा पनि यसका कारणबाट सरकारले अनुगमन नगरेको नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर बताउँछन् । उनका अनुसार उद्योगबाट बजारमा चामलको मूल्य बढेर आएपछि खुद्रा पसलले त्यसअनुसार नै विक्री गर्नुपर्छ । तर, उपभोक्ताकोे गाली सिधै खुद्रा व्यापारीले खानुपर्छ । विभिन्न बहाना बनाउँदै उद्योगीहरुले चामलको मूल्य बढाउने र त्यसको असर सीधै उपभोक्तामा परेको उनको भनाई छ । यता उपभोक्ताहरु पनि बढेकै मूल्यमा चामल किनेर खान बाध्य हुँदैछन् ।

के भन्छन् उत्पादक ?

धान प्रशोधन गरी चामल उत्पादन गर्ने उद्योगीहरु भने नेपालमा घटेको धान उत्पादन, भारतीय बजारमा बढेको धान र चामलको मूल्यका कारण नेपालमा स्वभाविक रुपमा चामलको मूल्य बढेको बताउँछन् । भारतीय बजारमा कोरोनाकालमा धान र चामलको भण्डारण सकिएपछि सरकारले किसानबाट धान उठायो र धानको अभाव भयो । जसका कारण नेपाल आउने धान र चामल पनि महंगिएपछि नेपाली बजारमा पनि चामल महंगो भएको नेपाल चामल, तेल, दाल उत्पादक संघका प्रथम उपाध्यक्ष राम थापा बताउँछन् ।

पछिल्लो समय विभिन्न अफवाहहरु फैल्याएर चामल उद्योगीहरुलाई नै महंगीको दोष दिएपनि भारतमै धानको मूल्य बढेपछि नेपालमा प्रभाव परेको उनले बताए । नेपालमा संचालित धेरैजसो चामल मिलहरुले भारतबाट धान ल्याएर प्रशोधन गरी चामल बजारमा पठाउँछन् । गत बर्षहरुभन्दा भारतमा यो बर्ष धानको उत्पादन पनि कम भएको र सोहीअनुसार मूल्य पनि बढेकाले यसको प्रभाव नेपालमा परेको उनको भनाई छ । ‘खासगरी धेरैजसो मिलले भारतबाट धान ल्याएर चामल उत्पादन गर्छन,’ उनले भने, ‘यो बर्ष धान भित्र्याउँदा अघिल्लो बर्षको तुलनामा बढी मूल्यमा आयात गर्नुपर्याे जसका कारण चामलको मूल्य बढ्यो ।’ नेपालका बैंकहरुले उद्योगी व्यवसायीहरुसँग लिएको ब्याजदरको प्रभाव पनि चामलको मूल्यमा परेको उनी बताउँछन् । ‘यो बर्ष बैंकहरुले कर्जाको व्याजदर पनि शतप्रतिशतले बढाएका छन्,’ उनले भने, ‘यसको प्रभाव पनि चामललगायत वस्तुमा परेको छ ।’

साँच्चै बढेकै हो आयातित धान चामलको मूल्य ?

आयात र निर्यातको तथ्यांक राख्ने भन्सार विभागको तथ्यांकलाई आधार मान्दा भने चालु आवमा आयातित धान चामलको मूल्य बढेको देखिँदैन । बरु प्रतिकिलो करिव २ रुपैयाँले घटेको देखिन्छ । विभागको तथ्यांकलाई आधार मान्दा गत आर्थिक बार्षको पहिलो ६ महिना अर्थात पुससम्म २७ अर्ब १० करोड २२ लाख रुपैयाँ बराबरको ६७ करोड ४८ लाख ६७ हजार किलो धान चामल र कनिका आयात गरेको थियो ।

त्यसलाई औसतमा प्रतिकिलोमा हिसाव गर्दा २४ रुपैयाँ ९० पैसामा धान, चामल आयात भएको देखिन्छ । तर, यो बर्षको पहिलो ६ महिना अर्थात गएको साउनदेखि पुस मसान्तसम्म आयात भएका धान चामल र त्यसको मूल्यलाई भाग गर्दा जम्मा २२ रुपैयाँ ५९ पैसा हुन आउँछ । अर्थात चालु आवको ६ महिनामा नेपालमा १८ अर्ब ३५ करोड १३ लाख रुपैयाँ बराबरको ४१ करोड ४६ लाख किलो धान, चामल र कनिका आयात भएको छ ।

यसरी आयात भएको तथ्यांकलाई केलाउँदा गत आवको तुलनामा यो आवमा आयातित धान चामलको मूल्य घटेको देखिँदादेखिँदै पनि नेपालमा संचालित चामल उद्योगीहरुले भने भारतमा बढेको बहाना बनाउँदै नेपालमा चामलको मूल्य विनाकारण बढाएको देखिन्छ । त्यसो त कार्तिक र मंसिर सकिएपछिको समय बजारमा नयाँ चामल आउने समय पनि हो । नयाँ चामल आउने समयमै चामल मिलहरुले मूल्य बढाउँदा मिल संचालकमाथि नै शंका उत्पन्न भएको छ ।

निरिह राज्य, उद्योगीको रजगज

उपभोक्ता अधिकारकर्मीहरु भने बजारमा वस्तुको मूल्य विनाकारण बढ्नुमा राज्य पनि दोषी देख्छन् । पछिल्लो समय चामलको मूल्य विनाकारण बढेपनि यसमा राज्यका सम्बन्धित निकायले अनुगमन र कारबाहीको प्रक्रिया चुस्त नपार्दा चामल मिलहरुले कार्टेलिङको फाईदा उठाएर उपभोक्ताबाट बढी रकम असुलिरहेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना बताउँछन् । उद्योगीले आयात गरेको मूल्य त्यसमा उसको नाफाको अन्तरमात्र केलाउन सके कसरी चामलको मूल्यमा लुट भइरहेको छ भन्ने स्पष्ट हुने उनले बताए ।

उनका अुनसार बजारमा उपभोक्ताबाट अनावश्यक रुपमा मिल मालिकहरुले पैसा उठाइरहँदा राज्यको निरिहताले उनिहरुलाई झन पोस्ने काम गरेको छ । ‘कृषि मन्त्रालयलगायत सम्बन्धित निकायसँग वैज्ञानिक तथ्यांक छैन, कति आयात हुन्छ, कसरी आयात हुन्छ भन्ने कुरामा सरकारले ध्यान दिँदैन,’ उनले भने, ‘यसै लुपहोललाई प्रयोग गरी चामलका मिल मालिकहरुले भने विनाकारण उपभोक्ताबाट पैसा असुल्दैछन् ।’ मञ्चले वाणिज्य विभाग, सम्बन्धित मन्त्रालयमा समेत चामलको मूल्य विनाकारण बढेको र यसको अनुगमन गर्नुपर्ने विषयमा घच्घच्याइरहेको उनको भनाई छ । ‘बढेको चामलको भाउका कारण उपभोक्ताको गोजी रित्तिँदै छ भने चामल प्रशोधन गरेर बजार पठाउने मिल मालिक र उद्योगीहरु भने मालामाल भइरहेका छन्’, उनी भन्छन ।

प्रतिक्रिया दिनुहोस्
MBL